गल्कोटमा हराउदै छन, खरको छानो भएका घरहरु …

गुमानसिँह भण्डारी, गल्कोट २०७४ भदौ ३१ । पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको खरे घरहरु (खरले छाना छाएको)गलकोटमा हिजोआज देखिन छोडेका छन् ।

परम्परागत अनि फरक ढङ्गले निर्माण गरिएका खरको छाना भएका घरहरु आधुनिक घरहरुको निर्माण तीब्र बनाईएपछि ग्रामिण भेगहरुमा देखिन छाडेका हुन् । अहिले भएका करिब २ सय बर्ष पुरानो घरहरु पहिले खरले छाएका थिए । पछिल्लो समय ढुंगा, सिमेन्टले पलाष्टर गर्ने र कर्कट पाताले छाएपछि यसको महत्वसमेत खस्किएको छ । खरले छाएका घरहरु ग्रामिण क्षेत्रमा विरलै मात्रामा छन् भने, ढुंगाले छाएका घरहरु प्रशस्त मात्रामा छन् ।
‘केही बर्ष अघिसम्म गाउँमा प्रशस्त मात्रामा खरका घरहरु थिए’ दुदिलाभाटीका क्याटेन लिल बहादुर खत्रीले भन्छन ‘अहिले ती घरहरु भत्काएर नयाँ शैलीका घरहरु बनाउने क्रम बढेको छ ।’

गलकोटको पर्यटकीय क्षेत्र निलुवामा करिब ३०, ४० खरका गोठहरु रहेका छन । जसले गर्दा पर्यटकहरु निलुवा घुम्न जाने गरेको निलुवा पर्यटन प्रबद्र्धन केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताए । निलुवामा पर्यटकलाई भित्राउनका लागी भएपनि खरका घर र गोठहरुलाई जोगाएर राखेको बताए । पुराना खरका घरुहरु भत्काएर आधुनिक घरहरु निर्माण गर्नु, भएका घरहरुमा मानिसको बसोवास नहुनु, संयुक्त परिवार खरका घरमा नअट्नु, अरुको देखासिखी, प्रशस्त धनसम्पत्ति लगायतका कारण ग्रामिण क्षेत्रमा खरका घरहरु टिक्न र बन्न नसकेका हुन् ।

दलित बस्ती र आर्थिक अभावका कारण गलकोट नगरपालिका वडा नम्बर ९ बाङगेल्लामा भने करिब २० घरधुरी खरको छानोभित्र बस्दै आएका छन । १० बर्ष पहिले करिब ३०, ३५ खरका घरहरु रहेको नवोदित बालबिकास केन्द्रका सहजकर्ता मिरा बिकले बताईन । ग्रामीण भेगमा मोटरबाटो पुगेपछि बाटो छेउ घर बनाउने क्रम बढ्नुले पौराणिक खरका घरहरु संकटमा परेका हुन् । खरका घरहरु बस्नका लागि न्यानो र स्वास्थ्यको दृष्टिकोणले पनि लाभदायक हुने भएपनि कोठाहरु प्रशस्त चाहिने भएकाले आधुनिक साथै छिटोछरितोको घर निर्माण हुने क्रम बढेको हो । खरबाट छाना छाउने घरहरु बर्षै पिच्छे छाउन झन्झट हुने भएकाले पनि खरका घरहरुप्रतिको आकर्षण घटेको पत्रकार वीर बहादुर चोखालले बताए । गलकोटका प्राय सबै वडामा केहि मात्रामा खरका घर र गोठ भएपनि आर्थिक रुपमा सम्पन्न भएपछि क्रमस बिस्तापित हुने निश्चित देखिन्छ ।

तस्वीर- बालकृष्ण सुवेदी, गल्कोट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *