पर्वतमा वेपत्ता हुनेको संख्या बढ्दो, प्रहरी अनुसन्धान असफल !

महेन्द्र केसी, पर्वत २०७४ भदौ १६ । पर्वतमा यतिखेर नागरिक वेपत्ताका घटनाहरु दिनानुदिन सुन्नमा आइरहेका छन् । गत वर्षभन्दा यस वर्ष वेपत्ता हुने नागरिकको संख्या बढ्दो छ । शान्ति सुरक्षाका दृष्टिबाट पर्वतलाई सामान्य जिल्लाको रुपमा लिने गरिन्छ । सामान्य अपराधका घटनाहरु घटेका उदाहरण भएपनि जघन्य र संगठित प्रकारका अपराधिक घटनाहरु भने नगन्य भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ । जिल्लामा पछिल्ला केही वर्ष यता महिला र बालबालिकाको बढ्दो वेपत्ता हुने दर चिन्ताजनक छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतको तथ्यांक अनुसार २०७३ साउनदेखि गत असारसम्म वेपत्ता हुने महिला तथा बालबालिकाको संख्या ११५ जना रहेको छ । यसमध्ये सवैभन्दा बढी महिलाहरु ७८ जना रहेका छन् । वेपत्ता पुरुषको संख्या भने केही कम छ । वेपत्ता भएका नागरिकमध्ये थोरै संख्या मात्र फेला पर्ने गरेका छन् ।

वेपत्ता ७८ जना मध्ये १८ जना आफन्तद्धारा फेला भएको पाइन्छ भने प्रहरीद्धारा १० जना महिला फेला परेका छन् । महिलाहरु वेपत्ता हुनुको खास कारणमा आर्थिक गरिवी, वैदेशिक रोजगार, बालविवाह लगायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लिलाराज लामिछाने बताउँछन् ।

श्रीमान् परदेश गएका बेला यता युवावस्थाकी श्रीमती परपुरुषसँग मायाप्रिती राखेर भाग्ने गरेका उदाहरण थुपै्र छन् । कतिपय महिलाले विदेशबाट श्रीमान्ले पठाएको धनसम्पत्ति समेत कुम्ल्याएर भाग्दा परिवार नै भताभुङ्ग भएको अवस्था पनि छ । परिवारमा आर्थिक जिम्मेवारी लिएर घरायसी कारोवार गर्दै आएका महिलाहरु घर नै छाडेर वेपत्ता भएको समेत पाइन्छ ।

कुश्मा न.पा.६ की लक्ष्मी गिरी यही भदौ २ गते घरायसी आर्थिक कारोवारलाई कारण जनाउदै घरबाट वेपत्ता भएकी छन् । उनी कहाँ गइन् ? भन्ने कुरा दुई हप्ता वितिसक्दा समेत कुनै पत्तो लाग्न सकेको छैन । उनले वेपत्ता पुर्व आर्थिक कारोवारबारे केही पेज लेखेर छाडेकी छन् । आर्थिक कारोवार मिलेमा आफू आउन सक्ने भन्ने कुरा समेत कागजमा लेखेको पाइएको छ ।

वेपत्ता गिरीका परिवारले प्रहरीमा खोजी गरिदिन भनी निवेदन दिएका छन् । प्रहरीले खोजी कार्यलाई अगाडि बढाएको जनाएको छ । परिवार स्रोतका अनुसार वेपत्ता गिरीसँग श्रेष्ठ थरकी स्थानीय एक महिलाले पटक पटक गरी ठुलो रकम लिएकी थिइन् । सापटी दिएको लाखौ रकम फिर्ता नपाउदा तनाव झेल्न नसकेपछि उनी वेपत्ता भएको हुनसक्ने बताइएको छ । घर छाड्नुको कारणमा गिरीले लेखेको पत्रमा श्रेष्ठ थरकी महिलालाई नै दोष दिइएको पाइएको छ ।

यसैगरी वेपत्ता हुनेमा पर्वतको फलेवास नगरपालिका मुडिकुवा घर भई जिल्ला कृषि विकास वैंकमा कार्यरत कर्मचारी दिपेन्द्र गौडेल पनि एक हुन् । गौडेल एकाएक रातको समयमा घर छाडेर हिडेकोमा केही दिन पछि मृत फेला परेका थिए । प्रहरीका अनुसार उनले आत्महत्या गरेका थिए ।

पर्वतमा वेपत्ता नागरिकको संख्या वृद्धि हुनु चिन्ताको विषय बनेको छ । वेपत्ताका कारणहरुमा घरायसी मनमुटाव, झगडा समेत रहेका छन् । वेपत्ताको कारण पहिल्याई समाजमा शान्ति, सुरक्षा, मैत्रीभाव, सद्भाव स्थापना गर्न सामाजिक अन्तरक्रियात्मक कार्यक्रमहरु अगाडि बढाउनुपर्ने देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *