धौलागिरिको सहकारी अभियान अगाडि बढाउन योगदान गर्ने सञ्चालक उप्रेती सम्मानित

बागलुङ, २०७४ भदौ १८ । अलमलमा रहेको धौलागिरि अञ्चलको सहकारी अभियानलाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेको भन्दै बागलुङको एक सहकारीले राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीलाई सम्मान गरेको छ ।

धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारणसभामा उप्रेतीलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडाले दोसल्ला ओढाएर सम्मान पत्रले सो अवसरमा सम्मान गरेका थिए ।

आदर्श सञ्चार सहकारी संस्थालाई संस्थागत रुपमा अगाडि बढाउन उप्रेतीले निरन्तर रुपमा सल्लाह सुझाव र समन्वय गर्नुका साथै अञ्चलकै सहकारी अभियानलाई अगाडि बढाउन केन्द्रमा रहेर पनि उहाँले गर्नु भएको योगदानको कदर गर्दै ११ औं वार्षिक साधारणसभामा सम्मान गरिएको संस्थाका अध्यक्ष अम्मरबहादुर थापाले बताए ।

धौलागिरि अञ्चलमा सहकारी अभियानका जिल्ला संघहरु दर्ता नै नभएका र दर्ता भएका पनि निष्क्रिय रहेको समयमा उप्रेतीको पहल कदमीमा २०६४ सालमा बागलुङमा जिल्ला सहकारी संघ दर्ता गरेपछि यो क्षेत्रको अअिभयानले तिब्रता लिएको जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

२०५० मा स्थापना भएर निष्क्रिय रहेको जिल्ला सहकारी संघ लिमिटेड बागलुङलाई विघटन गरेर नयाँ दर्ताका राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीको महत्वपूर्ण योगदान छ, बागलुङमा संघ क्रियाशिल भएपछि धौलागिरिका अन्य जिल्लामा समेत सहकारी अभियानले तिब्रता लिएको गौतमले जानकारी दिए ।

हाल धौलागिरिका करिब १ हजार सहकारीहरुले १० अर्बको वार्षिक कारोबार गर्दै आएका छन् । उत्पादन, प्रशोधन, बजारीकरण, स्वास्थ्य संस्था सञ्चालन, सञ्चारमाध्यम सञ्चालन, फोहोर व्यवस्थापन लगायतका काम यहाँका सहकारीहरुले गर्दै आएका छन् ।

सम्मान ग्रहण गर्दै उप्रेतीले सहकारी अभियानलाई अगाडि बढाउनका लागि सबै सकारात्मक भएर लाग्नु पर्नेमा जोड दिए ।

राष्ट्रिय सहकारी संघका निवर्तमान लेखा संयोजक तथा काठमाडौं जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष समेत रहेका उप्रेती राष्ट्रिय सहकारी बैंकको स्थापनाकालदेखि नै प्रवन्ध सञ्चालकका रुपमा काम गर्दै आउनु भएको छ । २०६० साल असार २५ गते स्थापना भएको राष्ट्रिय सहकारी बैंकमा हाल करिब १० हजार शेयर सदस्य, ९० करोड शेयर पूँजि, १४ अर्ब निक्षेप र १० अर्ब लगानी रहेको छ । ३७ वटा शाखा कार्यालय रहेको बैंकमा २ सय ५० जनाले रोजगारी पाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *