बुर्तिबाङबाट हराएका भण्डारी अझै भेटिएनन् : सबैलाई खोजी गरिदिन परिवारजनको आग्रह !

लोकेन्द्र निरासी, बुर्तिबाङ २०७४ भदौ २० । विगत ७ वर्षदेखि बुर्तिबाङ बजारको सिनेमारोडको चोक नजिकै भण्डारी किराना स्टोर्स सन्चालन गरी गल्ला किराना पसल गर्दै आएका बडीगाड गाउँपालिका वडा नं. ९ दर्लिङका वर्ष ४९ का राम बहादुर भण्डारी हराएको २ हप्ता वितिसक्न लाग्दा समेत अझै पत्तो लाग्न सकेको छैन । भण्डारी भदौ १० गते शनिवार विहान देखी सम्पर्कविहीन छन् ।

भण्डारी गत भदौ ८ गते तीज पर्वका दिन साथीभाई र ईष्टमित्रहरुसंगै रमाइलो गरेर मनाएको परिवार स्रोतले बताउँछ । केही दिनदेखि आफ्नो घरयासी व्यवहार र आर्थिक कारोवारले उनलाई तनाब बनाएको हुनसक्ने उनको परिवारसंगको कुराकानीले जनाउँछ । तीजको अर्काे दिन समेत उनी घरमै खानपिन गरेर बसेका थिए भने खाएपिएको बेला उनले आफ्नी श्रीमतीलाई—“आज तिमीले पकाएको खाना खाने अन्तिम दिन हो, भोलिदेखि कस्ले खान्छ र ?” भन्ने जस्ता अभिव्यक्ति दिने गरेको र साथीभाईहरुसंग रमाइलो गरेर खानपिन गर्दा समेत आज रमाइलो गरेर खाने अन्तिम हो भन्ने जस्ता अभिव्यक्ति दिने गरेको उनकी श्रीमती गोमा भण्डारीले बताइन् । श्रीमानले यस्ता अभिव्यक्ति दिंदा खाएपिएको बेला मानसिक टेन्सनले होला भनी आफूले सम्झाएको श्रीमती भण्डारीले बताइन् ।

भदौ ९ गतेका दिन बेलुकी परिवारका सबै सदस्यहरु खाना खाएर सुतेको र राम बहादुर भण्डारी भोलि विहानै आर्थिक कारोबारमा आफ्नो आउनु पर्ने पैसा लिन राजकुत जाने कुरा श्रीमती र परिवारजनसंग गरेका थिए । ‘राजकुत जाने भए साथमा फोन लिएर जानुहोला’ भनी श्रीमती गोमाले भनेकी थिइन् । भदौ १० गते विहान ४ बजेतिर आफू उठेर शौचालय जाँदा समेत आफ्ना श्रीमान् खाटमा नै सुतेको र त्यसपछि आफूफेरि सुतेर विहान ६ बजेतिर उठ्दा उनी घरमा नभएको श्रीमती गोमाले बताईन् ।

केही बेरपछि श्रीमती गोमाले फोन गरिन् तर फोन गर्दा फोन घरमै रहेछ । उनको पर्स समेत घरमै भएको परिवार स्रोतले बताउँछ । राजकुत पुग्ने समयमा त्यहाँका आफन्तहरुलाई उनले फोन गर्दा समेत कसैले भण्डारी त्यहाँ नआएको बताए । त्यसपछि सम्पर्कमा रहेका आफन्तजनहरुलाई फोन गरि सम्पर्क गर्दा समेत भण्डारीको कुनै पत्तो लाग्न सकेन ।

लगत्तै परिवारजनले खोजी गरिदिनका लागि ईलाका प्रहरी कार्यालय बुर्तिबाङ, सञ्चार माध्यम, आफन्तजन लगायत सबैलाई आग्रह गर्न पुगे । त्यसपछि भण्डारीको व्यापक खोजी कार्य जारी रह्यो तर पनि अझैसम्म उनको कुनै पत्तो लाग्न सकेको छैन ।

उनले भदौ १० गते विहान करिब ५ बजेपछि घर छाडेको अनुमान गर्न सकिन्छ । उनले घर छोड्दाको विहान करिब ६ बजेतिर उनलाई बुर्तिबाङदेखि सेरा जाने जाली पुल नजिकै स्थानीय होम बहादुर पौडेल (कुताले) ले भेटेको बताउँछन् । त्यसपछि पनि पुल तरेर अलि पर पाखुतेतिर जाने बाटोमा केही स्थानीय महिलाहरुले भेटेको समेत बताइन्छ । तर भेटेकाहरुले उनीसंग कसैले पनि लामो कुराकानी नगरेको बताउँछन् ।

पाखुतेको पुल तरेर राजकुततिर जाने बाटोमा भने अझैसम्म कसैले भेटेको भन्ने जानाकारी आउन सकेको छैन । घर छोड्दाको दिन उनले मदिरा सेवन नगरे पनि केही दिन देखिको अभिव्यक्तिले उनले कतै खोलामा हाम फालेर आत्महत्या गरेको हुन सक्ने केही स्थानीयहरुको आशंका समेत रहेको छ । तर यस सम्बन्धमा यसै हो भन्न सक्ने अवस्था भने छैन ।

उता ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण रानालाई यस सम्बन्धमा सोध्दा प्रहरीले लामो समयदेखि निरन्तर खोजी गरिरहेको र अहिलेसम्म कुनै जानाकारी हुन नसकेको जानाकारी दिए । अझै पनि प्रहरी प्रशासन र आफन्तजनहरुले खोजी कार्य जारी राखेका छन् । उनलाई भेट्ने जो कोहीले प्रहरी प्रशासन वा परिवारको सम्पर्क मोबाइल नं.९८४७७३३३७६ मा सम्पर्क गराउनका लागि परिवारजनले अनुरोध गरेका छन् ।

अत्यन्त हसिलो चेहरा, साथीभाई र आफन्तजनसंग सधै मीठो बोली बोल्ने र रमाइलो गर्ने भण्डारी आखिर कहाँ हराए त ? यस घटनाले ईष्टमित्र, आफन्तजन र स्थानीयबासीलाई निकै भावुक र चिन्तित तुल्याएको छ ।

उता घरमा श्रीमान हराउँदा आफू निकै चिन्तित र भाव विह्वल भएकाले सबैलाई खोजी गरिदिए हुन्थ्यो भन्ने आश गरेकी छन् श्रीमती गोमा भण्डारीले । श्रीमान घरमा नहुँदा पसल गर्न र व्यवहार चलाउन समेत समस्या परेको उनले बताइन् । अहिले चिन्तै चिन्तामा पनि परिवार धान्नका लागि आफू र छोराले पसल खोल्न बाध्य भएको उनले दु:खेसो पोखिन् । घरमा श्रीमती सहित ३ छोरा र १ छोरी भएका भण्डारी हराएको यो घटनाले परिवारजन र आफन्त लगायत सबैलाई निकै चिन्तित र दुःखी बनाएको छ ।

घरमा श्रीमती, छोरा छोरी सहित घर परिवारको बिचल्ली छ । परिवारको आँखाबाट आँशु थामिएको छैन । सम्पर्कविहीन बनेका भण्डारीका शुभचिन्तकहरु पसलमा पुगेर केहि सोधखोज गर्दा साथ श्रीमती गोमाका आँखाबाट बलेनीधारा आँशु झर्न थाल्छ । पति वियोगमा तड्पी रहेकी गोमा भण्डारीका आँखाबाट बरबरती खसेको आँशु देख्दा शुभचिन्तकहरुको मनसमेत रसाएर आउने गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *