एडीएसएलको समस्याले सेवाग्रही मर्कामा: राउटरमा कमिशन खान्छन दूरसन्चारका कर्मचारी !

महेन्द्र केसी, पर्वत कुस्मा २०७४ असोज १ । सरकारी काम कहिले जाला घाम भन्ने उखान यतिखेर नेपाल टेलिकम संस्था पर्वत शाखामा ठ्याक्कै लागू भएको छ । नेपाल टेलिकमले वितरण गरेको एडिएसएल सेवा पटक पटक अवरुद्ध हुने गरेको छ । सेवा अवरुद्ध भएको जानकारी गराउदा कर्मचारीले कुनै मतलव राख्दैनन् । पटक पटक अवरुद्ध एडिएसएल सेवाका कारण सेवाग्राहीह्ररु संचार सम्वन्धबाट वन्चित हुनुपरेको छ । सेवाग्राहीले दुरसंचार संस्थाका हाकिम एवं कर्मचारीहरुलाई नेटवर्क सेवा राम्रो भएन भनी गुनासो गरेपनि सुनुवाई हुने गरेको छैन ।

पहिले धेरै राम्रो र विक्री हुने भनिएको टिपि लिंक राउटरमा समस्या भएको भनी कर्मचारीहरुले राउटर परिवर्तन गर्न सेवाग्राहीलाई सुझाउने गरेका छन् । दुरसंचारका केही कर्मचारीले टिपी लिंक राउटरको सट्टा सेवाग्राहीलाई नेटिस राउटर किन्न लगाउने र कमिसनको कमाउधन्दा चलाएको समेत गुनासो छ । सेवाग्राहीलाई नेटिस राउटर किन्न लगाउदा कर्मचारीलाई एक हजारदेखि पन्ध्रसय सम्म लाभ हुने स्रोतको दावी छ ।

सेवाग्राहीले संचार सेवा भएन भनी गुनासो गर्दा पनि संस्थाबाट प्राविधिक आउने गरेका छैनन् । दुरसंचार संस्थाको प्राविधिक समस्या भएमा सेवाग्राहीले कल गर्ने भनिएको १९८ नंम्वरमा सम्पर्क हुन सक्दैन । संस्थाले उचित सेवा नदिदा एडिएसएल सेवा प्रयोग गर्ने सेवाग्राहीको संख्या वृद्धि हुन सकेको छैन । सेवाग्राहीको संख्या ३०० पनि पनि छैन । यता निजी इन्टरनेट प्रदायक संस्थाको सेवाग्राहीको संख्या भने दिनानुदिन बढ्दो छ । टिपी लिंक भनिने कम्पनिको सेवाग्राहीको संख्या मात्र करीव १५ सय रहेको छ ।

दुरसंचार संस्था पर्वत शाखामा केही महिनादेखि कार्यालय प्रमुख विहिन हुँदै आएको छ भने काम चलाउ कर्मचारीले प्रमुखको जिम्मेवारी सम्हाल्दा सेवा प्रभावित भएको बताइन्छ । संस्थामा २० वर्षदेखि कहिकतै सरुवा नभई डेरा जमाएर बसेका पुराना कर्मचारीले संस्थाको सेवा प्रभावकारी बनाउन भन्दा कमाउ धन्दा चलाउन खोज्ने गरेको आरोप छ । नेपाल टेलिकम संस्था कुश्मा शाखाका प्राविधिक केशव भुषाललाई संस्थाको अवरुद्ध सेवाबारे जिज्ञासा राख्दा यहाँको समस्या नभई माथिबाट नै प्राविधिक समस्या भएको र अव छिटै सेवा चुस्त हुने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *