लिङ्गे पिङको डोरी बाट्न पाट-बाबियो उठाउदै हिडिन्थ्यो र पो दशैँ आएझै लाग्थ्यो …

* खरले छाएको/रातोमाटोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो र पो दशैँ आएझै लाग्थ्यो,

* दशैँलाई भन्दै घोर्ले बोको घरको पालीको थाममा बाधिन्थो र पो दशैँ आएझै लाग्थ्यो,

* दशैँलाई अचार भन्दै साँचेर राखेको काँक्रो थाक्रामै पाकेर पट्पटी फुट्थ्यो र पो दशैँ आएझै लाग्थ्यो,

* रोटे पिङ्को लागी माद्लखाबो काट्न गइन्थो लिङ्गे पिङको डोरी बाट्न पाट-बाबियो उठाउदै हिडिन्थ्यो र पो दशैँ आएझै लाग्थ्यो,

* दशैँलाई भन्दै टेको लगाएर राखेको केरा बोट्मै पहेलपुर हुन्थो र पो दशैँ आएझै लाग्थ्यो,

* दशैँलाई भन्दै चिउरा कुट्न रातभरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे र पो दशैँ आएझै लाग्थ्यो,

* दशैँलाई भन्दै गामघरका कुवापदेरो बाटोघाटो सरसफाइमा जुटिन्थो र पो दशैँ आएझै लाग्थ्यो,

* दशैँलाई भन्दै मिठो मसिनो कुट्नु-पिस्नु गर्न ढिकीजातोमा भ्याइ नभ्याइ हुन्थो र पो दशैँ आएझै लाग्थ्यो.

* दशैँमा फलानो आयो ढिस्कानो आउदैन रे नासो पठाएछ भनेर कुरा गर्न पाइन्थो र पो दसै आएझै लाग्थ्यो’

* पोहोरको दशैँमा यती दक्षिणा भाथ्यो अहिले कती हुने हो भनेर मनमनै हिसाब किताब गरिन्थो र पो दशैँ आएझै लाग्थ्यो,

* बर्ष कुरेर बल्लबल्ल नया लुगा आङ्मा पर्थो र पो दशैँ आएझै लाग्थ्यो,

* अघिपछी एक टुक्रा मासुको चौटासँग कचौरो भरि झोल खाने बानी परेको मान्छेलाई आफ्नै घरमा सिङै खसी ढालिन्थो र पो दशैँ आएझै लाग्थो,

* मुग्लानगएकाहरु हररर अत्तर बसाउदै भरियालाई भारी बोकाएर खाङग्रे डोकोमा खत्राक्कखुत्रुक सामान हालेर टेप रेकर्डर घन्काउदै गाउ छिर्थे र पो दशैँ आएझै लाग्थो,

* घरमै आफ्नो मात्रै मनमौजी गर्नेगरी पिङ हालिदिनु पर्छ भनेर आमाबासँग माग राखेर लडिबुडी खेल्दै अनसन बसिन्थो र पो दशैँ आएझै लाग्थ्यो ।

* सधै निख्लो ढिडो मकैको आटो पाक्ने अगेनामा एक्कासी धानको भात पाक्दा अचम्म लाग्थो र पो दशैँ आएझै लाग्थ्यो,

* निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा झिल्झिलेमा हालेर छन्द्राङछन्द्राङ पार्दै हिड्न पाइन्थो र पो दशैँ आएझै लाग्थ्यो,

* टिका लगाउदै हिड्दा कोहिकोही मान्यजनले यो बज्जिया त छोरोमान्छे पो हो त । छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन भन्दै पैसा नदिएर जमरा मात्रै हातमा राखिदिदा छोरी भएर नजन्मेकोमा पछुतो मानिन्थो र पो दशैँ आएझै लाग्थ्यो …..

तर खै त अहिले त्यो दशैँ, सम्झिदापनी बैराग लाग्छ् त्यसैले मागेर पाउने भए म मेरो त्यो बेलाको दशैँ माग्थे । नागरिकतामा उमेर घटाएर फेरी त्यो ‘बालापन’ फर्कने भए म जुनसुकै मुल्य चुकाएर पनि त्यो ‘बालापन’ साट्थे तर अपसोच नियती सामु म निरीह छु ।

तैपनि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मेघराज रिष्मेलीको जापनबाट दशैको हार्दिक मंगलमय शुभकामना !!!

मेघराज रिष्मेली
गल्कोट न पा ९,
हाल ओसाका जापान
२०७४ असोज ५ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *