निसी-भूजीका ठाउँ ठाउँमा पहिरोको कारण सडक अवरुद्ध : आवत जावतमा समस्या !

प्रशान्त घर्तीमगर, बुर्तिवाङ २०७४ भदौ ६ । २०७३ सालको साउन महिनाको १० र ११ गते निसीभूजीका अधिकाँश भूभागहरु भीषण वर्षा र बाढी पहिरोले छियाछिया पारेको पीडाको घाउ सुकी नसक्दै यस वर्षपनि अबिरल वर्षा बाढी पहिरोले यस क्षेत्रमा ६ जनाको ज्यानै लियो भने पहिरोले सयौ मानिसलाई विस्थापित बनाएको छ । सबैजसो ग्रामिण भागका सडक भीषण वर्षा र पहिरोले अवरुद्ध गरेपछि निसी—भूजीवासीलाई आवत जावतमा समस्या परेको छ । दैवी प्रकोपले निसीभूजी क्षेत्र यतिबेला आक्रान्त छ, मर्माहत छ ।

मध्यपहाडी लोकमार्ग अन्तरगतको बुर्तिबाङ—निसी सडकखण्ड र सालझण्डी ढोरपाटन लोकमार्ग अन्तरगतको बुर्तिबाङ—बोबाङ सडकखण्ड अवरुद्ध हुँदा पश्चिम बागलुङका स्थानीयहरुलाई सास्ती व्यहोर्नु परेको छ ।

केही दिनअघिको भारी बर्षासँगै सडकखण्ड अन्तरगतका विभिन्न स्थानहरुमा पहिरो खस्नुका साथै नदीले सडक कटान गरेपछि बुर्तिबाङदेखि निसीसम्मको यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ भने बुर्तिबाङदेखि बोबाङसम्मको यातायात आंशिक रुपमा मात्र सञ्चालनमा आएको छ ।

निसीखोला गाउँपालिका अन्तरगतका अधिकांश स्थानहरुमा पहिरो खसेको छ भने कतिपय स्थानहरुमा नदीले सडक कटान गरिरहेको छ । पहिरोको कारण स्थानीयहरुलाई यातायातको सुबिधा त परै जाओस् पैदल हिँड्न र घोडा खच्चडबाट सामान ढुवानी गर्न समेत समस्या परेको छ । सडक माथिबाट खसेको पहिरोले अहिले मध्यपहाडी लोकमार्ग अन्तरगतका सेरा, खाडु, कान्छी बजार लगायतका स्थानमा ठूला पहिरो खसेको छ भने साना खहरे खोलाले समेत नराम्रोसँग सडक कटान गरेको छ ।

त्यस्तै, जुग्जाखोला नजिकै निसीखोलाले तिव्र रुपमा बाटो कटान गरिरहेको छ । अहिले मुस्किलले भित्तामा अडिएर मानिसहरु आवत जावत गरिरहेका छन् ।

उता, पहिरोको समस्या भूजीखोलाका स्थानीयहरुले पनि भोगिरहेका छन् । बुर्तिबाङ—बोबाङ सडकखण्ड अन्तरगतको उपल्लो दोगादी भन्ने स्थानमा खसेको पहिरोले बोबाङबासीहरु बुर्तिबाङ झर्नलाई पैदल हिँड्नुपरेको छ । त्यस्तै, ढोरपाटन नगरपालिका—५, प्याङखोला नजिकैको भीरमा समेत पटक पटक माथिबाट लेदो आएर सडक अवरुद्ध गर्ने गरेको छ । गाडी चालकहरु भने आफैले बाटो सफा गरेरै भएपनि जोखिमपूर्ण अवस्थामा साना सवारीका साधनहरु जिप तथा पिकअप सञ्चालन गरिरहेका छन् ।

त्यस्तै, यो सडक खण्ड विस्तारको क्रममा समेत रहेको हुँदा सडक विस्तारको लागि बाटो कटिङ गरिदा पैदलयात्रुहरुलाई समेत आवत जावतमा समस्या परेको छ । गत महिनादेखि नै बुर्तिबाङ बोबाङ सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा यहाँका स्थानीयहरुले उत्पादन गरेको कृषिजन्य पदार्थहरु बुर्तिबाङमा आयात गर्न समस्या परेको छ । जसले गर्दा बुर्तिबाङ बजारमा समेत अन्य समयमा भन्दा मानिसहरुको चहलपहल घटेको छ ।

पहिरो खसेर सडक अवरुद्ध बनेको यतिका समयसम्म पनि नगरपालिकाले सडक पुनः सञ्चालनको लागि वेवास्ता गरेको स्थानीहरुले गुनासो गरेका छन् । उता, निसीखोला गाउँपालिकाका हुल्दी, बाहुनगाउँ, खाडु लगायतका स्थानहरु पहिरोले क्षतविक्षेत भएको अवस्थामा आंशिक रुपमा भएपनि सवारीका साधनहरु सञ्चालनको लागि गाउँपालिकाले पहल गर्नुपर्ने त्यहाँका स्थानीयहरुले आग्रह गरेका छन् । स्मरणरहोस्, यस अगाडि पश्चिम बागलुङका स्थानीय निकायका जनप्रतिनीधिहरुले बर्षाको समयमा पनि कुनै हालतमा सडक अवरुद्ध हुन नदिने बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *