आर्थिक समृद्धिका लागि कृषिजन्य उत्पादनमा जोड दिन संयोजक ढुंगानाको आग्रह

बागलुङ, २०७४ असोज ६ । जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगानाले नेपालको आर्थिक विकासका लागि कृषिजन्य उद्यमको विकास गर्नु पर्नेमा जोड दिएका छन् ।

मिर्मिरे कृषि सहकारी संस्था लिमिटेड बानपा–३ कृषि गाउँ बागलुङले आयोजना गरेको २ दिने सहकारी शिक्षा तथा नेतृत्व विकास तालिमको शुक्रवार उद्घाटन पछि बोल्दै ढुंगानाले यस्तो बताएका हुन् ।

मुलुक कृषि प्रधान भए पनि कृषि क्षेत्रको सही परिचालन हुन नसक्दा देश आत्मनिर्भर बन्न नसकेको भन्दै उहाँले आयात रोक्न र निर्यात प्रवद्र्धनका लागि कृषि क्षेत्रको विकास सम्बन्धी प्रभावकारी योजना आवश्यक रहेको बताए ।

राज्यले कृषि क्षेत्रका लागि दिने अनुदान ठिक ढंगले परिचालन नभएको गुनासो गर्दै उनले वास्तविक किसानहरुलाई उत्पादन बढाउन प्रोत्साहन हुने गरी सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा तालिमका प्रशिक्षक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले कृषि क्षेत्रमा लागेर अर्ध वेरोजगारका रुपमा रहेका कृषकहरुलाई वैकल्पिक आयस्रोतको उपाय खोज्न सहकारीहरुको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

हाम्रो देशमा कृषि, पशुपालनसंगै जलस्रोत र पर्यटन प्रवद्र्धनको प्रशस्त संभावना भएपनि त्यसको पहिचान, परिचालन र व्यवस्थान हुन नसक्दा युवा पुस्ता विदेशिने र कृषिसंग जोडिएका जनता विस्तारै त्यो क्षेत्रबाट पलायन हुदै गएको उनको भनाइ थियो ।

युवालाई कृषिजन्य उत्पादनमा जोड्नका लागि कृषि मैत्री योजना निर्माण गर्नु पर्ने भन्दै जिसीले हरेक व्यक्तिलाई उद्यमशिल र व्यवसायको मालिक बनाउने उपयुक्त माध्यमका रुपमा रहेको सहकारी क्षेत्रको प्रवद्र्धनका लागि राज्यले यथेष्ट ध्यान दिनु पर्ने सुझाव समेत दिए ।

तालिम उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष गंगाबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चन्द्रनिधि पौडेलको स्वागत र कोषाध्यक्ष थानेश्वर सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले सहजीकरण गर्ने तालिममा संस्थाका सञ्चालक तथा लेखा समितिका पदाधिकारी तथा सदस्यहरु, अगुवा कृषक शेयर सदस्यहरु र कर्मचारी गरी २५ जनाको सहभागिता रहेका छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *