बागलुङको बहुचर्चित ‘रुपा गौतम हत्या काण्ड’ : तीन वर्ष बितिसक्दा’नि उहीँको उहीँ !

बागलुङ २०७४ भदौ १२ । ‘….त्यो दिन (२०७१ भदौ १२ गते) नारीहरुको महान पर्व हरितालिका तीजको दिन थियो । भनिन्छ, सिगाना गाविस घर भै बिहुँ दोविल्लामा सानो तिनो बन्दव्यापार गर्ने ३६ वर्षकी रुपा गौतम तीजको दर खाएर माइत (पर्वतको पाङ न्वार) बाट घर दोबिल्ला तर्फ फर्कदै थिईन् । सबैसंग हेलमेल गर्ने हँसिली स्वभावकी रुपा मालढुंगा देखीनै मोटरसाईकलको लिफट मागेर दोविल्ला सम्म पुग्ने सूरमा थिईन, त्यसैले चिनजानका साथीहरुलाई उनले फोन सम्पर्क गर्दै थिईन् । उनी बागलुङ बजारमा आईपुगिन, त्यहाँपनि उनले चिनजानका मित्रहरुलाई दोबिल्ला पुराईदिन सहयोग मागिन, तर दुर्भाग्य भनौँ उनको अनुरोध कसैले सुनेन अथवा उनलाई गन्तव्यसम्म पुराईदिने कोहि मिलेनन् । सवारी साधन नपाएपनि उनी पैदल बाटो नगएर माथिल्लो मोटरबाटो बाटै गन्तव्य तिर लागिन, सडकमा भेटिने कुनैपनि सवारी साधनमा लिफट मागेर गन्तव्यसम्म पुग्ने विश्वासका साथ ।

सडकमा भेटिएका एक जीपसंग उनले लिफट मागिन् तर त्यो जीपको गन्तव्य दोविल्ला नभएर अन्यत्रै रहेछ । उनी मोटर बाटोबाट अगाडी बढ्दै थिईन् उनलाई बाटोमा भेट्ने वा देख्ने ईष्टमित्रहरुले सोधेका थिए, ‘किन तनि एक्ले हिँडेको ?’ उनको एउटै जवाफ हुन्थ्यो, ‘कुनै सवारी साधन पाईएला नि, नभए हिँडेरै दोविल्ला पुग्छु ।’

तर रुपालाई दोबिल्ला पुग्न दैवले दिएन । उनी बागलुङ नगरपालिका ५ बोक्से गैरा भन्ने ठाउँसम्म पुग्दा नपुग्दै उनको ईहलिला समाप्त भयो, उनको नृशंस हत्या भयो , एक अति क्रुर निर्दयी पापीले निर्ममतापूर्वक उनको गर्दनमा खुकुरी (धारिलो हतियार) प्रहार गरी जमीनमा ढलायो, अनि उनी उठिनन् उनलाई आहार गुहार दिने कोहि भएनन् ।

सामान्य व्यापार व्यवसायबाट पति राम प्रसाद गौतम र तीन सन्तानको पालन पोषण गरेर जीवन गुजारा गर्दै आएकी एक अधवैँशे महिलाको यति निर्मम, नृशंस, हृदयविदारक तरिकाले साँझ पर्न नपाउँदै मुल सडकमा विभत्स हत्या कस्ले किन ग-यो ? अहिले यहि प्रश्न सबैको दिल-दिमागमा उठिरहेको छ । चौतारीमा भारी विसाउदा होस् या चियापसलमा जलपान गर्दा, बाहिर हिँडडुल गर्दा या बजारमा किनमेल गर्दा किन नहोस दुई जना भेटियो कि कुरा उनै अभागिनी रुपाकै विषयमा हुन्छ । बाल बच्चा देखी बुढापाका सम्म, गोष्ठी-अन्तरक्रिया देखी बन्दसत्र सम्म, विद्यालय देखी घरका चुला चौका सम्म, पानी-पँधेरा, पाटी-पौवा, घाँसपात, परिम जाँदा किन नहोस् जहाँपनि कुरा रुपाकै हुन्छन्, ‘कुन पापीले मारे होला ?’ प्रश्न यहि उठ्छ । वीस दिन पुग्दा सम्म यो घटना मानस पटलबाट बिलाएको छैन । नबिलाउला पनि, किनकि मेरो र तेरोको मात्र नभएर आम जनताको सुरक्षासंग जोडिएको छ, यो प्रश्न ।

रुपा गौतमको हत्या पूर्व रिसइवी, आर्थिक लेनदेन, लुटपाट वा अन्य के कारणबाट भएको हो भन्ने कौतुहलता सबैमा छ । यस्तो जघन्य हत्याकाण्डका अपराधी उम्किन्छन् कि भन्ने आशंकापनि सबैको छ । पीडित परिवार, महिला अधिकारकर्मी, कानून व्यवसायी, राजनीतिक दलका प्रतिनिधीहरु, नागरिक समाज सबै हत्याको शिघ्राती शिघ्र अनुसन्धान गरी हत्यारालाई कानूनको कठघरमा उभ्याईयोस भन्दै प्रहरीलाई दबाब दिईरहेका छन् ।

उता प्रहरी यस विभत्स हत्या काण्डको अनुसन्धानमा गम्भीरतापूर्वक लागेको बताईरहेको छ । अपराध अनुसन्धानमा कुनै कसर बाँकी नराखी अपराधी पत्ता लगाउने प्रतिवद्धताका साथ सबैसंग अनुसन्धानमा सघाउन आग्रह गरिरहेको छ । प्रहरीले सबै पाटोबाट यस हत्या काण्डकोे गम्भीरताका साथ अनुसन्धान गरिरहेको छ र सबै बाटोबाट अपराधी सम्म पुग्न खोजिरहेको छ ।

… यो सनसनीपूर्ण हत्याकाण्ड बागलुङ जिल्लामा मात्र नभएर राष्ट्रियरुपमै चासोको विषय बनेको छ । विडम्वना यहि हो कि, घटनाको वीस दिन पुग्न लाग्दापनि अपराधी पत्ता लाग्न सकेको छैन ।

…रुपा गौतमको हत्याको प्रयोजन र हत्याराको विषयमा केहि खुल्न आएको छैन । के कति कारणले रुपाको हत्या कस्ले ग-यो भन्ने बारेमा धेरै तर्क (चर्चा)हरु बाहिर आएका छन् । हत्याको प्रकृतिलाई नियाल्दा कुनै ठुलो रिसइवीका कारण अपराधीले प्रतिशोध लिन रुपाको अतिनै निर्दयतापूर्व हत्या गरेको हुनसक्छ भन्ने तर्क एकातिर गरिन्छ त अर्कोतिर व्यापारी महिला भएकीले साथमा निकै रकमहुने विश्वासमा लुटपाट गर्ने उद्देश्यले उनको हत्या गरिएको हुन सक्छ भन्ने तर्क गरिन्छ । तर्क त लागुऔषधका दुव्र्यसनी (ट्यापे)हरुले यो घटनालाई अन्जाम दिएका हुन्कि भन्नेपनि छ । श्रीमान श्रीमतीवीचको सम्वन्ध, पसलमा आउने ग्राहकहरुसंगको तीतो मीठो, आर्थिक लेनदेन पनि हत्याको कारण हुन सक्छ । तर्कहरु धेरै छन । यिनै तर्कहरुलाई केलाउदै, पन्छाउदै र पछ्याउदै बास्तविक अपराधीको नजिक पुग्नुपर्ने स्थिति रहेको छ ।

हत्याको प्रकृति हेर्दा, अर्को अर्थमा भनौ, जसरी मृतकको गर्दन नजिक दाहिने फिर्पातोमा अति नै क्रुर र निर्दयतापूर्वक खुकुरी प्रहार गरिएको छ त्यस्को जड धनमाल लुट्ने भन्दा कुनै पूर्व रिसइवी हो । तर त्योे रिसइवी के थियो त ? यो गम्भीर र जटिल प्रश्नको जवाफपनि भेटिदैन । कसैसंग केहि रिसईवी, आर्थिक लेनदेनका हरहिसाव केहि थियो कि भन्ने विषयमा मृतकका परिवार खुलेर बोलेका छैनन् । समाचार श्रोतका अनुसार उनिहरुले प्रहरी समक्ष किटानी जाहेरी वा उजुरी दिएको अवस्थापनि छैन ।

हत्याको अर्को कारण धनमाल लुटपाट हुनसक्ने आशंका प्रबल छ । रुपा बागलुङ बजारदेखी दोविल्ला फर्कने क्रममा धौलागिरी वीरन्द्र उमावि नजिकै रहेको खानेपानी टंकी आसपासमा बसेका केहि मानिहरुमध्य एक जना उनको पिछा गर्दै गएकोे कसैले देखेको प्रशंगपनि चर्चामा छ । केहि कदमको अन्तरालमा रहेको उक्त अमुक व्यक्तिले एकान्त ठाउँ फेलापारेपछी रुपासंग भएको धनमाल लुट्ने क्रममा उनको हत्या गरिएको अनुमान पनि छ । तर मृतक रुपाको नाक कानका गरगहना यथास्थानमै छन्, घडी हातमै छ । उनको झोला व्यागमा ४ सय ७०/७५ रुपयाँ मौजूद छ । मोबाईल शवको केहि पर रहेको छ । उनको घाँटीको सिक्री र हातको औँठी नभएको पारिवारिक श्रोतको भनाई छ । हाल आएर उनको साथमा रहेको १ लाख ४० हजार रुपयाँ पनि लुटिएको आफन्तले भनेका छन् । रकम के प्रयोजनका निम्ति उनले साथैमा लिएर हिँडेकी थिईन, माइतीबाट लिएर आएकी थिईन कि उनलाई कसैले बाटोमा दिएको थियो या माईती जाने बेलैमा रुपाले सो रकम साथमा लगेकी थिईन् त्यो खोतलिई सकेको अवस्था छैन । तीजको दिन माइतबाट घर तिर फर्कदै गरेकी मृतक रुपाको पहिरन साधारण छ, कुर्ता सुरुवाल ! तीजको अवसरमा महिलाहरुले लगाउने रातो साडी र सुनका गरगहनाको चडक भडक उनको शरीरमा छैन ।

सामान्यत, मृतकको दाहिने घाँटीमा देखिएको गम्भीर चोटको प्रकृति हेर्दा अपराधीले उनलाई पछिल्तिरबाट प्रहार गरेको हुनुपर्छ । मृतक रुपालाई कसैले आफनो पिछा गरेको आभाष भएपछी उनले फर्केर हेरेकी छन् र उस्लाई चिनेकी छिन् । संभावित खतरालाई बुझेर हतार हतार पाईला बढाउदै उनले कसैलाई (श्रीमानलाई) फोन गरेकी छन्, त्यहि मौकामा अपराधीले उनको दाहिने घाँटीको फिर्पातामा खुकुरी प्रहार गरी भुँईमा ढलाएको छ । मोबाईल शव भन्दा केहि पर हुत्तिनु, झोला शवको आडैमा रहनु, खुट्टाका चप्पल अलिकती फर्केको अवस्थामा खुट्टैमा हुनु आदि प्रकतिले यसै कुरालाई ईँगित गरिरहेको छ । खासगरी प्रहरीले बरामद गरेको मृतकको मोबाईलको कल रिकर्डबाट पनि सत्यतथ्यको नजीक पुग्न सघाउ पुग्नुपर्छ ।…’
***
माथि उल्लेखित समाचार (विवरण) रुपा गौतमको हत्या भएको १९ दिन पछी धौलाश्री डेस्कले तयार गरी गम्भीर चिन्ताको विषय बन्यो रुपा गौतम हत्याकाण्ड ! शिर्षकमा २०७१ भदौ ३० गते प्रकाशित समाचारको अंश हो ।

झट्ट हेर्दा उहि २०७१ साल भदौ ३० गतेकै स्थितिमा देखिन्छ यस सनसनीपूर्ण हत्याकाण्डको प्रगति । प्रहरीले केन्द्रिय अनुसन्धान व्यूरो समेतबाट यस घटनाको व्यापक छानबिन र अनुसन्धान भए पनि हत्याराको पहिचान हुन नसक्नुले जनतामा हत्यारा पत्ता लाग्ने विश्वासमा कमी आएको हो ।

आज २०७४ साल भदौ १२ गते रुपा गौतमको हत्या भएको तीन वर्ष पूरा भएर चार वर्ष सुरु हुँदैछ तर उनलाई मार्ने हत्यारा वा मतियाराहरु समक्ष प्रहरी पुगिसकेको अवस्था छैन । अनुसन्धान भैरहेको छ, छानविन भैरहेको छ… आदि रेडिमेड जवाफ आउने गर्छ सरोकारवाला निकाय वा व्यक्तिहरुबाट । नागरिक समाज, पत्रकार स्थानीय समाज यहि जवाफ सुनेर वाक्क दिक्क छन् । ‘कहाँ निर चुक्यो प्रहरी र गौतमका हत्यारा खुलेआम हिँडिरहेका छन् ?’ जनतामा सुरक्षाको भावना जागृत गर्न सम्पूर्ण संयन्त्र परिचालन गरी रुपाका हत्यारा समक्ष पुग्नु पर्छ प्रहरी । कि,’बाह्र वर्षपछी पाप धुरीबाट कराउँछ’ भन्ने नेपालीको उखान जस्तै रुपाका हत्यारा र मतियारहरुको पाप कुर्लेको हेर्न बाह्र वर्ष कुर्नै पर्ने हो… !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *