प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित जाँच र सुत्केरी हुन आउने महिलाहरुको संख्या न्यून- डा. जैसवाल

प्रशान्त घर्ती मगर, बुर्तिबाङ २०७४ भदौ २७ । जनचेतनाको अभावमा पश्चिम बागलुङका गर्भवती तथा सुत्केरी महिलाहरुले अकालमा ज्यान गुमाउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र, बुर्तिबाङले जनाएको छ ।

मातृशिशु मृत्यु दर घटाउने योजना अनुसार सुरक्षित प्रसुति सेवाको लागि सरकारले स्वास्थ्य सेवामा लाखौँ लगानी गरेपनि ग्रामिण इलाकामा यसबारे उचित ज्ञान नहुँदा धेरै आमाहरुले अकालमै ज्यान गुमाउनु परेको प्राथमिक स्वास्थ्य केन्द्र, बुर्तिबाङका प्रमुख डा. सुनिल जैसवालले बताए । सरकारले अहिले गर्भवती अवस्थामा ४ पटकसम्म नियमित चेकजाँच गराउने महिलाहरुको लागि ४ सय र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने आमाहरुको लागि १ हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ । तर, प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित जाँच गराउने र केन्द्रमै आएर सुत्केरी हुने महिलाहरुको संख्या न्यून रहेको प्रमुख जैसावालले जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्रमा जाँच नगराउँदा आज मात्र एक जना सुत्केरीले ज्यान गुमाउनुपरेको उनको भनाई छ । ढोरपाटन नगरपालिका—३, घोसाखानीकी २१ बर्षिया दिलसा विश्वकर्माको आज ज्यान गएको हो । विश्वकर्मा १ महिना अघि मात्र घरमै डेलिभरी भएको र अहिलेसम्म प्राथमिक स्वास्थ्य केन्द्रमा आएर स्वास्थ्य जाँच गरेको रिपोर्ट पनि नदेखिएको स्वास्थ्य केन्द्रले जनाएको छ । पाँचदिन यता कडा खालको निमोनियाले ग्रसित विश्वकर्मालाई श्वासप्रसासमा समस्या देखिनुका साथै खोकी र ज्वरो आएको भएपनि बाहिरी नीजि क्लिनीकहरुबाट औषधि प्रयोग गरिएको पाइएको प्रमुख जैशवालले बताए । यदि विश्वकर्माको परिवारले उनलाई पहिले नै प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि भर्ना गरेको भए उनको ज्यान बच्ने समेत उनको दावी थियो ।
सरकारी स्वास्थ्य केन्द्रहरुको स्वास्थ्य सेवा प्रभावकारी हुँदैन भन्ने मानसिकताले गर्दा पनि विकको ज्यान गएको समेत उनको भनाई छ । स्वास्थ्य केन्द्रमा सक्ने स्वास्थ्य सेवा यहिँबाट प्रदान गरिने र जटिल खालको समस्या भएका विरामीहरुलाई विषेशज्ञ डाक्टरहरु भएको अस्पतालमा रिफर गरिने भएकोले पनि विरामीहरुले प्राथमिक स्वास्थ्य केन्द्रबाटै स्वास्थ्य सेवा लिँदा प्रभावकारी हुने जैशवालको भनाई छ ।

अहिले महिनामा २५ देखि ३० जनासम्म गर्भवती महिलाहरुले मात्र स्वास्थ्य जाँच गराउने र केन्द्रमै आएर सुत्केरी हुने गरेको प्राथमिक स्वास्थ्य केन्द्रको तथ्याङकमा छ । उत्तिकै हाराहारीमा महिलाहरु स्वास्थ्य जाँच पनि नगराउने र घरमै सुत्केरी हुने गरेकोले धेरै आमा र शिशुहरुको ज्यान जोखिममा पर्ने गरेको प्रमुख जैशवालले बताए । अहिले स्वास्थ्य केन्द्रमा प्रयाप्त मात्रामा औषधि भएकोले निर्धक्क भएर सरकारी स्वास्थ्य केन्द्रमा उपचारको लागि आउन समेत उनले आग्रह गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *