Sorry, that menu does not exist.
 

आफनै भेष र भाषा, आफनै कला र संस्कृतिको पहिचान : निसीको माघी मेला !

राम सुवेदी

जिल्लाको सुदुर पश्चिममा पर्ने निसी गाउँ विकास समिति विविध कला सुंस्कृतिको धनी गाविस हो । यहाँका स्थानीयको आफ्नै खाम भाषा छ । भाषा सँगै कला र संस्कृति पनि अनेक छ । त्यहाँ विषेश गरि मगर जातिको बसाई बाक्लो छ, त्यससँगै दलित समुदाय सँगै अन्य जातिहरुको पनि मिश्रण बसोवास रहँदै आएको छ । उनीहरु वर्ष भरिका विभिन्न पर्व र चाडहरुमा विभिन्न कला र संस्कृतिको प्रदर्शन सँगै आफ्ना संस्कृतहरुमा रमाउने गर्दछन् । आफ्नै भाषा, आफ्नै कला संस्कृती र आफ्नै पहिचान कायम राख्दै आएका छन् ।

ऐतिहासिक महत्वको पुतली नाच :

पुतली नाच अंग्रेजहरुसँग लडाई जितेपछि विजयी उत्सव मनाउने क्रमबाट थालिएको हो भन्ने त्यहाँका पाका मान्छे लालसिंहले भन्ने गरेको स्थानीय ७० वर्षिय अनवीर घर्तीले बताउँछन् । राजा रानीको मुर्ति जस्तै माटोको पुतली बनाईने, पुतलीको स्वरुपमा रंगी विरंगी भेषभुसामा पुतली वनेर पुराना जमानामा हुने शैन्य शैलीमा तरवार नाच नाच्ने, हातमा भाला, खुँडा लिएर ढाल सहित नृत्य पर्दशन गर्ने पुतली नाचको दृश्यले देखाउँछ । यसलाई कहिलेबाट सुरुचारु गरियो भन्ने विषयमा उनीहरुलाई एकिन तिथि थाहा छैन तर यत्ति थाहा छ कि आफ्ना पुर्खाले गर्दै आएको परम्परा, रिति र संस्कार भएकाले यसलाई निरन्तरता दिईदै आएको भनाई व्यक्त गर्छन ।

पुतली नचाउँदा पहिला पहिला स्थानीय भाषमा ‘मागल’ गाईन्थ्यो । मागलको अर्थ कुनै राजा रैतिसँग जोडिएका भजन केतन भन्ने रहेछ । ‘मागल’ गाउँदा भगवानसँग जोडिएका कथा हाल्ने, भजन कृतन गरिने गरिन्थ्यो तर पूराना पुस्ताबाट कसैले पनि मागल नसिक्दा आजकलका पुरुताले त्यो गर्न छाडेको स्थानीय अनविर घर्ति मगरको भनाई छ । ‘मागल’ नगाएपछि पुतली बनाएर दिनभर डोलीमा चढाई पुतली नाचसँगै काँधमा बोकेर डुलाईने र नजिको तिन दोभान स्थित नदीमा लगेर उक्त पुतलीलाई बन्दुकले हानेर त्यही विसर्जन गरिने प्रचलन छ ।

पुराना र पाका मान्छे लालसिंहका अनुसार घर्ति मुख्य, चन्द्र मुख्य, सहतल मुख्य हरुले आफ्नो राज्य चलाउँदै गर्दादेखि मान्दै आइएको परम्परा रहेको बताए । उनका अनसार पुराना राजा बीरमान राजा र रानी बनाईने गरिएको, घर्ति मुख्यहरुले काठमाण्डौबाट उक्त देवता लिएर आएको बताउँछन् । त्यसै संझनामा आजकल पनि राजाको ठाउँमा पुरसुङ र रानीको ठाउँमा माउ भनेर पु्तली बनाउने गरिएको बताईन्छ ।

घर्तिका अनुसार कुनै जमानामा बनाईने पुतली राति ‘मागल’ गाउँदै गर्दा आफै हर फर्कने गरे पछि यहाँ कुनै दैवि शक्ति छ भन्ने प्रमाणित हुने गरेको भनाई छ । उनका अनुसार डोलीमा बोकिने उक्त पुतलीलाई पहिले पहिले चेली बेटीहरुले बोक्ने गर्दथे तर आजकल युवाहरुले पनि बोक्ने गरेको भनाई छ ।

यो परम्परालाई भल्कोट भन्ने स्थानमा चामदारी राजाले यो संस्कार चलाएको भन्ने त्यहाँका पाका मान्छेले भन्दै आएको स्थानीयको भनाई छ । मगरात क्षेत्रको भुरे टाकुरे राज्य चलाउँदै आएका त्यहाँका राजा रामजाली मगर र हजारे साहु अनी घर्ति महाजनसँगै उक्त देवताको संरक्षण गर्दै आएको, देवता खुसी पर्न गाउँमा बाजा बजाउने दमाई नभएकाले पित्ले दमाईको शाखा लिएर परम्परा लालसिंह घर्तिको भनाई छ ।

तरवार नाँच तथा पट्टा खेलाई:

हातमा कसैको तरवार छ, कसैको हातमा तरवारको जस्ता आकारका काठ छन् । अन्य समयमा भन्दा फरक धुनमा बाजा बजेको हुन्छ, त्यही बाजाको तालमा ग्राउण्डको दुई छेउँबाट दुई जनाले बाजाको तालमा तरवार नचाउँछन् । अनी एक आपसमा लडाई गरेको जस्तो गरि तरवार वा खुँडालाई ठोक्याएर नाच्ने गरिन्छ । यसलाई तरवार नाच भनिन्छ । त्यस्तै हातमा भएका तरवार खुँडा र काठलाई हातमा समाएर बाजाको तालमा गहुँवारीमा गोल घेरा बनाएर नाचिने नृत्यलाई पट्टा खेलेको पनि भनिदो रहेछ । त्यससँगै रैगी विरंगी रुपमा फरक पोशाकमा सजिएकाहरुलाई पुतली नाचका नृत्यकार पनि भनिदो रहेछ । तरवार नाच, पट्टा खेल्ने र पुतली नाच देखाउने सबैकाम उनीहरुनै गर्दछन् । यो नृत्यमा पाका मान्छेहरुदेखि अधवैसै युवा अनी भर्खरका वालकहरु समेत नाच्ने गर्दछन् । त्यहाँका स्थानीय घर्ति, बुढाथोकी, रामजाली मगरहरु तथा दलित सम्ुदाय समेत एकै साथ उक्त नृत्यमा सहभागीता जनाउँछन् । उक्त नृत्यमा राजा रानी बनाईएको पुतली जस्लाई खोलामा सेलाउने भनिएको छ, त्यो डोली समेत नृत्य सँर्ग केही महिलाहरुले बोकोर हिँड्ने घुम्ने गर्दछन् । यो कला र संस्कृति सायद जिल्लाको नयाँ र नौलो अवश्य हो, त्यससँगै देशको कला संस्कृति भन्दा फरक पनि हुनसक्ने स्थानीयको भनाई छ ।

होरे खेल्ने तथा भालुको पित्त:

सुन्दै अचम्म लाग्ने वा कसैका लायि यस्तो पनि संस्कृति हुन्छ भन्ने हुन सक्ने फरक परम्परा र संस्कार हो यहाँको होरे खेल्ने र भालुको पित्त देखाइृने परम्परा । जिल्लाको देविस्थान गाउँ विकास समितिमा रहेको होरेसँग केही मिल्दो तर केही फरक रिति छ यहाँको होरेमा । होरे लाई स्थानीय भाषमा फागु भट्याईने पनि भनिदो रहेछ । फागु भने पछि फागुन महिनामा जंगलमा लुकेर विभिन्न अपशब्दहरु समेटिएर गाईने एक खालको गीत जस्तो हो । पहिले पहिले जंगलमा घँस काटन गएका युवा युवतीहरु ठट्यौली र रत्यौली पाराका रतिरागसँग सम्बन्धित शब्द सिर्जना गरेर गाईने गरिएको फागु माघे सक्तान्तिका अवसरमा उक्त स्थानमा सार्वजनिक स्थलमै गाईने गरिएको स्थानीयको भनाई छ ।

राजाको फागु हो, यत्रै सितले , गारो पिरो नमान …….. जस्ता शब्द देखि कतिपय सुन्न पनि साह्रै अफ्ठरा लाग्ने शब्द समायोजन भएका फागुगीत अर्थात जस्लाई होेरे गाईने भनिन्छ । त्यसलाई त्यहाँ दिनभर गाईन्छ । तर होरे पनि त्यहाँ पर्दशन गरिने पुतली नाच, त्यसँ दिन विसर्जन गरिने मुर्तिका रुपमा रहेको पुतली विसर्जन पछि गाउँ नहुने परम्परा छ । जति वेलासम्म पुतली विसर्जन गरिदैन त्यस वेलासम्म होरे गाईन्छ । होरेमा भन्नेहरुमा महिला पुरुष दुवै हुन्छन् । तर सबै आ आफ्नै तालमा देखिन्छन् ।

यसो नगर्दा के हुन्छ भन्ने प्रश्नमा स्थानीयले होरे नभट्याउने हो भने, वालीनाली राम्रो हुँदैन । पशु चौपयामा रोग लाग्ने, र दुख हुन्छ भन्ने भनाई छ अर्को होरे खेल्नाले समय अनुसार आकास बाट पानी पर्छ भन्ने मान्यता पनि छ । कति विश्वसनीय भनाई हो भन्दै त्यस दिनभरको टन्टलापुरे घामलागेको मौषम हाम्रो एक भ्रमण टोलीका लागि पनि परीक्षा हेर्ने गतिलो मौका थियो । नभन्दै जव पुतली नाच सुरु भयो, जहाँ तहीँ. युवा देखि वृधसम्मका मान्छेहरु हातमा ढ्याँङ्रो, मुठीभरी खरानी लिएर एक अर्कालाई हिर्काउँदै र मुखमा कालो मोसे दलेर हेरे भट्याँदै गरे एकाएक आकासमा कालो वादल समेत मडारिँदै गयो । हो कि ? भन्ने विश्वास लाग्दो क्षेण त्यहाँ देखियो । विभिन्न झुण्ड झुण्डमा युवाहरु होरे भटुयाउँदै थिए । त्यत्ति मात्र होईन पाका वृध देखि केही महिलाहरुले समेत होरे भट्याएको देखेर मेला हेर्न गएका मान्छेहरु अचम्म मात्र परेनन् । यस्तो पनि संस्कार हो र भन्दै प्रश्न गरिरहन्थे । जव साँझको ४ बज्नै लाग्यो विभिन्न तीन स्थानमा पुतली नचाईयो, होरे गाईयो, सँगै भालुको पित्त देखाउने भनिएको त एक जना मान्छेलाई मकुण्डा लगाएर उसको गुप्ताङ्ग दखाईने परम्परा रहेछ । तयारी अवस्थामा मकुण्डो लगाएका केही मान्छे देखिएपनि अघिल्लो वर्षमा जस्तै त्यो ‘पित्त देखाईने भनिएको संस्कृतिलाई यस पटक पर्दशन नगरिएको क्लवका सदस्य नैनासिंह घर्तिले बताए । ‘नराम्रो सन्देश जाने भएकाले यसलाई कम गर्दै जाने भनिएको छ तर पनि युवाहरुले नियमितता दिईरहेका छन् घर्तीको भनाई छ ।

मध्यपहाडी लोकमार्गले निसी गाविसलाई छिचोलेर रुकुम प्रवेश गरेपछी यहाँको जनजीवनमा आएको परिवर्तन र यसले स्थानीय सँस्कृति, भेषभुषा, खानपिन लगायतमा पारेको प्रभावले स्थानीय मेला र पर्वहरुलाई परिमार्जन गर्दै लैजान बाध्य तुल्याएको छ ।

(बागलुङ जिल्लाको सुदूर पश्चिममा अवस्थित निसी र त्यस आसपासका गाविसहरुमा बसोवास गर्ने मगर, छन्त्याल लगायत दलित जनजाति समुदायको महत्वपूर्ण चाडपर्व माघे सक्रान्तिका अवसरमा आयोजित माघी मेलाको शुक्रबार समापन भएको छ ।

स्थानीय जनजाति समुदायको कला-संस्कृति, संस्कार, परम्परा, जनजीवनलाई प्रतिनिधित्व गर्ने ऐतिहासिक महत्वको यो पर्व र यस अवसरमा स्थानीयजनव्दारा प्रस्तुत गरिने झाँकी, नृत्य, खेलकुद जस्ता कार्यक्रमलाई सालबसालीरुपमा निरन्तरता दिई रहेका यहाँका युवाहरुको प्रशंसनीय प्रयासका सम्वन्धमा इ-बागलुङका संपादक राम सुवेदीले लगातार तीन वर्षको मेला अवलोकन/अध्ययन पश्चात तयार पारेको खोजमुलक लेख (फिचर) पाठकहरु समक्ष प्रस्तुत गरिएको छ । प्रधान संपादक ।)

राम सुवेदी

फाईल तस्वीर- किरण आचार्य, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply