सञ्चार माध्यमलाई पारदर्शी बनाउन सहकारी मार्फत सञ्चालन गर्नु आवश्यक – खतिवडा

बागलुङ २०७४ भदौ १८ । आदर्श सञ्चार सहकारी संस्था बागलुङको ११ औँ साधारणसभाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैँकका पुर्वगर्भनर डा. युवराज खतिवडाले नेपालमा रहेका हरेक सञ्चार माध्यमलाई पारदर्शी बनाउनका लागि सहकारी मार्फत सञ्चालन गर्नुपर्ने बताएका छन् ।

सहकारीको क्षेत्रबाट सञ्चार क्षेत्रलाई अगाडी बढाउदा स्वामित्व पनि बढ्ने भएकाले यसतर्फ संचार उद्यमीहरुले ध्यान दिनुपर्ने उनको भनाई थियो ।
खतिवडाले राजधानीमा रहेका ठुला सञ्चार माध्यम अपारदर्शी रहेको भन्दै जवाफदेहि बन्नुपर्ने बताए ।

व्यक्ति आर्थिक रूपमा बलियो नभए सम्म सबै कुरामा नागरिक पछाडी पर्ने भएकाले समान खालको अधिकार स्थापित गर्न सहकारीले हुने खाने र हुदा खानेको बिचको खाडल पुर्ने काम गर्नुपर्ने उनले बताए । खतिवडाले अधिकांश सहकारी उद्देश्य बिपरित काम गर्ने गरेकाले सहकारी प्रति जनबिश्वास हराउँदै गएको भन्दै ऐन आएपछि सुधार हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैकका प्रबन्ध संचालक केबि उप्रेती, नेपाल सुचना तथा सञ्चार सहकारी संघका केन्द्रिय सदस्य मनकुमारी केसी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल श्रीष लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सहकारीले पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागिे ५१ हजार रुपैँयाको चेक पत्रकार महासंघका अध्यक्ष दिल श्रीसलाई हस्तान्तरण गरेको थियो । साधारणसभाका अवसरमा पत्रकार सन्तोष क्षेत्री र सृजना पन्तले स्थापना गरेको सिर्जनशिल पत्रकारिता पुरस्कारबाट म्याग्दीका पत्रकार सन्तोष गौतमलाई नगद ५ हजार रुपैँया सहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।

सहकारीले सञ्चालन गरेको दुव्र्यसन बिरूद्व आमा अभियानमा सहयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङ, पत्रिकामा नियमित लेख लेख्ने लेखक देबबहादुर श्रेष्ठलाई सम्मान गरेको थियो ।

साधारणसभामा सचिब प्रेम लामीछानेले प्रगति प्रतिबेदन, कोषाध्क्ष अनन्त खड्काले आर्थिक प्रतिबेदन, लेखा समिति संयोजक मिलन केसीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष अमर थापाको अध्यक्षता, उपाध्यक्ष अन्जु जिसीको स्वागत र सम्पादक रामबहादुर जिसिको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *