बुर्तिवाङमा संविधान दिवस : दिनभरी सुनसान साँझ पख नगरपालिका कार्यालयमा दीपावली !

निसीखोला र तमानखोला गाउपालिकाहरुमा पनि कुनै कार्यक्रम भएनन् !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ असोज ३ । आज असोज ३ गते अर्थात तेस्रो संविधान दिवस, देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरि यो दिवस मनाईएको छ । वि.स. २०७२ साल असोज ३ गतेका दिन संविधान सभाले संविधान जारी गरेको दिनलाई स्मरण गर्दै यो दिवश मनाइएको हो ।

यसै सन्दर्भमा जिल्लाका कतिपय स्थानीय तहहरुमा नेपालको संविधानसँग सम्बन्धित अन्तरक्रिया, सभा, सम्मेलन र ¥यालीको आयोजना गरी यो दिवश मनाइएको छ । तर पश्चिम बागलुङका तिन वटा स्थानीय तहहरु ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका भने दिवसको दिनमा शुन्य जस्तै बने ।

ढोरपाटन नगरपालिकामा दिवसको अवसरमा कुनै पनि औपचारिक कार्यक्रमको आयोजना नगरिएको नरपालिकाले जनाएको छ । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली पोखराबाट आज मात्र आएको हुँदा तयारी गर्न नसकी कुनै पनि औपचारिक कार्यक्रमको आयोजना गर्न नसकिएको उपप्रमुख करमति पुनमगरले बताईन् । उनले नगरपालिका भित्रका वडा अध्यक्षहरु पनि उपस्थित नभएको हुँदा पनि कार्यक्रम गर्न नसकिएको बताईन् ।

कुनै औपचारिक कार्यक्रमको आयोजना गर्न नसकिएपनि आज साँझ नगरपालिकाको कार्यालयमा दीप बालेर दिवस मनाइदै गरेको नगरप्रमुख नेपालीले बताए । साथै, उनले दिवसको अवसरमा संविधानले प्रदान गरेका हरेक हक तथा अधिकारहरुलाई नागरिकहरुले महसूस गर्ने गरी आफुहरुले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकाछन् ।

त्यस्तै, उता निसीखोला गाउँपालिकामा पनि कुनै कार्यक्रमको आयोजना नगरिएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । गाउँपालिकाका लेखापाल भिमसेन थापाको कार्यव्यस्तता र कार्यकारी अधिकृत सञ्जय अधिकारीको अस्वस्थताको कारणले कार्यक्रम गर्न नसकिएको पौडेलको भनाई थियो । साथै भोली वडा अध्यक्षहरुको बैठकको आयोजना गरिएको र संविधान दिवसको सार्थकताको बारेमा विशेष छलपल चलाईने उनले जानाकारी दिए ।

त्यसैगरी संविधान दिवसको अवसरमा तमानखोला गाउँपालिकामा पनि कुनै कार्यक्रम नभएको बताइएको छ । गाउँपालिका अध्यक्ष लगायत अन्य कर्मचारीहरुको कार्य व्यस्तताको कारण कार्यक्रमको आयोजना गर्न नसकिएको गाउँपालिकाका लेखापाल याम थापाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *