साताको तस्वीर : बाँकेको गाभर भ्याली !

सरकारले ग्रामिण क्षेत्रमा आन्तरिक एवं वाह्य पर्यटकलाई लक्षित गरी ल्याएकोे होमस्टेको अवधारणाले ग्रामिण क्षेत्रमा पर्यटकीय आकर्षण बढ्नुका साथै त्यहाँका ग्राणिणवासीको आर्थिक रुपान्तरणमा उल्येख्य सुधार आएको देख्न सकिन्छ । नेपालका विभिन्न ग्रामिण क्षेत्रहरुमा पछिल्लो समय होमस्टेको प्रचलन ह्वात्तै बढेको पनि छ । ग्रामिण क्षेत्रमा बसोवास गर्ने विभिन्न जातजातिको परम्परा, संस्कृति, संस्कार, भेषभूषा, रहनसहन, खानपिन लगायत त्यहाँको प्राकृतिक सौन्दर्यको अवलोकन गर्ने हेतुले पनि होमस्टे आकर्षक गन्तव्य बनेको हो ।

होमस्टे भन्दा साथ स्थानीय जात जातिको पारम्परिक खानाका परिकारहरुको स्वाद लिन पाईने स्थान अर्थात अर्गानिक विशुद्ध लोकल खानाका परिकार र परम्परागत आवासको अनुभव लिने स्थान भन्ने बुझिन्छ ।

प्रशंग, बाँके जिल्लाको नमुना थारु गाउँ होमस्टे गाभर भ्यालीको हो । नेपालगन्ज डाउन टाउन देखी गाडीमा करीब एक घण्टाको दूरीमा पर्ने गाभर भ्यालीमा रहेको नमूना थारु गाउँ होमस्टे, थारु जातिको स्वागत सत्कार एवं स्वादिष्ट परिकारका लागि आकर्षक गन्तव्य बनेको छ । यो नमुना थारु गाउँ बाँके जिल्लाको बैजनाथ गाउपालिका १ गाभर भ्यालीमा रहेको छ । यस भ्यालीमा पुग्न कोहलपुर सुर्खेत सडक देखी करीव दुई किलोमिटर भित्र कच्ची र साँघुरो सडक हुँदै जानु पर्छ ।

माथी सडकबाट नियाल्दा त्यस होमस्टेमा कुनै चहल पहल थिएन । सडक छेउमा एक युवक र तीन जना युवतीहरु बसिरहेका थिए । उनिहरुले होमस्टेका बारेमा अनभिज्ञता जनाए । लाग्थ्यो उनिहरु आफनै सुरतालमा रमाउदै थिए । एक युवतीको शिर छोपिने गरी कपडाले ढाकिएको थियो । उनले भित्रमित्रै केहि खाँदै थिईन् । अर्को युगल जोडी कानेखुसी गरिरहेका थिए ।

आई हालियो जाउँ हेरेर फर्कौँला भन्दै हामी गाडीबाट ओर्लियौँ । खरले छानो छाएका तीन वटा छाप्रा थिए, सबै खाली । बीचको छाप्रामा गएर बस्यौँ, एक पातली युवती आएर सोधिन, ‘के खानु हुन्छ ?’

‘थारु जातिको सबभन्दा मिठो परिकार के हो ?’ हामीले प्रति प्रश्न ग-यौँ ।

‘चामल, फापर, गाजर, कोदो आदिको पीठोबाट बनाएको ढिक्री, भाँगो र आलुको अचार, लोकल कुखुराको मासु सबै हो ।’ उनले भनिन् ।

‘ढिक्रीमा कुन मिठो हुन्छ ?’

‘चामलको पीठोबाट बनेको ढिक्री नै धेरैले रुचाउछन् ।’

‘पहिले अचार नै ल्याउनुस, त्यसपछी चामलको ढिक्री र लोकल कुखुराको मासु है…’

केहि समय पछी उनले दुनोमा भाँगो दलेको आलुको अचार लिएर आईन् । हामीले अचारको चाना मुखमा के हालेका थियौँ सबैको मुखबाट एउटै शव्द निस्कियो, ‘कति मीठो, कति टेस्टी ….!’ बागलुङमा खाए जस्तै भाँगो दलेको आलुको अचार भन्दा कम छैन…।’

आलु र भाँगोको अचारको स्वादमा रमेका हामीले ती युवतीलाई सोध्यौँ, ‘तपाईको नाम के हो ?’

उनले भनिन, ‘कमला थारु ।’

‘कति भयो यो होमस्टे सन्चालनमा ल्याएको ?’

‘६ महिना जति हुन लाग्यो ।’

‘पाहुनाहरु कत्तिको आउनु हुन्छ ?’

‘ठीक ठीकै छ ।’

‘होमस्टेको पैसा कति लिनुहुन्छ ?’

‘एक दिनको पाँच सय….’

त्यत्तिकैमा त्यहाँ एक गाडीमा पाँच छ जना पाहुनाहरु आएपछी कमला उतातिर लागिन….

छाप्रोमा गर्मी थियो, हामी बाहिर निस्किएर त्यहिँ नजिकै रहेको अस्ट्रिज फर्म हेयौँ र आँपको रुख मुनी गएर बस्यौँ ।

केहि बेर पछी ढिक्री, लोकल कुखुराको मासु, भाँगो दलेको आलुको अचार र भुजा लिएर एक बालक आए । हामी त्यहिँ आँपको रुखमुनीको चौतारीमा बसेर खान सुरु गयौँ । न चिल्लो न कुनै मरमसला दलेको विशुद्ध चामलको पीठोबाट बनेको ढिक्री स्वस्थ्यकर त थियो नै मीठो पनि त्यत्ति कै । लोकल कुखुराको मासुको टेस्ट पाँचतारे होटेल पाईने कुनैपनि परिकारको भन्दा कम थिएन अनि लोकल कुखुराको मासुको रसमा भुजा भिजाएर खाँदाको स्वाद त बखान गरेर सकिदैन ।

होमस्टेको अनुभव लिन त हामी गएका थिएनौँ, तर त्यस होमस्टेमा बनेका परिकारहरुको स्वाद भने कहिल्यै नबिर्सने गरी फर्कियौँ ।

स्थानीय व्यन्जन (लोकल अर्गानिक परिकार) को स्वाद चाख्ने चाहना र विश्वासले आन्तरिक एवं बाह्य पर्यटकहरु अमुक होमस्टेको भ्रमण वा अबलोकनको लागि पुग्छन त्यहाँ सामान्यतया शहरी क्षेत्रका होटेलहरुमा उपलव्ध हुने परिकारहरुनै परोसिने हुँदा धेरैलाई चित्त नबुझेको भनाईहरु पनि बाहिर आउने नगरेको होईन । ‘होमस्टे’को बुझाईमा, चिकन चिल्ली, रोस्ट, चिकेन फ्राईड राइस आदि परिकार आउदैनन् त्यो पक्कै हो । त्यसैले होमस्टे सन्चालकहरुले यस तर्फ विशेष ध्यान दिनु जरुरी देखिन्छ ।

तस्वीर- तिर्थेन्द्र खड्का, विनिता खड्का, स्मृति जीसी ।
नेपालगन्ज ।
२०७४ भदौ १५ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *