समय सान्दर्भिक छ, जनस्वास्थ्यलाई लिएर ढोरपाटन नगरपालिकाको चासो

—लोकेन्द्र निरासी

देशकै स्वास्थ्य सेवाको अवस्था र प्रभावकारितालाई हेर्ने हो भने देशका सर्वसाधारण नागरिकलाई दिने स्वास्थ्य सेवा प्रवाह अत्यन्त नाजुक देखिन्छ । कुनै पनि देशका नागरिकहरुले राज्यबाट सहज रुपमा स्वास्थ्य सेवा सुविधा पाउनु पर्ने हुन्छ । स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता अन्तरगत पनि पर्ने गर्छ । नेपालको संविधान २०७२ मा पनि स्वास्थ्य सम्बन्धि हकलाई मौलिक हक अन्तरगत राखिएको छ । प्रत्येक नागरिकलाई राज्यबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने छ भन्ने संविधानमै उल्लेख छ । तर पनि आम सर्वसाधारण नागरिकहरुले अझैसम्म पनि सहज रुपमा स्वास्थ्य सेवा सुविधा पाउन सकेको अवस्था छैन । सत्ता र कुर्सीमा पुगेका ठूलाबडा नेताहरुलाई सामान्य टाउको दुखे पनि विदेशमा उपचारको लागि लगिन्छ र लाखौं रकम राज्य कोषबाट खर्च गरिन्छ तर दुर्गम भेगका सर्वसाधारण नागरिकहरुले सिटामोल समेत खान नपाउन स्थिति हुँदा कैयौं नागरिकको स्वास्थ्य जोखिम र अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ ।

स्वास्थ्य क्षेत्रलाई आज हुने खाने वर्गहरुले व्यापारीकरण गरी कमाइखाने भाँडो बनाइरहेका छन् भने यसबाट ठूलो ब्रम्हलुट नै मच्चाएको आफैमा छर्लङ्ग देखिन्छ । देशमा निजी क्षेत्रबाट सञ्चालित धेरैजसो निजी स्वास्थ्य संस्था र मेडिकल कलेजहरु आज नेताहरुकै पहुँच र लगानीमा सञ्चालित भएका छन् । एमविविएस पढाउनका लागि विद्यार्थीबाट लाखौं रकम असुलिन्छ । चिकित्सा क्षेत्र सर्वसाधारणको पहुँमा छैन । गरिबको छोराछोरीले क्षमता र योग्यता भएपनि सहज रुपमा एमविविएस पढ्ने मौका कहिल्यै पाउन सकेको अवस्था छैन । देशका तमाम यिनै स्वास्थ्य क्षेत्रका विकृति विसङ्गतिहरुको विरुद्धमा डा. गोविन्द के.सी. पटक पटक अनसन बसेर जीवन मरणको लडाइँ लडे पनि सरकार अझै पनि समस्याको समाधानमा उदासीन देखिएको छ । मनमोहन मेमोरिएल मेडिकल कलेजलाई सरकारीकरण गर्न माफियाहरु अझै मानिरहेको अवस्था छैन । उता नेशनल मेडिकल कलेजलाई मापदण्ड पुरा नगरी संचालन गरेको भनी त्रिविले सम्बन्धन नै खारेज गरिदिएको छ ।

देशका सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण तहसम्म स्वास्थ्य क्षेत्रमा तमाम खालका विकृति र विसङ्गतिहरु विद्यमान देखिन्छन् । ग्रामीण स्वास्थ्य क्षेत्रमा सरकारको ध्यान जान नसक्नु, तल्लो तहका स्वास्थ्यकर्मीहरुबाट जनताले जोखिमपूर्ण उपचार गराउनु पर्ने बाध्यता, सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुबाट पाउने स्वास्थ्य सेवा सुविधामा कमजोर अवस्था, अनुभवी विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीहरुको अभाव, महङ्गो औषधि उपचार, निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था, हस्पिटल, क्लिनिक, मेडिकल र औषधि पसलबाट गरिने जोखिमपूर्ण औषधि उपचार र स्वास्थ्य हेलचक्राइ लगायतका कारण कैयौं सर्वसाधारण नागरिकहरुको स्वास्थ्य नै जोखिममा परेको यथार्थ सत्यतालाई कसैले लुकाएर लुक्दैन ।

निजी क्षेत्रबाट संचालित स्वास्थ्य संस्थाहरु आज सर्वसाधारण नागरिकलाई सर्वसुलभ र सहज रुपमा स्वास्थ्य सेवा सुविधा प्रदान गर्ने भन्दा पनि अनावश्यक सूचना विज्ञापन गरेर रोगको निदानै नगरी पैसा मात्र असुल्ने थलो बनेको आरोपहरु बारम्बार आउने गरेका छन् । यसको लागि ठूला सहरदेखि ग्रामीण तहसम्मका सरकारी र निजी तहका हरेक सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहमा सुधार आउन नितान्त आवश्यक देखिन्छ ।

बागलुङ जिल्लाको स्वास्थ्य सेवा प्रवाहको स्थितिलाई हेर्ने हो भने पनि अवस्था अत्यन्त नाजुक देखिन्छ । सरकारी र निजी दुवै तहका स्वास्थ्य संस्थाहरु सर्वसाधारण जनताको स्वास्थ्य सेवा प्रवाहमा खासै संवेदनशील र जिम्मेवार बन्न सकेको पाइदैन । जिल्ला सदरमुकाम बागलुङमा समेत स्वास्थ्य सेवा प्रभावकारी छैन ।

जिल्लाको ग्रामीण क्षेत्रको स्वास्थ्य अवस्था झनै दयनीय छ । जिल्लाको दुर्गम क्षेत्र मानिने निसीभुजी क्षेत्रका जनताको स्वास्थ्य अवस्था र यहाँका सेवाप्रदायक स्वास्थ्य संस्थाहरुबाट दिइने स्वास्थ्य सेवा प्रभावकारी छैन । रोगको पहिचान नै नगरी आर्थिक लाभलाई मध्यनगर गरी उपचार गर्ने प्रवृत्तिले दिनहुँ जसो विरामीहरु मारमा परिरहेको अवस्था छ । सञ्चार माध्यमहरुबाट बज्ने सूचना विज्ञापनको आधारमा सयौं विरामीहरुको दैनिक चाप बुर्तिबाङमा बढदै गएपनि बिरामीहरुले प्रभावकारी रुपमा उपचार नपाउदा बागलुङ, पोखरा, काडमाडौं, पाल्पा, बुटवल लगायतका ठाउँहरुमा जानुपर्दा र दोहोरो पैसाको खर्च त्योसँगै स्वास्थ्य समेत जोखिममा पर्ने विषयलाई संचारमाध्यमहरुले विगतदेखि नै उठाउँदै आम नागरिकलाई सचेत गर्दै आएको सबैमा अवगत नै छ ।

विगत केही वर्ष पहिला पनि बुर्तिबाङ साप्ताहिक प्रकाशन हुँदा यस क्षेत्रका स्वास्थ्यसंग जोडिएका तमाम समस्याहरुलाई बाहिर ल्याउन खोज्दा मिडियाले अनेकौं चुनौतीहरु सहनु परेको यथार्थ अनुभव ताजै छ ।

त्यति मात्र नभएर विगतका दिनहरुमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समय डाक्टर विहिन हुँदा र जनताले सहज रुपमा स्वास्थ्य सेवा नपाउँदा समेत स्थानीय र जिल्ला तहका संचार माध्यमहरुले पटक पटक समाचार संप्रेषण गरि जिल्ला जनस्वास्थ्य कार्यालय लगायत सम्बन्धित निकायलाई ध्यान आकर्षण गराएपछि मात्र डाक्टर पठाउने काम भएको थियो ।

विगतका दिनहरुमा बुर्तिवाङमा कुनै बेला औषधी व्यवस्था विभागबाट र अन्य विभिन्न स्वास्थ्य निकायबाट अनुगमनका लागि बुर्तिबाङ आउँदा कतिपय मेडिकल र औषधी पसल लगायतका केही निजी स्वास्थ्य संस्थाका संचालकहरु सटर नै बन्द गरेर हिडेका र संबन्धित निकायले गरेको अनुगमन अनुसार मापदण्ड विपरीत व्यावसायहरु संचालन गरेका समाचारहरु पनि अनलाईनले बाहिर ल्याएकै हो ।

कुनै बेला एम्बुलेन्सलाई व्यक्तिगत प्रयोजनको लागि प्रयोग गरेको, कुनै बेला स्थानीय क्लिनिकहरुबाट अवैध रुपमा गर्भपतन गराउँदा सेवाग्राहीको स्वास्थ्यमा परेको असर, डाक्टरको पे्रस्किप्सन बिना चलाउन नहुने कतिपय औषधीहरु सामान्य स्वाथ्यकर्मीले जथाभावी चलाउने गरेको, एलोपेथिक लगायत आयुर्वेदिक र मदिरा विक्रि समेत एउटै पसलबाट गर्ने गरेको, जथाभावी क्यानुलाको प्रयोग र जोखिमपूर्ण उपचार प्रक्रियावाट जनस्वास्थ्यमा परेको असर, फोहोरमैला, ढल व्यवस्थापन लगायतका कैयौं जनताको स्वास्थ्यसंग जोडिएका विषयहरुलाई विगतदेखि नै संचारमाध्यमहरुले बाहिर ल्याएर आम जनतालाई सचेत र सुसूचित गरेको यथार्थलाई कसैले बिर्सन मिल्दैन ।

यसै सन्दर्भमा भन्नु पर्दा, बागलुङ सदरमुकामबाट सन्चालित एक अनलाईनले मेरो उपचारसंग सम्वन्धित विषयलाई लिएर ‘जस्को मृगौलामा पनि ढुंगा, बुर्तिबाङका डाक्टरको दिमाग बिग्रिएको हो कि अल्ट्रासाउन मेसिन ?’ भन्ने शिर्षकमा प्रकाशित समाचारले यस क्षेत्रमै ठुलो तरंग ल्यायो ।

यो समाचारले बुर्तिवाङका निजी एवं सरकारी स्वास्थ्य निकायहरुबाट प्रदान गरिने स्वास्थ्य सेवालाई लिएर गम्भीर प्रश्नमात्रै उठाएन निजीस्तरबाट सन्चालित हस्पिटल, क्लिनिक औषधि पसलहरुको बैधता र यी निकायबाट उपचारमा देखिदै आएका त्रुटी एवं लापर्वाही प्रति सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउन सफल रह्यो ।

यस अनलाईनमा प्रकाशित समाचार पछी, निसीभूजीवासीहरु बुर्तिवाङमा सन्चालित विभिन्न नामका हस्पिटल, औषधी पसल, क्लिनिकहरु कानूनीरुपमा मान्यता प्राप्त छन कि गैह्रकानूनीरुपमा सन्चालन गरेर जनताको स्वास्थ्यसंग खेलवाड गरी धन कमाउने माध्यम बनाईरहेका छन भन्ने जान्न चाहि रहेका छन् ।

कुनै सन्चारमाध्यमले कुनै विषयमा समाचार प्रकाशित गर्नु त्यो उसको कुरा हो, समाचारको सत्य तथ्यलाई लिएर कुनै प्रश्न छ भने सरोकारवालाले त्यसै सन्चारमाध्यममा सम्पर्क गरी आफना कुराहरु राख्नु पर्छ तर कसैसंग सम्वन्धित समाचार आयो भने त्यहि सम्वन्धित व्यक्तिले छपाएको हो भनेर प्रतिशोध लिने प्रवृत्ति बुर्तिवाङमा देखिनु दु:खद मात्र नभएर चिन्ताको विषय पनि हो । यसप्रति स्थानीय प्रशासन, प्रहरी, जनप्रतिनिधी, आम जनता सजग रहनु आवश्यक छ ।

बुर्तिवाङ बजारमा सन्चालित. निजी तथा सरकारी स्वास्थ्य निकायहरुबाकट प्रवाह. गरिएका सेवाहरुलाई लिएर सम्प्रेषित समाचार एवं स्थानीयवासीको स्वास्थ्य उपचारलाई मध्यनजर गर्दै ढोरपाटन नगरपालिकाले केहि दिन पहिले आयोजना गरेको निजी तथा सरकारी स्वास्थ्य निकायका प्रमुख एवं संचालकहरुवीचको अन्तरक्रिया एवं छलफल कार्यक्रम प्रशंसनीय छ छदैछ, समय सान्दर्भिक पनि ।

नगरपालिकाले सेवा क्षेत्र भित्रका क्रियाशील सरकारी तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरुलाई बोलाई व्यापक छलफल गरि यहाँबाट दिइने स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नभएको भन्दै सबैलाई गम्भीर बन्न समेत सुझाएको छ । नगर प्रमुख देवकुमार नेपालीको पहलमा यस खालको कार्यक्रमको आयोजना गर्नु स्वागतयोग्य छ । निसीभूजी क्षेत्रका आम जनताको स्वास्थ्य सम्वन्धमा नगरप्रमुख नेपालीको चासो र चिन्ता समयको माग हो । नियम विपरीत चल्ने जो कुनै स्वास्थ्य संस्थालाई कार्वाही गर्ने र दर्ता समेत खारेजी गर्न सकिने नगर प्रमुख नेपालीको चेतावनीको प्रभाव सरोकारवालाहरुमा परिपनि सकेको छ ।

विगतका दिनहरुमा स्थानीय निकायको अभाव र सरोकारवाला निकायहरुको निरन्तर अनुगमन र नियमन नहुँदा समेत स्वास्थ्य क्षेत्रमा विकृतिहरु झन बढ्दै जाँदा यस क्षेत्रका आम सेवाग्राही नागरिकाको स्वास्थ्यमा जोखिमता बढ्दै गएको स्पष्ट हुन्छ । त्यसैले जसरी यतिबेला यस विषयमा सबैको ध्यान गइरहेको देखिन्छ, त्यसरी नै यस विषयमा सरोकारवाला सबैले चासो र चिन्तन दिन जरुरी छ । सेवा प्रदायक सबै स्वास्थ्य संस्थाहरुले कानूनी प्रावधनाहरु पूरा गरी आफ्ना कमी कमजोरीहरुलाई बेलैमा सुधार गरेर जनतालाई दिईने स्वास्थ्य सेवा प्रवाहलाई भरपर्दो विश्वासिलो बनाउन जरुरी देखिन्छ । अस्तु,
***
बुर्तिबाङ
२०७४ भदौ २५ ।
लेखक, परिवर्तन एफ एम बुर्तिबाङको अध्यक्ष एवं नेपाल पत्रकार महासंग बागलुङको जिल्ला कार्य समिति सदस्य हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *