बुर्तिवाङका निजी स्वास्थ्य संस्थालाई सरकारले तोके बमोजिमको प्रक्रिया पालना गर्न मेयर नेपालीको निर्देशन !

बुर्तिवाङ २०७४ भदौ २० । ढोरपाटन नगरपालिका कार्यालयले नगरपालिका क्षेत्रमा क्रियाशील सरकारी तथा निजीस्तरमा सञ्चालित स्वास्थ्य संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल गरेको छ । निजी तवरले सञ्चालित कतिपय स्वास्थ्य संस्थाहरु नियमानुसार सञ्चालनमा आएको नदेखिएको नगरपालिकाले जनाएको छ । त्यस्ता स्वास्थ्य संस्थाहरुलाई तत्काल नियमन गर्नका लागि नगरपालिकाले स्वास्थ्य संस्थाका प्रतिनिधिहरुलाई तत्काल दर्ता प्रक्रियामा जान र नेपाल सरकारले तोके बमोजिमको प्रक्रिया पालना गर्न अनुरोध समेत गरेको छ ।

छलफलमा सरकारी स्वास्थ्य सेवालाई चुस्त दुरुस्त राख्न र जनसेवी भएर स्वास्थ्य सेवामा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्दै मेयर देवकुमार नेपालीले दुर्गम स्थानमा रहेर पनि जनताको स्वास्थ्य सेवा जस्तो संवेदनशील विषयलाई सेवाभाव र कर्तव्य संझेर कार्यरत रहन स्वास्थ्यकर्मीहरुको ध्यानाकर्षण गराएका छन् । आजै मेयर नेपालीले नगरपालिकाको वडानं. १ बुर्तिबाङ बजारमा सञ्चालित निजी स्वास्थ्य क्लिनिक, हस्पिटल, पोलिक्लिनिक तथा फार्मेर्सीहरुलाई नियमसंगत तरिकाले सञ्चालनमा ल्याउन समेत निर्देशन दिए ।

यसैबीच नगरपालिकाले तत्काल नगरका विभिन्न वडामा सञ्चालित स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर स्थानीय स्तरमा स्वास्थ्य सेवा सम्बन्धी समस्या बुझ्ने र नगरपालिकामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने मेयर नेपालीले बताएका छन् ।

कार्यक्रमका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका हेल्थ असिस्टेन्ट चुरामणी कँडेलले सहजीकरण गरेका थिए । अन्तरक्रियामा निजी स्तरमा सञ्चालित फार्मेसीहरुको बैधानिकता, सञ्चालनका आधारहरु, यहाँ सञ्चालित ल्याव सेवा सञ्चालन तथा सञ्चालनका मापदण्ड, निजी क्लिनिकहरुले औषधि चलानमा गरेका अभ्यासहरु त्यसको जनस्वास्थ्यमा पर्ने असर, हस्पिटलका रेडियो विज्ञापन, हस्पिटल तथा निजी मेडिकलहरुमा सञ्चालनमा रहेका उपकरण र त्यसको प्रयोग कस्ले गर्न पाउने नपाउने विषय र सेवा शुल्कमा एकरुपता लगायतका विषयमा छलफल गरिएको थियो ।

नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने सबै निकाय तथा क्षेत्रका विषयमा संस्थागत रुपमा सरोकारवाला प्रतिनिधिहरुसँग छलफल गरि योजना बनाउन यसखालको छलफलको आयोजना गरिने नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्यले बताए ।

स्मरणीय छ, गत भदौ ४ गते बुर्तिवाङ बजारमा निजीस्तरमा सन्चालित बुर्तिवाङ उत्तरगंगा हस्पिटल प्रालि र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको अल्ट्रासाउण्ड (भिडियो एक्सरे) को रिपोर्टका बारेमा ‘जस्को मृगौलामा पनि ढुंगा ! बुर्तिवाङका डाक्टरहरुको दिमाग बिग्रिएको हो कि, अल्ट्रासाउण्ड मेशिन ? शीर्षकमा यस अनलाईनले समाचार सम्प्रेषण गर्दै हस्पिटल र स्वास्थ्य केन्द्रबाट प्रवाह गरिने सेवालाई लिएर गम्भीर प्रश्न उठाउदै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको थियो । ढोरपाटन नगरपालिकाको आजको यस अन्तरक्रिया तथा छलफललाई इबागलुङमा प्रकाशित समाचार प्रभावको रुपमा लिईएको छ ।

बुर्तिवाङ बजारमा निजीस्तर सन्चालित हस्पिटल, स्वास्थ्य संस्थाहरु स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार नभएको व्यापक जन गुनासोका वीच नगरपालिकाले आज गरेको छलफलले दूरगामी असर गर्ने स्थानीयले विश्वास गरेका छन् । कम्पनि ऐन अनुसार प्रालिमा दर्ता गरेर सन्चालित यस्ता स्वास्थ्य संस्थाहरुले मानवस्वास्थ्यसंग गम्भीर खेलवाड गरेको आरोप निसीभूजीवासीको रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *