Menu

बागलुङमा बजार अनुगमन तथा व्यवस्थापन : हिजो र आज !

अहिलेको मौसम बजार अनुगमन/व्यवस्थापनको मौसम हो । अघिपछी बजार अनुगमन र व्यवस्थापनका कुराहरु कम नै हुने गरेपनि वर्षातको मौसम सकिएर चाडपर्वको मौसम नजिकिदै गर्दा उपभोक्ताहरुको हितमा बजार व्यवस्थापनको प्रशंग उठ्नु, कालोबजारी, कृतिम अभाव हुन नदिने कुरा चर्चामा आउनुलाई आम नागरिकले स्वभाविकै ठानेका छन् ।

आज भन्दा ८ दिन पहिले, जिल्ला प्रशासन कार्यालय बागलुङले २०७४ भदौ २१ गते आयोजना गरेको उपभोक्ता हित, सचेतना र बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा प्रजिअ बिष्णुबहादुर थापाले सर्वसाधारण उपभोक्तालाई ठग्ने कामप्रति प्रशासनले कुनै सम्झौता नगर्ने स्पष्ट पारेको अवस्था छ भने उद्योगी व्यवसायीहरुलेपनि उपभोक्ताको अहित हुने कुनै काम नगर्ने प्रतिवद्धता जनाएका छन् । त्यतिमात्र नभएर अन्तरक्रियामा नेपाल टेलिकम, विद्युत जस्ता विषयगत कार्यालयका प्रमुखहरुले सेवा प्रवाहमा कुनै समस्या नरहेको जनाएका छन् ।

अन्तरक्रियामा सहजीकरण गर्दै सहायक प्रजिअ धुव्र गिरीले बजार अनुगमनलाई प्रभावकारी बनाइने बताउदै ‘सबैले उपभोक्ताको पक्षमा काम गरौं, बजारलाई व्यवस्थित बनाऔं’ भन्ने आग्रह मात्र गरेनन उनले, ‘अनुगमनमा कमजोरी भेटिए जो सुकै भएपनि कानुनी दायरामा ल्याइने’ उद्घोष गरेको अवस्था छ। अन्तरक्रियामा भएको विचार विमर्श र अभिव्यक्तिबाट उपभोक्ताको हक र हितमा काम हुने कुरामा विश्वास नगर्ने त प्रश्न उठ्दैन ।

तर, बागलुङ जिल्लामा बजार व्यवस्थापन तथा अनुगमनको आफनै इतिहास र आफनै परम्परा छ । जिल्ला सदरमुकाम लगायत जिल्लाका बजार क्षेत्रहरुको बजार अनुगमन र व्यवस्थापन कार्यमा प्रशासन भन्दा बढी चासो उपभोक्ता समितिका पदाधिकारीहरुले लिएको देखिन्छ ।

प्रशासनबाट अधिकार प्रत्यायोजन गरेर लिएजस्तै एकजना प्रहरी साथमा लिएर पसल अनुगमन गर्ने व्यापारीलाई थर्काउने धम्क्याउने क्रियाकलाप हुने गरेको व्यापक गुनासाहरु बाहिर आईनै रहेका छन् । सन्चार माध्यमहरुले यसलाई प्राथमिकताका साथ प्रकाशमा ल्याएका पनि छन् । उपभोक्ता समितिले पर्वपर्वमा बुलेटिन निकाल्ने, त्यस्मा विभिन्न व्यापारीहरुको फर्मको विज्ञापन छाप्ने, आफुखुसी विज्ञापनको रकम तोक्ने त्यस्को भुक्तानी नदिए अनुगमन गरेर पसलै शिल्ड गर्दिने सम्मको धम्की दिने गरेका घटनाहरु जिल्लामा दोहोरी रहेका छन् ।

भारतले नाकावन्दी लगाएको बेला एलपी ग्याँसको चरम अभाव भएका बखत ग्याँस वितरण गर्ने जिम्मा प्रशासनले उपभोक्ता समितिका पदाधिकारीलाई दिँएर जिम्मेवारीबाट पन्छिदाको पीडा उपभोक्ताहरुले अझै विर्सिएका छैनन् । ठुला पार्टीका विद्यार्थी नेतालाई जिल्ला प्रशासन बाटै एकै चोटी ४० सिलिन्डर ग्याँस दिने सर्वसाधारणलाई भने उपभोक्ता समितिमा जाउ भन्ने गरिएको ठाउँ हो यो ।

यतिमात्र नभएर कतै रिसिबी त कतै अग्रिम सूचना दिएर अनुगमनको नाममा रकम माग्ने गरेका घटनाहरु पनि नभएका होईनन् यहाँ । मासु पसल देखी औषधी पसल सम्म, किराना पसल देखी दुध डेरी सम्म, बागलुङ बजार देखी हटिया, बुर्तिवाङ र कुस्मीसेरा सम्म अनुगमन गर्ने चलन रहि आएको छ । अनुगमनमा फेला परेका म्याद गुज्रिएका देखी अखाद्य बस्तु प्रमाणित भएर आउँदा समेत व्यापारीले उन्मुक्ती पाएको अवस्था बागलुङमा छ ।

तीन वर्ष पहिले २०७१ साल कात्तिक महिनामा एक गृहिणीले हातमा उत्तम तोरी तेलको दुई पोका लिएर प्रजिअ समक्ष पुगेर तेल कराईमा तताउँदा गाज –फिँज) आउने गरेको रिपोेर्ट दिएपछी त्यो तेल परीक्षणका लागि सम्वद्ध निकायमा पठाउदा त्याहाँबाट अखाद्य भनि प्रमाणित भएर आयो । जिल्ला प्रशासन, प्रहरी, उपभोक्ता समितिका प्रतिनिधी सहितको टोली उत्तम तेल बिक्री गर्ने पसलमा पुगेर सबै तेल नियन्त्रणमा लिईयो ।

(हेरौ भिडियो)

यो २०७१ साल कात्तिकको भिडियो हो ।

उपभोक्ताले सोँचेका थिए अखाद्य प्रमाणित भएको जनताको स्वास्थ्यमा असरपार्ने तेल मालिक र व्यापारीलाई कार्बाही हुने भयो । तर बागलुङमा न उत्पादक न विक्रेता कसैलाई केहि भएन । जफ्त गरिएको अखाद्य उत्तम तेल प्रशासनले केहि दिन पछी बागलुङ उद्योग वाणिज्य संघलाई फिर्ता पठाई दियो ।

नवागत प्रजिअज्यूलाई सहायक प्रजिअज्यू लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीज्यूहरुले बागलुङको विगतको अवस्था जानकारी गराएर चाडबाडका बेला मात्र नभएर अघिपछीपनि बजार अनुगमन व्यवस्थापन, कृतिम अभाव एवं कालोबजारी नियन्त्रणमा सहयोगी भूमिका निर्वाह गर्नु जरुरी छ ।

आठ दिन पहिले जिल्ला प्रशासन कार्यालयमा भएको अन्तरक्रियामा नेपाल टेलिकम, विद्युत जस्ता विषयगत कार्यालयका प्रमुखहरुले सेवा प्रवाहमा कुनै समस्या नरहेको बताई रहँदा नगरवासीले सामाजिक सन्जाल मार्फत विद्युत आपूर्तिमा देखिएको अनियमितता र लापर्बाही बारे सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

चीनी नूनको मात्रकुरा होइन नगरवासीले सुनको कुरा उठाउदै यस्मा गरिएको मिसावटको बारेमा अनुगमन गर्न अनुरोध गरेका छन् । जनस्वास्थ्य जस्तो संवेदनशील कुरामा समेत अनुगमन हुन नसकेको अवस्था छ । चिया पसल जस्तै विना अनुमति स्वास्थ्य संस्था सन्चालनमा ल्याएर जनताको स्वास्थ्य माथि गम्भीर खेलवाड भएका घटनाहरु सार्वजनिक भएका छन् । यसतर्फपनि सरोकारवाल निकायको ध्यानाकर्षण हुनु जरुरी छ ।

दुई वर्ष यता घरेलु हिँशा बृद्धि गर्नमा सहायक मानिने अवैध घरेलु मदिरा उत्पादन विक्री वितरण तथा जुवा तासका घटनाहरु जिल्लामा समाचार शिर्षक बनेका छैनन् । न दुई वर्ष पहिले जस्तो हजारौँ लिटर अबैध घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको अवस्था छ । यस तथ्यले जिल्लामा जुवा तास र अवैध घरेलु मदिरा उत्पादन, विक्री वितरण शुन्यमा झरेको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सबैपक्षबाट व्यक्त गरिएका प्रतिवद्धतालाई अक्षरश: कार्यान्वयनमा ल्याउन सबैले सहयोगी भूमिका निर्बाह गर्नु पर्दछ भने सहयाक प्रजिअ गिरीले ‘अनुगमनमा कमजोरी भेटिए जो सुकै भएपनि कानुनी दायरामा ल्याइने’ जुन उद्घोष गरेका छन् त्यसलाई भाषणमा मात्र नभएर कार्यान्वयनमा ल्याउन सके निश्चित छ यसको सकारात्मक प्रभाव उपभोक्ता हितमा पर्नेछ । अस्तु,

बागलुङ २०७४ भदौ २९ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *