साताको तस्वीर : निसी दोभानको बिजुली !

२०६४ सालमा निर्माण सम्पन्न भएको निसीदोभान लघुजलविद्युत आयोजना त्यस समयमा ३ करोड बढीको लागतमा बनेको थियो । गत वर्ष साउन १० गते राती आएको बाढीले आयोजनाको पावर हाउस नै बगायो । आयोजनालाई करिव ७० लाख बराबरको क्षति पुग्यो ।

हालको ढोरपाटन नगरपालिकाको वडा नं. २ स्थित करिव २ सय ८० घरधुरी परिवारले उपभोग गर्दै आएको उक्त लघुजलविद्युत आयोजना २०७३ चैत महिनाको अन्तिम साताबाट पुनः निर्माण सुरु गरियो । करिव १ वर्ष अध्यारोमा बसेका आयोजना उपभोक्ताले तीन महिनाकै अन्तरालमा गएको असार महिनामा घर घरमा फेरी विद्युत बालेका छन् । कुल ७३ लाख ७१ हजार ८ सय ४ रुपैयाँ खर्च गरेर पुनः निर्माण गरिएको उक्त आयोजनाबाट पोल्टीफर्म, ग्रिल उद्योग, कुटानी पिसानी मिल, फर्निचर उद्योग र सिमलचौरको पम्पीङ सिचाई आयोजना सहित अहिले पनि ११ भन्दा बढी साना तथा ठूला उद्योगहरु सञ्चालनमा आएका छन् ।

आयोजना पुनः निर्माणका लागि बैकल्पिक उर्जा प्रवर्धन केन्द्र काठमाण्डौबाट ४१ लाख २६ हजार ५० रुपैयाँ अनुदान स्वीकृत भएकोमा, पहिलो किस्ता स्वरुप २० लाख ६ हजार ३ सय २५ रुपैयाँ आइसकेको छ । वाँकी अन्तिम किस्ता आयोजना निर्माण भएको अनुगमन भइसकेकाले तत्काल आउने आयोजनाका सचिव नेत्र चालिसेको भनाई छ । यस्तै आयोजना पुनः निर्माणमा त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाबाट १७ लाख ७० हजार, कर्जा लिइएको छ । साविकको बुर्तिबाङ गाविसको बजेट ९८ हजार ७ सय ५६, साँसद क्षेत्र विकास कार्यक्रमबाट १ लाख १ हजार १ सय २५ रुपैयाँ तथा जनताबाट १२ लाख ७५ हजार ८ सय ७३ रुपैयाँ लगानी रहेको सचिव चालिसेले बताए ।

पहिलो चरणमा काठमाण्डौ स्थित स्टक टु नेपाल प्रालिको प्राविधिक सहयोगमा निर्माण गरिदिएको आयोजनाबाट ३२ किलोवाट क्षमताको विद्युत उत्पादन भएपनि अहिले आयोजना पुनः निर्माणपछिे ४९ किलोवाट विद्युत उत्पादन हुन थालेको आयोजनाका सचिव चालिसेलेको भनाई छ । आयोजना पुनः निर्माण गर्दा अहिले बुटवल स्थित ओसिएन पावरले प्राविधिक सहयोग गरेको थियो । अनुदान सहजीकरणमा बैकल्पिक उर्जा प्रवर्धन केन्द्रको क्षेत्रिय सेवा केन्द्र धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र बागलुङ रहेको आयोजनाका सचिव चालिसेले बताए ।

आयोजना पुनः निर्माण गर्दा संस्थाले ३ रोपनी बराबर आफ्नै नाममा जग्गा खरिद गरेको छ । आयोजना निर्माण कार्य हुँदै गर्दा कुलो निर्माणका क्रममा मृत्यु भएका ददिराम चालिसेको परिवारलाई विद्युत महसुल नलिने आयोजनाले हालै निर्णय गरेको छ । उता आयोजना पुनः निर्माण सम्पन्न भईसक्ने अवस्थामा पावर हाउस नजिकै रहेको ट्रान्सफर्मरमा विद्युत बत्ति जोडने क्रममा लडेर घाइते भएका आयोजनाका म्यानेजर आत्मराम चालिसेको हेलिकप्टरबाट काठमाण्डौ उपचारमा लगिएको थियो । चालिसेको उपचारमा आयोजनाकाम तर्फबाट ३ लाख १० हजार सहयोग गर्ने आम भेलाले निर्णय गरेको छ । उता आयोजनामा काम गर्ने कर्मचारी तथा स्वयं आयोजनाको समेत ईन्सुरेन्स गर्ने तयारी भइरहेको बताइएको छ ।

पछिल्लो चरणमा आयोजना सहकारी मोडेलमा सञ्चालन गर्ने योजना रहेको समितिले ठहर गरेको छ । सोही ठाउँमा अर्को ४० देखि ५० किलोबाट क्षमताको विद्युत सँगै निर्माण गर्नका लागि योजना बनाउने तयारी रहेको बताइएको छ । कुलो, पेनस्टेक पाईप, जेनेरेटर लगाएतका इलेक्ट्रिकल सामाग्री खरिद गर्न करिव डेड करोड रकम भएमा ३ महिना भन्दा कम समयमा उक्त स्थानबाट ५० किलोवाट क्षमताको विद्युत निस्कन सक्ने आयोजनाका सचिव चालिसेले बताए । निकट भविष्यमै योजना बनाएर काम थालिने उनको भनाई छ ।

बुर्तिबाङको सेराफाँट, रिभरहेड, कुत्थाप्ला खप्तरीबाङ तथा बुर्तिबाङ बजार क्षेत्रमै पनि विद्युत माग भइरहेको र बुर्तिबाङमा अरु स्थानमा तत्काल विद्युत उत्पादन हुन नसक्ने भएपछि आयोजनाले योजना बनाएर लाग्ने तयारी गरेको हो । आयोजनाले उत्पादन गरेको ४९ किलोबाट क्षमताको विद्युत मध्ये अहिले २५ किलोवाट खपत भएको आयोजनाका अध्यक्ष डिलबहादुर कुमाल भन्छन् । वाँकी करिव १४ किलोवाट विद्युत बचत रहेको देखिन्छ । आयोजनाले एक युनिट विद्युत बराबर १० रुपैयाँ लिने गरेको आयोजनाका अध्यक्ष कुमालले बताए ।

आयोजनाबाट सिमलचौरमा रहेको पम्पिङ सिंचाई मार्फत सयौं रोपनी जग्गा सिंचित हुने र त्यहाँका कुमाल समुदायले व्यवसायीयक तरकारी खेति गर्न सुरु गरेका छन् । विद्युत उत्पादनसँगै त्यहाँका उपभोत्ताले उज्यालोमा बस्न, रेडियो टेलिभिजन मोवाईल लगायतका सञ्चारका साधन चलाउन त पाएकै छन् त्यसको अलवा आत्मनिर्भर र स्वरोजगार हुनका लागि थप अवसर समेत दिएको अध्यक्ष कुमालले बताए ।

शव्द-चित्र: राम सुवेदी,
बुर्तिबाङ
२०७४ भदौ २७ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *