ट्राफिक प्रहरीको ध्यान कता ? कुस्मा बजारमा दोहोरो पार्किङले दुर्घटनाको जोखिम बढ्यो !

दशैँ तिहार चाडपर्वलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयव्दारा सहायता कक्षको स्थापना !

महेन्द्र केसी, पर्वत २०७४ असोज ७ । सदरमुकाम कुस्मा बजारमा नेपालीहरुको महान चाड विजया दशमीको चहल पहल ह्वात्तै बढेको छ । चाडबाडको निम्ति सर्वसाधारण जनताहरु किनमेलको लागि कुस्मा बजारमा भीड लाग्न थालेको छ । यतिबेला कुस्मा बजारका प्रायजसो सवै पसलहरुमा भीडबाड देखिन्छ । दशैको लागि आवश्यक पर्ने खाद्यन्न तथा लत्ता कपडा आदि खरीद गर्न सदरमुकाम झर्नेहरुको घुइचो लागेको छ । साँघुरा र गल्ली आकारमा रहेका कुस्मा बजारमा सडकको दुवै छेउमा सवारी पार्किङ गरेर राख्दा बाटो काट्न जोखिमपूर्ण रहेको सर्वसाधरणले बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरीको आँखा कुस्मा बजारका भित्री सडकहरुमा नपर्दा सडकका दुवै छेउमा सवारी साधनहरु पार्किङ गरिएर राखिएकोले गर्दा दुर्घटनाको जोमिख पनि उत्तिकै बढेको छ । चहलपहल बढ्ने समयमा ट्राफिक प्रहरीको निगरानी कम भएका कारण पनि सवारी चालकहरुले मनपरी रुपमा सडकमा अव्यवस्थित रुपमा सवारी साधन राख्ने (पार्किङ) गरेका छन् ।

बजारमा राखिएका सिसी क्यामेरा पनि विग्रिएका कारण कुन ठाउँमा अव्यवस्थित रुपमा सवारी पार्किङ भएको छ त्यसको प्रहरीले कुनै पत्तो पाउन सकेको छैन । शिकारु सवारी चालकको विगविगीले बढेकोले कुनै पनि समय सवारी दुर्घटना संभावना रहेकाले यसको नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ ।

विशेष गरी युवायुवती, गृहणीले भित्री बाटोहरुलाई ट्राफिकको आँखा छल्ने र सिक्ने बाटोका रुपमा प्रयोग गरेकाले पनि दुर्घटनाको संभावना बढी रहेको देखिन्छ । ठाउँठाउँमा भएका स्पीड ब्रेकरहरु भत्काईएका कारण तिब्र गतीमा कुद्ने मोटरसाइकले कुन बेलामा दुर्घटना निम्त्याउने हुन त्यसको ठेगान छैन ।

भीडभाड हुने यो समयमा ठूलो हेभी सवारी मालबहाक ट्रकहरु समेतसाधन समेत भित्री बजारमा प्रवेश गर्ने भएकाले थप समस्या पैदा गरेको स्थानीयले बताएका छन् ।

सडकका पेटी र छेउछाउमा अव्यवस्थित रुपमा निर्माणका सामाग्रीहरु राखिएकाले पनि दुर्घटनाको जोखिम बढेको बजारवासीको भनाई छ ।

कुस्मा बजार भित्रका साँघुरा सडकहरुका छेउछेउमा सडकनै अवरुद्ध गर्नेगरी निर्माण सामाग्री राख्न दिनाले सवारी दुर्घटनाको संभावना बढाएकोले सरोकारवाला निकायहरुले तत्काल ध्यान दिनु पर्ने स्थानीयवासीको माग रहेको छ । चाडपर्वको बेलमा सार्वजनिक यातायातको भाडामा हुन सक्ने अनियमितता, चोरी, डकैती, अलपत्रमा परेका यात्रु र सामानको सुरक्षाका सम्वन्धमा प्रहरी चनाखो रहनु पर्ने आवश्यकता रहेको स्थानीयले औँल्याएका छन् ।

बडा दशैँ र तिहार पर्वलाई मध्य नजर गरी जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी र सामुदायिक सेबा केन्द्रले शिवालय चोक नजिकको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । छतमा सामाग्री राख्न रोक जीप, बसको छतमा खाद्यान्न, सामान राख्ने, छतमा यात्रु चढाउने, ओभरलोड मालसमान बोक्न प्रहरीले रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेका अनुसार यो सेवा प्रहरीले चौविसै घण्टा संचालन गर्नेछ । साथै चाडपर्वमा जुवातास नियन्त्रण, अवैध मदिरा बिक्री वितरणमा कडाई गर्ने बताए । कृत्रिम अभाव र मूल्यवृद्धिमा नियमित चेकजाँच, टिकट काउण्टरदेखि बस जिप चढ्ने र झार्ने स्थानमा समेत निगरानी बढाउने योजना रहेको प्रहरीले जनाएको छ ।

नागरिकहरुलाई सहायता प्रदान गर्नको लागि सादा पोशाकका प्रहरी परिचालन गरी निगरानी बढाउने प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सहायता कक्षमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र सामुदायिक सेबा केन्द्रका एक/एक जना कर्मचारी बस्ने व्यवस्था मिलाईएको छ । दशै तिहारको लागि स्थापना गरिएको नागरिक सहायता कक्षको सवारी संचालक समितिले स्वागत गरेका छन् । पर्बको समयका यात्रुलाई ठग्ने, बढी भाडा अशुल गर्ने खोज्ने जो कोहिलाई पनि कार्बाहीको दायारमा ल्याउनु पर्ने स्थानीयले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *