कांग्रेस, टेको बिना अड्न नसक्ने भएकै हो ?

रामबहादुर जि.सी.

यति बेला संसदमा सबै भन्दा ठुलो दलका रुपमा रहेको नेपाली कांग्रेसका बारेमा बौद्धिक व्यक्तित्वहरुका बीच चर्चा हुन थालेको छ ‘के कांग्रेस अब टेको नलगाई अडिन नसक्ने भयो ?’ निश्चय नै यो विषयमा आजभोली गाउँघर तिर पनि चर्चा चल्न थालेको छ । धेरै भएको छैन नेपाली कांग्रेसका वर्तमान सभापति एवं प्रधानमन्त्रीले तत्कालिन समयमा सरकारको नेतृत्व गरिरहदाँ आतंककारी भन्दै तत्कालिन नेकपा माओवादीका नेताहरुको टाउकाको मूल्य तोकेको । डेढ दशक नहुदै तिनै आतंककारी भनिएका दलका नेतालाई प्रधानमन्त्री बनाउने र आफु प्रधानमन्त्री बन्ने देखि निर्वाचनमा ६०÷४० को भाग वण्डा गर्ने समय कसरी आयो । राजनीतिमा स्थायी सत्रु र स्थायी मित्र हुदैनन् भन्ने कुरा यस्तै होला सायद ।
नेपाली कांग्रेसले सत्ता सञ्चालन गर्न सक्दैन भन्ने कुरा पटक पटक उसले पाएको जनमत र उसले सञ्चालन गरेका सरकारको काम कारबाहीबाट प्रष्ट हुन्छ । २०१५ सालमा दुई तिहाई जनमत पाएको कांग्रेसले सत्ता धान्न नसकेरै पञ्चायत फर्केको हो । कम्युनिष्ट पार्टीका ४ जना मात्रै सांसद निर्वाचित भएका थिए त्यतिबेला । पञ्चायतका विरुद्ध कांग्रेसले आन्दोलन गरिरहेकै थियो । जब वामपन्थीहरुले साथ दिए पञ्चायत ढल्यो र प्रजातन्त्र आयो । जनताले फेरी २०४८ सालको आम निर्वाचनमा कांग्रेसलाई बहुमत सहितको पहिलो दल बनाइ दिए । जनताले अभिमत त दिए, तर कांग्रेसले पञ्चायतको पेलाईबाट जनतामा पर्न गएको असरलाई बुझ्न सकेन । नयाँ एउटा पनि कार्यक्रम ल्याउन सकेन । सत्ता स्वार्थका कारण उनीहरु एक आपसमै लड्न थाले । ३ वर्ष पुग्दा नपुग्दै विपक्षीले काम गर्न नदिएको बहाना बनाएर आफ्नो पार्टीको आन्तरिक विवादका कारण कांग्रेसले मध्यावधी निर्वाचन गरायो ।
२०४८ को निर्वाचनमा ६९ सिट जितेर नेकपा एमाले दोस्रो शक्ति बनेको थियो । २०५१ को मध्यावधी निर्वाचनमा एमाले अल्पमतकै भए पनि संसदको ठुलो दल बन्यो । संसदको ठुलो दलका हिसावले नेकपा एमालेले सरकार बनाउने अवसर पायो । एमालेले जम्मा ९ महिना मात्रै सरकारको नेतृत्व गरे पनि देश र जनताका लागि एउटा नयाँ अभियान थाल्यो । आज गाउँ गाउँमा सडक विस्तार भएको छ, सञ्चार पुगेको छ, विद्युत पुगेको छ । आफ्नो गाउँ आफै बनाऔ, सामाजिक सुरक्षा भत्ता लगायतका लोकप्रिय कार्यक्रम ल्याएपछि कांग्रेसले त्यो सहन सकेन र सरकार ढाल्ने खेल खेल्यो । राम्रो कामको शुरुवात भएकै समयमा कांग्रेसले जुन ढंगले सरकार ढाल्ने प्रयत्न ग¥यो र अदालतले समेत कांग्रेस लगायत विपक्षीलाई साथ दियो हो त्यही निरबाट यो देशमा राम्रो काम गर्नेहरुलाई कमजोर बनाउने खेल शुरु भयो । र कांग्रेसको साख विस्तारै गिर्दै गइरहेको छ ।
२०५१ को एमाले सरकार ढलेपछि देशमा कस्ता प्रकारका सरकार बने, कसरी सत्ता सञ्चालन भयो धेरै व्याख्या गर्नै पर्दैन । ५ वर्षे त्यो काल नेपालको इतिहासमा अत्यन्तै दर्दनाक र सर्मनाक शासन व्यवस्था, प्रजातन्त्रका नाममा गरिने घृणित कार्यका रुपमा परिचित छ । त्यसमा तत्कालिन नेतृत्वकर्ताका हिसावले सबै पार्टीका नेताहरु जिम्मेवार छन् । कांग्रेसको साख कमजोर भएपछि फेरी २०५६ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराईको पासा फ्याकियो । २०४६ को परिवर्तन पछि समयमै संविधान बनाएर राम्रो संग निर्वाचन गरी अन्तरिम सरकारलाई सफल बनाएका तर कांग्रेसको राजनीतिबाट बाहिर सर्दै गएका लोकप्रिय नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री घोषणा गरेर कांग्रेस निर्वाचनमा गयो । २०५४ को निर्वाचनमा स्पष्ट बहुमत सहित स्थानीय निकायमा निर्वाचित एमाले विभाजन भएका कारण कांग्रेसले फेरी पनि बहुमत पायो । कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाइयो । तर एक वर्ष नबित्दै प्रधानमन्त्री पद हत्याइयो । त्यसपछि क्रमश गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री भए ।
भनिरहनु पर्दैन अहिलेका कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नै हो स्थानीय निकाय भंग गरेर कर्मचारीलाई शासन सञ्चालनको जिम्मेवारी दिएको र संसद भंग गरेको । कांग्रेसको साख यसरी कमजोर हुदै गएको छ । साख क्रमश घट्दो अवस्था हुदा हुदै फेरी गिरिजाप्रसाद कोइरालाले संसद पुनस्थापनाको माग राख्दै आन्दोलनको अगुवाई गरे । एमाले समेत अलमल र ढुलमुलमा रहेको समयमा कोइरालाले त्यही मागलाई लिएर अगाडि बढे । २०६२÷०६३ को आन्दोलन पछि संसद पुनस्थापना भयो । फेरी एक पटक कोइरालाले कांग्रेसको साख बढाए । कांग्रेसको साख बढेपनि २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा विद्रोहबाट आएको नेकपा माओवादी पहिलो दल बन्यो । त्यसपछि पनि गणतन्त्रमा जाने निर्णयमा सहमत भएर कोइरालाले पार्टीलाई एक कदम अगाडि बढाए । गिरिजाप्रसाद कोइराला हुदा कांग्रेसको साख बढेकै थियो । उनको निधनपछि सुशिल कोइराला नेतृत्वमा आए । २०७० को निर्वाचनमा उनले पार्टीलाई दोस्रोबाट पहिलो बनाए र प्रधानमन्त्री समेत आफै भए । कांग्रेसको साख सुशिलले जोगाएकै थिए । संविधान जारी गर्नका लागि आलटाल गर्दा गर्दै उनी सहमत भए । आफ्नो पालामा संविधान जारी भएको जस लिनका लागि भएपनि उनले संविधान जारी गर्ने विषयमा सहमति गरे । जव संविधान जारी भयोे उनलाई प्रधानमन्त्रीको उमेदवार बन्न दवाव दिएर उनी र कांग्रेसको साख गिराउने खेल भयो ।
सुशिल कोइरालाको निधन पछि कांग्रेसको नेतृत्वमा आएका वर्तमान सभापतिले पार्टीको साख विस्तारै कमजोर बनाउदै गएका छन् । यतिबेला कांग्रेसका इमान्दार कार्यकर्ता जो हिजो कांग्रेस भएकै कारण माओवादीले गाउँबाट लखेटे, सुराकीको आरोपमा कुटिए, पिटिए उनीहरु कांग्रेससंग सन्तुष्ट छैनन् । मारिएकाहरुका परिवार पनि कांग्रेस नेतृत्वसंग सन्तुष्ट छैनन । कांग्रेसको आधा भन्दा बढी हिस्सा वर्तमान सभापतिको कार्यशैलीबाट सन्तुष्ट छैन । फेरी पनि बोल्न सकिरहेका छैनन् । यसले अहिले तत्कालका लागि भन्दा पनि दिर्घकालका लागि शेरबहादुर देउवा र स्वयं कांग्रेसलाई क्षति गर्छ भन्ने कांग्रेसीहरु धेरै छन् ।
कांग्रेस लोकतान्त्रिक पार्टी हो । लोकतन्त्रका लागि यसले राम्रो भूमिका खेल्दै आएको छ । सुशिल कोइराला प्रधानमन्त्री छदै भारतले नेपालमा अघोषित नाकाबन्दी लगायो । मधेस केन्द्रीत दलहरुले तराई मधेसमा आन्दोलनको आगो सल्काए, धेरैको ज्यान गयो । भारतले लगाएको नाकाबन्दीका समयमा कांग्रेस बोल्न सकेन । कांग्रेसका युवा नेताहरुको दवावका बावजुद पनि कांग्रेस मौन रहेपछि आम जनतामा कांग्रेसलाई बुझ्ने अवसर प्राप्त भयो ।
नेकपा एमाले नेतृत्वको सरकारले केही राम्रा कामको शुरुवात गरेको थियो । कांग्रेसले फेरी एक पटक राम्रा काम देख्न चाहेन र एमाले नेतृत्वको सरकार ढाल्नका लागि अगाडि बढ्यो ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन सके लगत्तै कांग्रेस सभापति देउवा प्रधानमन्त्री भए । स्थानीय तह निर्वाचनमा देशको पहिलो पार्टी सरकारको नेतृत्वमा रहेको पार्टीले विपक्षी दललाई पराजित गर्नका लागि अर्को दलसंग सहकार्य ग¥यो । पहिलो र तेस्रो दल मिल्दा पनि धेरै ठाउँमा निर्वाचनको परिणाम आफ्नो पक्षमा आएन । चितवनमा जालझेल गरेरै भएपनि चित्त बुझाउने बाटो बनेको छ । यो विचमा नेपाल पत्रकार महासंघको निर्वाचन लगायत धेरै निर्वाचनमा एमालेलाई सिध्याउन भन्दै संसदको पहिलो र तेस्रो दल मात्रै होइन, अन्य साना दलहरुको समेत गठजोड बनाएर निर्वाचनमा गएका छन् । यसले के देखाउछ भने नेपाली कांग्रेस अब एक्लै नेकपा एमालेसंग भिड्न सक्ने हैसियतमा छैन । एमालेले जनताका बीचमा गरेका लोकप्रिय कार्यक्रम, राष्ट्रियताको सवालमा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले लिएको चट्टानी अडान मात्रै होइन एमालेका नेता कार्यकर्ताले गर्ने चुनावी अभियानका कारण पनि एमालेप्रति आम जनताको आकर्षण बढेको छ । एमालेलाई रोक्न जति धेरै कांग्रेस माओवादी गठबन्धन बढ्दै जान्छ, एमाले त्यति बलियो बन्दै गइरहेको छ । भारतमा भारतीय जनता पार्टी र मोदी जसरी उदाउदै गएका छन् नेपालमा नेकपा एमाले र ओली त्यसैगरी उदाउदै गएका छन् । यसमा सहयोगी भूमिका कांग्रेसले खेलेको छ । संसदको पहिलो दल तेस्रो दलसंग मिलेर दोस्रो दललाई सिध्याउने भन्दै अगाडि बढेपछि एमाले नेता कार्यकर्तामा एउटा छुट्टै शक्ति सञ्चार भएको छ, नेता कार्यकर्तामा एकता कायम भएको छ । जसका कारण एमाले मुलुकको पहिलो दल बन्दैछ ।
स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचनबाट एमाले पहिलो शक्ति बनिसकेको छ । अब तेस्रो चरण एमालेका लागि पनि चुनौतीका रुपमा अगाडि बढीरहेको छ । वर्तमान सत्ता गठबन्धनले संविधान संशोधनको रटान लगाएर एमालेलाई कमजोर पार्न खोजे पनि एमालेले संविधान संशोधन प्रस्ताव असफल पारेर अगाडि बढेको छ । कांग्रेसको नेतृत्व नैतिक रुपमा पराजित भइसकेको छ ।
२ नं. प्रदेशको स्थानीय तह निर्वाचनमा पनि एमाले पहिलो बन्ने निश्चित प्राय छ । किनकी नैतिक रुपमा सत्तारुढ दलहरु पराजित भैसकेका छन् । यसको पुष्टी उनीहरु सकेसम्मका सबै दलहरुबीच कार्यगत एकता गरेर चुनावमा जान चाहन्छन् भन्ने कुराले गर्दछ । प्रमुख दल यसरी साना दलको टेको लगाउदै निर्वाचनमा जाने कुराले एमालेजनलाई उत्साहित बनाएको छ । सत्तारुढ दलहरुमा सत्ताको उन्माद मात्रै देखिन्छ, सत्ता कसरी जोगाउने भन्ने ध्याउन्न मात्र देखिन्छ । तर संसदको प्रमुख विपक्षी तर देशको पहिलो पार्टी एमाले सत्ता निर्वाचनकै माध्यमबाट हात पार्ने अभियानका साथ अगाडि बढीरहेको यथार्थबाट पनि अबको निर्वाचनमा एमाले पहिलो दल बन्ने पक्का छ ।
कांग्रेस इतिहासमै यस पटक अत्यन्तै कष्टकर अवस्थामा छ, संसदको पहिलो दल, सत्ताको नेतृत्व गरेको दल यसरी विक्षिप्त हुने अवस्थामा पुग्नुले आम कांग्रेसीजनहरुमा निराशा पलाएको छ । उनीहरु देउवाले कांग्रेस सिध्याउने भए भनेर चिन्तित छन् । कांग्रेस नेतृ सुजाता कोइरालाले त निर्वाचन पछि नेतृत्वको भण्डाफोर गर्ने उद्घोष गरिसकेकी छिन् ।
कमजोर व्यक्तिले टेकोको साहरा लिने हो । बुढा बुढी भएपछि मानिसले लौरोको साहरा लिन्छ । यतिबेला कांग्रेस कमजोर छ भन्ने कुरा माओवादी र राजपासंगको चुनावी तालमेल त्यसमा पनि सभापतिले नै ६०÷४० को प्रस्ताव गरेबाट बाट पुष्टी हुन्छ । एक्लै भिड्ने दम कांग्रेसमा सकिएकै हो त ? एक पटक कांग्रेस भित्र ठुलै छलफलको विषय बन्ने देखिन्छ ।
लोकतन्त्रको संस्थागत विकासका लागि दलहरु बलियो बन्न जरुरी छ । दलहरु कमजोर हुदा निर्दलीय शासकहरु अगाडि आउछन् भन्ने कुरा हामीले देखी सकेका छौ । कांग्रेस बलियो बनाउन टेकोको होइन, आन्तरिक व्यवस्थापनको जरुरत छ । टेको लगाएर अडेको वस्तु कुनै पनि दिन ढल्न सक्छ । संसदको पहिलो र सरकारको नेतृत्व गरेको दल एक्लै विपक्षीसंग निर्वाचनमा भिड्न नसक्नै नै हो त ?

(नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य)

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *