Menu

क्षत्रीहरुमा कहिलेकाहीँ देखापर्ने दम्भका कारण क्षत्री समुदाय पछाडी परेको हो : प्रजिअ थापा

राम थापा ‘अबिरल’, बागलुङ, २०७४ असोज ५ । प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले आफ्ना पुर्खाको योगदानलाई नबिर्सन क्षत्री समुदायलाई आग्रह गरेका छन् । उनले इतिहासप्रति कुनै एक जातले मात्र नभई सबै नेपालीले गर्व गर्नुपर्ने बताए । क्षत्री दिवस तथा क्षेत्री समाज बागलुङको वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै उनले जातिय सद्भाव र एकतामा जोड दिएका थिए ।

‘सबै जातजाति र धर्म सम्रदायबीचको एकता अहिलेको आवश्यकता हो’ प्रजिअ थापाले भने ‘त्यसले मात्र राष्ट्रियता मजबुत हुन्छ ।’ प्रजिअ थापाले क्षत्रीहरुमा कहिलेकाहीँ देखापर्ने दम्भका कारण पनि क्षत्री समुदाय पछाडी परेको उल्लेख गरे । क्षत्रीहरुको क्षमता अभिवृद्धि गर्न अन्य जातिको तुलनामा अझ बढी प्रतिस्पर्धी बनाउनुपर्ने उनले बताए ।

‘सम्पूर्ण क्षत्रीहरु उक होऔं’ भन्ने आदर्श वाक्य सहित मनाइएको क्षत्री दिवस तथा साधारण सभामा समाजका केन्द्रीय सदस्य माया खड्का, महायज्ञका दानवीर दुर्गा कुँवर, नगर समाजका अध्यक्ष गंगाबहादुर क्षत्री, क्षत्री महिला समाजका अध्यक्ष शिवकला थापा, दुदिलाभाटी गाउँ समिति अध्यक्ष चन्द्रबहादुर खत्री लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष महेन्द्र सिंह रायमाझीले सांगाठनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने समाजका कोषाध्यक्ष रुद्रबहादुर केसीले १ करोड ४३ लाख ३३ हजार ५ सय २२ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा प्रजिअ थापा, समाजको भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने पदमकुमारी खड्का, चित्रबहादुर केसी र १२ कक्षाको व्यवस्थापन संकायमा जिल्लामा उत्कृष्ट हुने भुवन कार्कीलाई सम्मान गरिएको थियो ।

कार्यक्रम समाजका अध्यक्ष बाबुराज कार्कीको अध्यक्षता, उपाध्यक्ष अन्जु जिसीको स्वागत तथा सचिवालय सदस्य दिपेन्द्र बास्कोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *