बुर्तिबाङ बजारमा बरामद गरिएको अबैध मदिराजन्य पदार्थ नष्ट

जानुका खरेल, बुर्तिबाङ २०७४ असोज ६ । इलाका प्रहरी कार्यालयले बुर्तिबाङले बजारका विभिन्न स्थानबाट बरामद गरेको अबैध घरेलु मदिरा आज नष्ट गरेको छ ।

प्रहरीले चाडपर्वको बेलामा शान्ति सुरक्षालाई मध्यनजर गर्दै विहिबार बरामद गरेको अबैध घरेलु मदिरा, मदिरा बनाउने कच्चा पदार्थ र मर्चा स्थानीय सरोकारवालाहरुको रोहबरमा नष्ट गरिएको प्रहरी प्रमुख कृष्ण रानामगरले बताए ।

ईलाका प्रहरी कार्यलय बुर्तिबाङले हिन्दु नेपालीहरुको पर्व दशै तथा तिहारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै अबैध घरेलु मदिरा नियन्त्रण अभियान थालेको छ । अभियान अन्तरगत बिहिवार प्रहरीले बुर्तिबाङ बजारका विभिन्न होटल व्यवसायीहरुबाट ५५ लिटर घरेलु मदिरा सहित ६ सय लिटर कच्चा पदार्थ र १ सय ७० केजी मर्चा बरामद गरेको थियो ।

बरामद गरिएका अबैध मदिरा नष्ट गर्ने कार्यक्रममा इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापामगर, ढोरपाटन नगरपालिका—१, का अध्यक्ष चित्रबहादुर भण्डारी, महिला समन्वय समिति अध्यक्ष दिलमायाँ पौवी, बुर्तिबाङ होटल व्यवसायी समितिका अध्यक्ष ध्रुव श्रेष्ठ, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरिक्षक मंगलप्रसाद गुरुङ लगायत सञ्चारकर्मीहरको उपस्थिती रहेको थियो ।

विशेष गरि चाड पर्वका समयमा मदिरा सेवनले गर्दा घरेलु तथा लैंगिक हिंसा बढ्ने, सवारी साधनहरु दुर्घटना हुने, झैझगडाका घटना बढ्ने जस्ता विकृति फैलने हुँदा समाजमा शान्ति, सुव्यस्था र सुरक्षा कायम गर्न उक्त अभियान सञ्चालन गरिएको प्रहरीले बताएको छ ।

अबैध रुपमा उत्पादन गरिने मदिराजन्य पदार्थले जनस्वास्थ्यमा नकरात्मक असर पारको र अपराधका घटनाहरु बढ्दै गएको भन्दै ईलाका प्रहरी कार्यलय बुर्तिबाङले निरन्तर रुपमा अबैध घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *