बागलुङका दुई साँस्कतिक धरोहर सम्मानित : ‘केराको पातमा बालेको बत्ती हजूरको नामैमा … ‘

धवलागिरी साहित्य प्रतिष्ठानले कवि मोतीराम भट्टको २५२ जयन्तीका अवसरमा स्थानीय विद्यामन्दिर पुस्तकालयमा आयोजित कार्यक्रममा विभिन्न विधाका चार श्रष्टाहरुलाई सम्मानित गरेको छ । सम्मानित व्यक्तित्वहरु मध्य धवल मोती सम्मानबाट पुरस्कृत बागलुङका दुई साँस्कतिक धरोहर कृष्णलाल शाक्य र पद्मनारायण (कुमार) श्रेष्ठपनि रहनु भएको छ ।

झण्डै सात दशक अघिदेखी बागलुङ बजारमा प्रदर्शित गरिने नाँचगानमा सक्रिय सहभागिता जनाउदै आएका जीवित दुई साँस्कृतिक धरोहरहरुलाई सम्मानित गरेर प्रतिष्ठानले जति सह्राहना गरेपनि नपुग्ने कार्य गरेको छ भन्नु अत्युक्ति हुनेछैन ।


सम्मानित व्यक्तित्व कृष्णलाल शाक्य

बागलुङमा प्रदर्शन गरिने नाँचहरुमा बद्री नरायण भारी र कृष्णलाल शाक्य (महिलाको भूमिकामा) को जोडी निकै चर्चित एवं लोकप्रिय मानिन्छ । बागलुङको साँस्कृतिक क्षेत्रमा कलाकार शाक्यको योगदान अतुलनीय रहेको छ भने रोपाई नाँचमा बाँउसेको भूमिकामा अभिनय र सटिक गीत गाउदै आएका अर्का सम्मानित कलाकार कुमार दाई (पद्म नारायण श्रेष्ठ) ले साँस्कृतिक क्षेत्रमा पुराएको योगदान प्रशंसनीय छ । त्यसोत बागलुङको साँस्कृतिक क्षेत्रमा योगदान पुराउदै आउनु भएका थुप्रै कलाकारहरु हुनुहुन्छ जो सम्मान योग्य हुनुहुन्छ । तर यहाँचाहिँ मोति जयन्तीका अवसरमा सम्मानित कलाकार कलाकारलाई लिएर चर्चा गर्ने प्रयास गरिएको छ ।

सम्मान ग्रहणपछी बोल्दै श्रद्धेय कलाकार शाक्यले बागलुङमा परम्परादेखी देखाईदै आएको नाँचगान लोपहुँदै गएकोमा साह्रै चित्त दुखाउनु भयो । अहिलेको युवा पीँढीले यसलाई निरन्तरता दिनुपर्ने उहाँले विनम्र आग्रह गरिरहनु हुँदा यस पंक्तिकारलाई उतिबेला उहाँले अभिनय गरेको केराको पातमा बालेको बत्ती हजूरको नाममा…. भन्ने बोलको गीत दृश्य संझना आयो । बाल्यकालमा देखेको त्यो नाँच त्यसबखत (यस नाँचलाई ठेट्टर भनिन्थ्यो सायद) मैलै उहाँलाई कति राम्री आईमाई भन्ठानेको थिएँ ।

जीवनको उत्तरार्धमा साँस्कृतिक धरोहरका रुपमा हाम्रा सामु उभिएर कलाकार शाक्यले विगतलाई कोट्टाउन लागिरहनु हुँदा यस पंक्तिकारलाई २७ वर्ष पहिले लेखेर धौलाश्री साप्ताहिक लगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित बागलुङमा नाँचगान शिर्षकको लेख याद आयो । यस लेखबाट श्रद्धेय कलाकार शाक्यको योगदानका साथै यहाँको नाँचगानका बारेमा थोरै भएपनि पाठकहरुलाइ जानकारी होस भन्ने हेतुले जस्ताको तस्तै पुन प्रकाशन गरेको छु । अस्तु,

बागलुङमा नाँचगान

बाईसे चौबिसे राज्यमा हालको बागलुङ बजार बागलुङ चौरको नामले पुुकारिन्थ्यो । शनैःशनैः यस चौरमा मानिसहरुको बस्ती बस्न थाल्यो । यसै अवसरमा भक्तपुरबाट नेवार समुदाय आएर यस ठाउमा बसोबास गर्न थाले । यिनै नेवार समुदायबाटै विविध सांस्कृतिक परम्पराको थालनी भयो । जनै पूर्णिमा पछि कृष्ण जन्माष्टमी सम्म गाईजात्रा महोत्सव मनाउने प्रचलनपनि नेवार समुदायबाटै भएको हो । यस पर्वमा देखाईने विभिन्न ना“च, जात्राहरुमा आजभोलि अवशेषकोरुपमा केहि ना“चहरुमात्र रहेका छन् । ‘हनुमान नाच’ (बिजोर वर्षमा प्रदर्शन हुने) यद्यपि चलिआएको पुरानो र अति सम्मानित नाच हो । अब बजारवासीसंग केही सांस्कृतिक गहना बाकी छ भने यही ‘हनुमान नाच’ नै छ, नाग नागिनजस्ता मीठा नाँचहरुको पटाक्षेप भएको छ । पहिले पहिले, यहा“ कुरा गर्दछन्, बागलुङ बजारमा देखाईन लाखे नाँच हेर्न टाढा–टाढा देखि मानिसहरु आउथे । तर दुःखको कुरा त्यस्तो लाखे ना“चको आशा कसरी गर्ने जबकी यो नाचको लागि नाच्ने मान्छे अहिले यहा धुईपत्ताल लगाएर खोजेपनि भेटिदैनन् । केहि वर्ष अघिसम्म गाईजात्राका अवसरमा बागलुङ बजारमा देखिने रमझम अहिले देखिन छोडेको छ । परम्परागत स्थानीय संस्कृति दुब्लाउदै गएको छ । जनैपूर्णिमा पछि कृष्ण जन्माष्टमीसम्म रोजाना देखाइने थरीथरीका जात्राहरु, नाचहरु र प्रहसनका कार्यक्रमहरु विरलै देख्न पाइन्छ । यस अवसरमा देखाइने तायमचा, कटुवाल, रोपाई, जोगी, घोडा र लाखे नाचहरुमा एक दुई बाहेक अरु प्रदर्शन हुन छोडेको छ ।

यसरी स्थानीय सांस्कृतिक परम्पराले निरन्तरता पाउन छोडेको करिब एक दशक काटेको छ । यसपालाको गाईजात्रामा रोपाई नाच, जोगी नाच भने देखाइयो । एक दशकपछि ८ जना कलाकारको सहभागितामा पुनरावृत्ति पाएको यो रोपाई ना“चले खासै दर्शकहरुको मन जित्न सकेन । पहिले–पहिले नारायणस्थानबाट एक टोली र टक्सारबाट एक टोली गरी गाईजात्रामा दुई टोलीले रोपाई ना“च निकाल्थे, खेताल्नीलाई नाचमा पठाईदिन नाचको एक दिन पहिले सिंगारिएका हा“स्य कलाकारहरु (कटुवाल) ले घोक हाल्थे र बजारका सडकहरु हिलाउथे । खेताल्नीहरु (महिला भेषभूषामा युवाहरु) केटा हुन् कि केटी भन्ने ठम्याउन गाह्रो पथ्र्यो । बाउसे हुने ठिटाहरु र खेताल्नीहरुले गाएको दोहोरी गीतका भाका र भाव धीतमर्दा हुन्थे ।

बाउसेः
सानोमा सानो गाईको बाच्छो वन चर्छ चर्दैन ।
धन मेरो छैन, जीउ मेरो यै हो मन पर्छ पर्दैन ।।

खेताल्नीः
कालोमा कालो बाख्राको पाठो भैरमलाई भाकेको ।
पन्ध्रमा पुगी सोह्रमा टेकें हजुरलाई ताकेको ।।

परम्परागत भेषभूषामा यस्ता सांस्कृतिक कार्यक्रमहरुमा प्रस्तुत हुन लाज मान्ने स्वभाव र यसलाई अक्षुण्ण राख्ने सोंचाई भन्दा कुनै संस्थाको नाममा पैसा बटुल्ने र संकलित रकमको दुरुपयोगका घटनाले सांस्कृतिक गतिविधिहरुप्रति जनसाधारणको अभिरुचि घट्दै गएको छ ।

गाईजात्राको पर्व समाप्त भएपछि दशैं तिहारसम्म बजारमा नाटक वा लिला मञ्चन गरिने चलन थियो । विक्रम सम्वत १९७६ मा बागलुङमा ‘जन्मजय लिला’ (नाटक) को प्रदर्शन भएको थियो भनेको सुन्दा यहाको वर्तमान परिवेशलाई हेर्दा विश्वास नलाग्न सक्छ । गुल्मी वामी टक्सारका वृषमान श्रेष्ठको सक्रियतामा सो लिला (त्यतिबेला नाटकलाई लिला भनिने रहेछ) प्रदर्शन गरिएको थियो । यस्को निम्ति हार्मोनियम बजाउन वामी टक्सारकै कान्छा साहु भन्ने शिव कुमार श्रेष्ठ र तवला बजाउन मोतीलाल चुके (चितवनका पूर्व रापस मुक्तिलाल चुकेका पिता) ल्याइएको थियो । यसै समय देखि बागलुङ बजारमा हार्मोनियम र तवलाको प्रचलन चलेको थियो । यस पूर्व यहा बजाइने बाजा गाइनेहरुले बजाउने जस्तो सारङ्गी र मादलले नै काम लिने गरिएको रहेछ ।
‘जन्मजय लिला’ को राजा जन्मजय हुने स्वयं वृषमान थिए भने मन्त्रीको अभिनय गर्ने तनहुका सिंह बहादुर श्रेष्ठ थिए । बिदुषकको पाठ स्थानीय नन्द प्रसाद श्रेष्ठ र छातेको काम वंशमान श्रेष्ठले गरेका थिए । हिन्दी भाषामा मञ्चन गरिएको यो नै पहिलो नाटक मानिएको छ ।

विक्रम सम्वत १९६४ सालमा गुल्मी समेत आठ जिल्ला मालको स्थापना बागलुङमा भएपछि यहा कार्यरत कर्मचारीहरुको पहलमा यस्ता नाँचगानका कार्यक्रमहरु हुन थालेको थियो । माल अड्डामा काम गर्ने कर्मचारीहरु मध्येका वृषमान श्रेष्ठको सक्रियतामा यो लिलाको प्रदर्शन भएको थियो । तनहुका सिंह बहादुर श्रेष्ठ पनि माल अड्डाकै कर्मचारी थिए ।

बागलुङ बजारमा नाटक विधाको थालनीमा माल अड्डाका कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेको छ । सेवाको सन्दर्भमा विभिन्न ठाउहरुबाट आएका कर्मचारीहरुले यहाका युवाहरुलाई घच्घच्याएर नाटक (लिला) प्रदर्शन गर्ने कार्य गरेका थिए ।

‘जन्मजय लिला’ पछि वि.सं. १९७६ मा ‘हरिश्चन्द्र’ नाटकको मञ्चन भयो । यो नाटक त्यसबेला यहा आएका शंकर गिरी नामका व्यक्तिको सक्रियतामा देखाइएको थियो । हिन्दी भाषाको यो नाटकको प्रदर्शन गर्न तत्कालीन माल अड्डाका हाकिम गोरखाका लाल प्रसाद श्रेष्ठले प्रत्येक बजारियासंग एकथान घरबुना कपडा (बागलुङ बजारमै बुनिने कपडा) उठाएर मञ्चको निर्माण गरेका थिए । यसको प्रदर्शन टक्सारमा भएको थियो । जुन ठाउमा अहिले प्रजिअ निवास बनेको छ । यस नाटकमा राजा हुने माहेन बहादुर श्रेष्ठ र तारामती हुने नानी बाबु वैद्य थिए भने हरि प्रसाद श्रेष्ठ, भूमेश्वर राजभण्डारी आदिले पनि प्रमुख भूमिका निभाएका थिए । यो नाटक ०२ सालमा पुनः प्रदर्शन भएको थियो र यसमा राजाको घरेलु मास्टर काठमाडौं जैसी देवलका राम बहादुर श्रेष्ठ, तारामती काशी श्रेष्ठ, रोहित श्याम सुन्दर शाक्य, विश्वामित्र तेजेन्द्र बहादुर खड्काले अभिनय गरेका थिए ।

हिन्दी भाषामै अर्को नाटक ‘इन्द्रसभा’ को प्रदर्शन १९८३ मा भयो । माल अड्डाको सक्रियतामा तयार भएको यो नाटकमा इन्द्रराजा हरि प्रसाद श्रेष्ठ, सबूज परी– रामलाल शाक्य, नीलम परी डम्मर बहादुर राभ, लाल परी–कुश्माका सूर्य प्रसाद जोशी, पुष्पराज परी– भूतभूते बलेली भन्ने डम्मर बहादुर श्रेष्ठको छोरा र गुल्फाम हुने तानसेनका विष्णु प्रसाद श्रेष्ठ थिए ।

पहिलो पटक प्रदर्शित हरिश्चन्द्रमा तारामतीको अभिनय गर्ने स्व. नानी बाबु वैद्यले मसान घाटमा गरेको बिलौनाको गीत र अभिनयको अद्यपि सह्राउदै गरेको पाइन्छ । त्यस अवस्थामा महिलाको भूमिका पनि स्वयं पुरुषहरुले गर्दथे । महिलाहरु कुनै पनि नृत्य, नाचगानमा भाग लिदैनथे ।

नाटक प्रदर्शन गर्ने क्रममा सम्वत १९९६ सालमा बागलुङ बजारमा एकै पटक दुई नाटक देखाइयो । माल अड्डाका कर्मचारीको प्रयासबाट केहि युवाहरुको सहयोगमा ‘मिसजान’ नामक हिन्दी नाटक देखाइएको थियो र बजारियाका तर्फबाट ‘ध्रुव लिला’ देखाइएको थियो । त्यस बखतदेखि तत्कालीन युवा जगतमा प्रतिस्पर्धात्मक वातावरण श्रृजना भयो ।

हाल शिव कुमार प्रधानको घर नेरको डहर र त्यहा रहेको आपको बोटदेखि स्थानीय युवा जमातमा दुई चिरा परेको थियो । नारायणस्थानको मन्दिरमा एक समूहको कृयाकलाप संचालन हुन थाल्यो भने अर्को समूहको काम माल अड्डाको पृष्ठभूमिमा राधाकृष्णको मन्दिरबाट हुन थाल्यो ।

नारायण मन्दिरको स्थापना १९८३ वैशाख १ गते अक्षय तृतीयाको दिन भएको थियो । बागलुङ बजारका टेक नारायण भारी चौतारा अड्डामा डिट्ठा भै काम गर्दा त्यहा“को प्रभाव पर्नाले उनकै सक्रियतामा यो मन्दिर निर्माण गरिएको थियो । पहिले भक्तिलाल मलेपतिले चौतारी गराई त्यसको पश्चिमपट्टि पोखरी बनाएका थिए । तौचारी अद्यपि छदैछ । पोखरी पुरी नारायणको मन्दिरको निर्माण भएको थियो । उक्त पोखरीमा प्रत्येक दशैंमा रागाहरु छोडी लडाउने प्रचलन रहेको बुढापाकाहरु बताउछन् । कालान्तरमा आएर एकथरी युवाहरुले यहि नारायणस्थान र अर्काथरी युवाहरुले टक्सार बौद्धविहारबाट नाच देखाउने प्रतिष्पर्धा सुरु भएको हो ।

यहा मञ्चन गरिएका नाटक मध्ये ‘ध्रुव लिला’ भने नेपाली भाषामा थियो । ‘ध्रुव लिला’ नाटक नै बागलुङमा देखाइएको नेपाली भाषाको पहिलो नाटक मानिन्छ । यस नाटकका कलाकारहरुमा ध्रुव हुने सइ माधव श्रेष्ठको दाजु हिरा श्रेष्ठ, राजा हुने लक्ष्मी प्रसाद श्रेष्ठ ( बांगे गुरुका बुवा), मन्त्री हुनेमा सुल्डाडा नन्दलाल श्रेष्ठ (हरि प्रसाद श्रेष्ठको बावु), सुमती हुने हरि बहादुर श्रेष्ठ, सुरुची हुने चंखजंग राभ, विष्णु भगवान हुनेमा पोखरेलीको छोरा तुलसी प्रसाद थिए । अर्कोतर्प मिसजानमा रामलाल शाक्य, नानीबाबु बैद्य, देव नर्सिंह राभ, गौश्वाराका लिला बहादुर मल्ल, काशी प्रसाद श्रेष्ठ आदि थिए ।

०७ साल अगाडि प्रदर्शित केही चर्चित नाटकहरुमा ‘सत्यवान सावित्री १९९८’ मा सत्यवान हुने अमृत प्रसाद शेरचन (पोखरा) सावित्री हुने हरि प्रसाद श्रेष्ठ, यामराज हुने जंग बहादुर श्रेष्ठ र नारद हुने हरि बहादुर श्रेष्ठ (वेथरी साहु) थिए । यो नाटक पुनः मञ्चन गरिएको थियो जसमा सत्यवान बद्रीनारायण भारी सावित्री कृष्णलाल शाक्य, यमराज विष्णु प्रसाद श्रेष्ठले अभिनय गरेका थिए ।
सम्वत २००० सालमा ‘द्रौपदी चीरहरण’ प्रदर्शित भएको थियो । त्यस्मा द्रोपदी, युधिष्ठिर, दुषाशन, भीमसेन र दुर्योधनको अभिनय क्रमशः कृष्णलाल शाक्य शान्तिपुरका झपटमान श्रेष्ठ गुप्त प्रसाद शाक्य, मंगल प्रसाद शाक्य र कान्छा भन्ने मथुरा प्रसाद दाईले गरेका थिए ।

२००३ सालतिर प्रदशित ‘नल दमयन्ती’ नाटकमा यहा घरेलुमा मास्टर भै आउने जैसी देवल काठमाडौंका राम बहादुर श्रेष्ठले रानी दमयन्ती र नारायण प्रसाद श्रेष्ठले नलको भूमिका गरेका थिए । यसका अन्य कलाकारहरुमा काशी प्रसाद श्रेष्ठ, कृष्णलाल शाक्य, श्याम सुन्दर शाक्य आदि थिए । यसैको वरपर ‘नर्सिंह अवतार’, ०४ सालमा स्वस्थानी, ०५ सालतिर अभिमन्यू र कृष्ण लिला र ०६ सालमा रामलिला प्रदर्शन भएको थियो ।

नर्सिंह अवतारमा नरेन्द्र बहादुर श्रेष्ठ, स्वस्थानीमा महादेव सतीदेवी विष्णु, इन्द, पर्वतराज, नारद र दक्षप्रजापतिको भूमिकामा क्रमशः हरि कुमार श्रेष्ठ, कृष्णलाल शाक्य, ओमकार गौचन, विष्णु प्रसाद श्रेष्ठ, युक्त प्रसाद प्रधान, गोविन्द श्याम वैद्य र हरि बहादुर श्रेष्ठले अभिनय गरेका थिए भने अभिमन्यूमा कांशी प्रसाद श्रेष्ठ, बद्री नारायण भारी, हरि कुमार श्रेष्ठ, जुठे गुरुङ, अमृत ओझा, शिव कुमार प्रधान, अश्विनी कुमार ओझा आदि कलाकारले भाग लिएका थिए ।

त्यस्तै कृष्णलिलामा टीका बहादुर मल्ल र हिरा श्रेष्ठले अभिनय गरेका थिए भने राम लिलामा काशी प्रसाद श्रेष्ठ, हरि प्रसाद श्रेष्ठ, बद्रिनारायण भारी, अमृत ओझा, यम प्रसाद श्रेष्ठले क्रमशः राम, रावण, लक्ष्मण, भरत र शत्रुघ्नको भूमिका निभाएका थिए ।
यस नाटकका अन्य कलाकारहरुमा सुर्पणखा लुठेको छोरा गंगा बहादुर रोगा, वशिष्ट ओमकार गौचन, सीता गोविन्द श्याम, कैकेयी कृष्णलाल शाक्य, कुम्भकर्ण नरेन्द्र श्रेष्ठ, माझी खड्क बहादुर श्रैष्ठ, इन्द्रजित विष्णु प्रसाद श्रेष्ठ, सुग्रीव कुल बहादुर श्रेष्ठ, बाली चन्द्र कुमार शाक्य, हनुमानको गजेन्द्र श्रेैष्ठ र जाम्बवानको बलमान शाक्यले भूमिका निभाएका थिए ।

संगीततर्फ युवावर्गमा कसरी प्रभाव पर्न गयो भन्ने तत्कालीन अवस्थाबारे स्थानीय बुढापाका संगको व्यापक छलफल र श्रुतिस्मृति अनुसार बागलुङमा एक वसन्तनाथ नामका भारतीय संगीतज्ञ आएका थिए । यिनैसंग हिरामान शाक्यले शास्त्रीय संगीतको ज्ञान सिकेका थिए भने हार्मोनियम बजाउन सिक्ने पहिलो कलाकार ग्वाली साहिंला भन्ने अमर बहादुर भारी थिए । हिरामान शाक्यले पछि शंकर गिरी स्वामी र प्यूठानबाट अंग्रेजी पढाउन ल्याइएका तामाको काम गर्ने कौ जातीका नेवार कृष्ण प्रसाद कौबाट पनि संगीतको ज्ञान लिएका थिए । तवलातर्फ मोती कुमार श्रेष्ठ, कुल बहादुर शाक्य, काशी प्रसाद श्रेष्ठ, सनक कुमार श्रेष्ठको नाम चर्चित छ ।

त्यसताका पर्दाहरु मंचमा ४,५ गोटा हुन्थे । वन पर्दा, दरबारी पर्दा, लक्ष्मी पर्दा, साधा पर्दा आदि थिए । वन पर्दा भन्ने २ किसिमको थियो पर्दा गराउने काम ठूलो बाबु (मेघ कुमार वैद्य) र नीजका भाई नानी बाबु (घनश्याम वैद्य)बाट हुन्थ्यो ।
सिंगार पटारका आवश्यक काम रत्न बहादुर श्रेष्ठले गराउ“थे । स्वयं नाटकमा भाग नलिएता पनि यिन्ले तत्कालीन नाटकलाई चाहिने भेषभूषा र अन्य सामाग्री यज्ञमान श्रेष्ठको सहयोगमा गर्थे ।

मञ्च निर्माण र सिंगारमा झक बहादुर ढकाल (कम्पनी माइला) र पान हरीको नाम उल्लेख्य छ ।

त्यसबेला राणा शासनमा नाटकहरु धेरै विचार गरेर मात्र निकाल्नु पर्दथ्यो । रामलिलामा ‘राम’लाई भगवानको रुपमा मात्रै प्रदर्शित नगरेर मर्यादा पुरुषोत्तम रामको भूमिकामा प्रस्तुतगरी राजाबाट जनतालाई गर्नुपर्ने सेवाबारे चर्चा गरिएकोले तत्कालीन प्रशासनले बन्द गराएको थियो । ‘त्यतिबेलै ‘मिस जान’ नाटक पनि बन्द गरिएको थियो ।

२००७ सालको क्रान्तिपछि पनि बागलुङ बजारमा नाचगान र नाटकको मञ्चन कार्यहरु राम्ररी नै अगाडि बढेको देखिन्छ । ०७ सालपछि नेपाली आधुनिक गीत तथा लोकगतिमा युगल नृत्य (ठेटर नाच भनिने) निकै लोकप्रिय भयो । ०८ सालतिर ‘केराको पातमा बालेको बत्ती हजुरकै नाउमा’ आधुनिक गीतमा बद्रीनारायण भारी र कृष्णलाल शाक्य (महिलाको भूमिका) को जोडी निकै चर्चित रह्यो ।

श्रवण कुमार, सती अनसुया, मनमानी, शकुन्तला, चन्द्रहास, लवकुश आदि नृश्य नाटिकाहरु यहा“ प्रदर्शन भए ।
श्रवण कुमारमा अन्धाअन्धीको भूमिका क्रमशः विष्णु प्रसाद श्रेष्ठ र आश्विनी कुमार ओझाले गरेका थिए भने दशरथको काशी प्रसाद श्रेष्ठ र श्रवण कुमारको श्याम सुन्दर शाक्यले अभिनय गरेका थिए ।

‘हिरण्य कश्यम बध’ मा हिरण्यको पोके माइला भन्ने नरेन्द्र प्रसाद श्रेष्ठ र नर्सिंह अवतारको भूमिकामा जंग बहादुर श्रेष्ठले अभिनय गरेका थिए । प्रल्हाद हुने प्रेमलाल शाक्य थिए भने गुरु हुनेमा तारा प्रसादका भाई बिजुली प्रसाद थिए ।

२०१० सालमा यहा एक हिन्दी फिल्मको अनुवाद गरी ‘मनमानी’ नामको सामाजिक नाटक मञ्चन भयो । यो नाटक प्रगतिशील नाटक संघको आयोजनामा विद्यामन्दिर हाई स्कूलमा मञ्चन गरिएको थियो । संघका अध्यक्ष शिव कुमार प्रधानको निर्देशन र गोविन्दश्याम बैद्यको सल्लाहमा मञ्चन गरिएको यो नाटकमा नायकको बद्री नारायण भारी र नायिकाको कृष्णलाल शाक्यले भूमिका निभाएका थिए । यस्का अन्य कलाकारहरुमा चाँद नारायण हुने अमृत प्रसाद ओझा, जज हुने शिव कुमार प्रधान, वेरिष्टर हुने ॐकार प्रसाद गौचन र इन्सपेक्टर हुनेमा विष्णु प्रसाद श्रेष्ठ थिए । गोविन्दश्याम वैद्यको पनि राम्रो भूमिका थियो ।

२०११ सालमा ‘सती अनुसुया’ नाटकको मञ्चन भयो । त्यस नाटकमा ब्रह्मा, विष्णु र महेश्वरको भूमिकामा बद्रीनारायण भारी, गोविन्द श्याम वैद्य र विष्णु प्रसाद श्रेष्ठ थिए । अनुसुया हुनेमा कृष्णलाल शाक्य र नारद हुनेमा सनक कुमार श्रेष्ठ थिए ।

प्रगतिशील नाटक संघकै प्रयासमा शिव कुमार प्रधानको निर्देशनमा ‘नेपाल प्रगति पथमा’ नामक नाटक देखाईएको कुरा प्रधानले बताउनु भयो । यस नाटकमा जुद्ध शम्सेरको भूमिका कुल प्रसाद श्रेष्ठले गर्नु भएको थियो भने शहीद हुनेहरुमा हरिकृष्ण मिलन, विष्णु प्रसाद शेरचन आदि थिए ।

यसैताका यहा पाल्पाका गंगा प्रसाद श्रेष्ठले हिन्दी टुरिङ सिनेमा ल्याएर हाल सूर्य प्रसाद श्रेष्ठ मिलनको घरको पछाडि खेतमा देखाएका थिए । सम्भवतः यहा फिल्म (सिनेमा) प्रदर्शन गरेको यो पहिलो चोटी हो । त्यसपछि सकुन्तला र लव कुश नाटकहरु प्रदर्शित गरिएका थिए । लव कुशमा लव र कुशको पाठ गर्नेहरुमा अकल बहादुर श्रेष्ठ र शिव कुमार प्रधान थिए । राम, सीता, लक्ष्मण र वाल्मिकी ऋषिको भूमिका निभाउनेहरुमा गजेन्द्र कुमार श्रेष्ठ, कृष्णलाल शाक्य, यम प्रसाद श्रेष्ठ र गोविन्द श्याम वैद्य थिए ।

यस्तै २०१५ सालतिर यहा मञ्चन गरिएको ‘सकुन्तला’ नाटकमा शकुन्तला भै खेल्नेमा कृष्णलाल शाक्य र कण्व ऋषिको भूमिकामा यम प्रसाद श्रेष्ठ थिए ।

तत्पश्चात बागलृङ बजारमा केहि साल यस्ता नाटक वा लिला प्रदर्शन गर्ने जमर्को सेलाएर गयो । पछि बागलुङमा महेन्द्र इन्टर कलेजको स्थापना भएपछि यस्मा कार्यरत विव्दानहरुले एकांकी नाटकहरु खेलाउने प्रयास गरे । बैकुण्ठ प्रसाद विजुक्क्ष, बालकृष्ण ‘नेभा’हरुको पहलमा केहि एकांकी नाटकहरु मञ्चन गरिएको थियो । नाटक वा एकांकीमा महिला सहभागिता २०२० साल पछि नै भएको पाईन्छ । सर्वप्रथम नारी कलाकारको रुपमा प्रस्तुत हुनेहरुमा चमेली शाक्य र पार्वती श्रेष्ठ हुन् । सिनेमाहलको निर्माण र भीडीयो र केबुल टेलिभिजन प्रवेशपछि नाटकहरु तिर स्थानीयवासीको अभिरुची पनि कम भएर गयो, फलस्वरुप बागलुडमा नाटक विधाले करिब–करिब पूर्णविराम पायो ।
***
द्रष्टव्यः बागलुड बजारका विष्णु प्रसाद श्रेष्ठ, कांशी प्रसाद श्रेष्ठ, हरि प्रसाद श्रेष्ठ, शिव कुमार प्रधान, खड्ग बहादुर श्रेष्ठ, रामलाल शाक्य, बद्री नारायण भारी, कृष्णलाल शाक्य लगायतका कलाकार एवं यस्मा रुचिराख्ने व्यक्तिहरुसंगको कुराकानी र उहाँहरुबाट प्राप्त जानकारीका आधारमा यो आलेख तयार पारिएको हो । यस लेखकलाई सल्लाह सुझाव र जानकारी दिनहुने मान्यवर व्यक्तिहरुमध्य केहिको निधन भैसकेको छ ।

केही श्रद्धेय कलाकारहरुको यथेष्ट परिचय दिने हेतु भनौं वा वास्तविक नामको जानकारी हुन नसक्नाका कारण कलाकारहरुको वातचित गर्दा समाजमा चलनचल्तीमा ल्याइने गरेका उपनाम (गाली होइन) दिइएको छ ।
बागलुङमा नाटक विधाको विकासमा योगदान गर्ने जीवीत एवं दिवंगत स्कलाकारहरुको महत्वपूर्ण योगदान रहेको छ, जस्को प्रसंशा नगरी सुखै छैन ।

***
बिदुर खडका
बागलुङ ।
२०७४ भदौ ७ ।
(पहिले, यो लेख तयार पार्दाका बखत अमूल्य जानकारी एवं सल्लाह दिएर सहयोग गर्नुहुने केहि श्रद्धेय व्यक्तिहरुको निधन भैसकेको छ ।)

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

  1. shankarjee malla

    अभिनन्दित महानुभावहरुमा मेरो पनि नमन / बिदुर दाइको ऐतिहासिक संग्रह मध्ये बाग्लुङ्ग मा नेपालि भाषामा प्रदर्शित पहिलो नाटक ” ध्रुव तारा “मा खेल्ने गौश्वाराका “टिका बहादुर ” थिए – सच्याई पाउँ / अन्यथा ठहरे ” जिउदै छु ” सहुँला बुझाउँला / बालकृष्ण नेभाको सांस्कृतिक विकासमा उपस्थिति भए पछि मंगला देवी र जगतु क्षत्री बिर्सन नहुने नाम हुन् / त्यस पछि त्यो क्षेत्रमा हाम्रो पनि उपस्थिति रहेकोले इतिहासले नबिर्सोस भन्ने चाहन्छु / हाम्रो भन्नाले त्यहाँ पनि एउटा अध्याय थपेर नामहरु स्मरण गर्नु पर्ने हुन्छ /

Leave a Reply

Your email address will not be published. Required fields are marked *