सर्वसाधारण उपभोक्तालाई ठग्ने कामप्रति प्रशासनले कुनै सम्झौता गर्दैन- प्रजिअ थापा

जिल्ला प्रशासन कार्यालयमा उपभोक्ता हित, सचेतना र बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया !

राम थापा अबिरल, बागलुङ, २०७४ भदौ २१ । जिल्ला प्रशासन कार्यालय बागलुङले बुधबार आयोजना गरेको उपभोक्ता हित, सचेतना र बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा बोल्दै प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले सर्वसाधारण उपभोक्तालाई ठग्ने कामप्रति प्रशासनले कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

प्रजिअ थापाले समाजका सबै पक्षको सहयोगले मात्र बजारलाई व्यवस्थित गर्न सकिने उल्लेख गर्दै चाडबाडमा जिल्लाको सुरक्षा व्यवस्थालाई थप चुस्त बनाइने बताए ।

अन्तरक्रियामा विषयगत सरकारी कार्यालय, संघसंस्थाका प्रमुख, उद्योगी, व्यवसायी लगाएत सहभागिता रहेको थियो ।

अन्तरक्रियामा सेवा प्रदायक संस्थाका पदाधिकारीले चाडबाडका बेला उपभोक्ताको अहितमा कुनै पनि कार्य नगर्ने प्रतिवद्धता जनाउदै वस्तु र सेवा प्रवाहलाई चुस्त बनाउँदै बजारलाई व्यवस्थित तुल्याउन उनीहरु सहमत बनेका छन् ।

अन्तरक्रियामा बोल्ने सबैले चाडबाडमा उपभोग्य वस्तु तथा सेवालाई सुलभ मुल्यमा उपलब्ध गराउने बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीले चाडबाडमा सामानको अभाव हुन नदिने उल्लेख गर्दै गुणस्तरीय र सस्तो दरमा वस्तु किनबेचको वातावरण बनाउन संघले पहल गर्ने बताए ।

धवालगिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिका अध्यक्ष उमेश केसीले वर्षामा बिग्रेका सडक मर्मतसम्भार गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै ‘ग्रामिण भेगका सडक क्षतिविक्षत छन्, चाडबाडमा सहज यातायात चलाउन तत्काल सुधार हुन आवश्यक रहेको बताए ।

खुद्रा तथा किराना व्यवसायी संघका गणेश लम्सालले उपभोक्तालाई सुलभ दरमा खाद्यन्न लगाएतका उपभोग्य वस्तु उपलब्ध गराइने बताएका थिए ।
नेपाल टेलिकम, विद्युत जस्ता विषयगत कार्यालयका प्रमुखहरुले सेवा प्रवाहमा कुनै समस्या नरहेको बताएका थिए । मासु व्यवसायी, फेन्सी तथा कपडा व्यवसायी लगाएत वस्तुगत संघका पदाधिकारीले पनि बजार व्यवस्थापनमा सबै जिम्वेबार हुनुपर्ने बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी धुव्र गिरीले बजार अनुगमनलाई प्रभावकारी बनाइने बताउदै ‘सबैले उपभोक्ताको पक्षमा काम गरौं, बजारलाई व्यवस्थित बनाऔं’ भन्ने आग्रह गरे । अनुगमनमा कमजोरी भेटिए जो सुकै भएपनि कानुनी दायरामा ल्याइने गिरीको भनाइ थियो ।

ग्रामिण भेगमा चल्ने यातायातका साधानमा नयाँ भाडादर कायम गरिएकाले त्यसलाई कार्यान्वयनमा ल्याउन व्यवसायीहरुलाई गिरीले आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *