साताको तस्वीर : हिलको सिस्नो खोस्ने मेला !

ताराखोला गाउपालिका-३, साविक हिल गाविसको हिल गाउँमा एक साल बिराएर युवा युवतीवीच सिस्नो खोस्ने मेला (पर्व)लाग्ने गर्छ । यसलाई स्थानीयले भदौरे मेलाको नामले पनि पुकार्ने गरेका छन् । यस वर्षको सिस्नो खोस्ने मेला शनिवार हरि प्राथमिक विद्यालयको प्रांगणमा सम्पन्न भएको छ । परम्परादेखी मनाईदै आएको यो मेला अविवाहित युवा युवतीहरुवीचको रोमान्चकारी नृत्य हो भन्नु अत्युक्ति नहोला । युवा युवतीबीच सामिप्यता बढाउनका लागि यो प्रचलन प्रभावकारी हुने अनुमान गर्न सकिन्छ ।

यसमा ५।७ जनाले डम्फु झ्याली बजाउने गर्छन भने एक जना व्यक्तिले धनुवाण लिएर सिस्नो खोसाखोस गर्ने युवायुवतीहरुको वरपर रहेर उनिहरुलाई व्यवस्थित गर्न खोजेको देखिन्छ । उनका साथमा एक मारुनी सोली डोको बोकेर सँगै हिड्ने गरेको र अर्को एक जना जोक्करको भुमिकामा रहेको देखिन्छ । खासगरी यो टोलीले सिस्नो खोस्ने नृत्यमा प्रहशन गर्ने भूमिका निर्वाह गरेको हो भन्न असजिलो छैन ।

यहाँका बुढापाकाहरुका अनुसार परापूर्वकालमा हिल गाउँमा आएर बसेका जिजूबाजेलाई देउता उत्रिदा उनले बताएको विधि अनुसार यो सिस्नो खोस्ने पर्वको सुरुवात भएको हो । यो पर्व वा मेला एक वर्ष बिराएर गर्ने प्रचलन रहेको छ । यस मेलामा एक मगरजाति विशेष मात्र नभएर यस ठाउँमा बस्ने विभिन्न थरका समस्त मगरजातिहरु मिलेर गरिन्छ । यस मेलालाई भदौरे मेला पनि भनिन्छ ।

स्थानीय निवासी ७८ वर्षिय बलिराम नाउसाका अनुसार यो कुनै मगर जातिको कुलपूजा होईन । मगर जातिहरुको आआफना कुलपूजाहरुमा सिस्नो खोस्ने प्रचलन रहेपनि उनले हिलमा आयोजना गरिने सिस्नो खोस्ने (भदौरे मेला) कुल पूजासंग सम्वन्धित नभएको बताए ।

शनिवार सम्पन्न सिस्नो खोस्ने मेलामा जम्मा ६ सिस्नोका मुठ्ठाहरु बनाईएक थिए, जबकि अघिल्लो मेलामा सिस्नोका ९ मुठ्ठाहरु थिए । सहभागीहरुको संख्याका आधारमा सिस्नोका मुठ्ठाहरुपनि घटीबढी हुने स्थानीयको भनाई छ ।

यस वर्षको मेलामा सहभागी हुने युवा युवतीहरुको संख्यामा कमी आएपछि सिस्नोको मुठ्ठापनि कमी भएको मेलाका दर्शकहरुको बताए । यस पाली मेलामा युवाहरुकोे भन्दा युवतीहरुको सहभागित निकै कम थियो ।

बाहिर गएका युवायुवतीहरु पनि मेला हुने समयमा घर आउने गर्छन तर यस वर्ष अलि कम नै भयो उनिहरुले बताए ।

सिस्नोको मुठ्ठाहरु मध्य एक मुठ्ठा भित्र सुँगुर (बंगुर)को सपेटा राखिएको हुन्छ, सिस्नो खोसाखोस गर्दा युवा वा युवती जस्ले जित्छ त्यो सपेटो उसैको हुन्छ एक दर्शकले इबागलुङसंग भने, सपेटा चाहिँ सिस्नोको अन्तिम मुठ्ठामा राखिएको हुन्छ । शनिवारको मेलामा युवाहरुको टोलीले जितेर सुँगुरको सपेटा हात पारे ।

झमझम पानी परिरहँदा युवायुवती वीच सिस्नो खोस्न गरिने तानातानी र घुचटाघुचट निकै रोमान्चकारी देखिन्थ्यो, त्यो भन्दा पनि सिस्नो खोस्दा तान्दा उनिहरुलाई पोलेको अनुभूति नहुनु साँच्चिकै अनौठो थियो ।

शव्द चित्र: दिनेश खत्री,
हरिचौर, गल्कोट
२०७४ भदौ १८ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *