साताको तस्वीर : बलेवा भैरव स्थान !

आज २०७४ भदौ ६ गते, अर्थात महिनाको पहिलो मंगलबार, बागलुङ नगरपालिका- १२ साविक अमलाचौर गाविस स्थित प्रशिद्ध धार्मिक स्थल बलेवा भैरव स्थानमा भगवान भैरवको पूजा दर्शन गर्न ठुलो संख्यामा श्रद्धालुहरुको भीड लागेको छ । भदौको पहिलो मंगलवारलाई भगवान भैरवका श्रद्धालु भक्तजनहरुले विशेष दिनको रुपमा लिन्छन् ।

भगवान भैरवले भक्तहरुको दु:ख कष्टहरुको हरण गरेर बल, बुद्धि, तेज, यश, धन तथा मुक्ति प्रदान गर्छन भन्ने विश्वास गरिन्छ । बलेबा भैरवलाई श्रद्धापूर्वक स्मरण, पूजा अर्चना, भाकल गरेमा मनले चिताएको पुग्छ भन्ने विश्वास श्रद्धालुहरुमा छ ।
भैरव अर्थात भयको हरण गरेर जगतको भलो गर्ने भगवान । तीन अक्षरको ‘भैरव’ शव्दमा ब्रह्मा, विष्णु र महेश्वरको शक्ति समाहित छ । रूद्राष्टाध्याय तथा भैरव तंत्रमा उल्लेख भए अनुसार भैरव भगवान शिवका अंश वा अवतार मानिन्छन् । भैरवको रंगकालो (श्याम)हुन्छ र उनका चार भुजा (हात) जसमा त्रिशूल, खड़ग, खप्पर तथा नरमुंड धारण गरिएको हुन्छ ।

भगवान भैरवका तीन प्रमुख रुप छन्, बटुक भैरव, महाकाल भैरव र स्वर्णाकर्षण भैरव । यिनी रुपहरु मध्य भक्तहरु बटुक भैरवको सर्वाधिक पूजा गर्छन् । तन्त्रशास्त्रमा अष्ट भैरवको उल्लेख गरिएको छ, असितांग भैरव, रूद्र भैरव, चंद्र भैरव, क्रोध भैरव, उन्मत भैरव, कपाल भैरव, भीषण भैरव र संहार भैरव । भगवान भैरवको साधनामा ध्यानको बढी महत्व छ । यसैलाई ध्यानमा राखेर सात्विक, राजसिक एवं तामसिक स्वरूपहरुको ध्यान गरिन्छ ।

बलेवा भैरवस्थानमा केहि वर्ष पहिले सम्म विशेष गरी मंगलवार पूजा गरिन्थ्यो, पन्चवली चढाईन्थ्यो । मन्दिरमा पुगेका श्रद्धालुहरु दिनको ३।४ बजेसम्म पुजारीको प्रतिक्षामा रहनु पर्ने अवस्था थियो । सबै श्रद्धालुहरु जम्मा भैसकेपछी मात्र पूजारीले पूजा गरिदिने प्रचलन हाल हटेको छ । अहिले मंगलवार मात्र नभएर शनिवार र अन्य तिथीहरुमा पनि भैरवको दर्शन र पूजागर्न श्रद्धालुहरु मन्दिर पुग्ने गर्छन् । बलेवा भैरवको प्रशिद्धी बढ्दै गएपछी मन्दिरमा श्रद्धालु भक्तहरुका साथै आन्तरिक एवं वाह्य पर्यटकहरु जुनसुकै दिनमा पनि आउने गरेका छन् ।

तर भैरव मन्दिर परिसरमा आवश्यक भौतिक पूर्वाधारको विकास हुन नसकेको अवस्था छ । जति भैरवको गुणको बखान गरिने गरिन्छ, त्यत्ति मन्दिरको विकासमा सरोकारवालाहरुले चासो राखेको पाईदैन । बलेवा भैरवको शक्ति र प्रभाव चिनेका श्रद्धालुहरुको प्रवाहलाई हेर्दा सरोकारवालाहरुले मन्दिरमा सुधारगर्नु पर्ने कुरा थुप्रै रहेको देखिन्छ । मन्दिर रहेको स्थानमा समथर भूभागको कमी रहेको र दुबै तिर भीरालो जमीन भएकोले श्रद्धालुहरुको सुरक्षाका लागि तार-बारको आवश्यकता रहेको छ । बलेवा भैरव स्थानको ठेक्का लिनेले मन्दिरमा चढ्ने मुढहरुको चर्को मुल्य लिने गरेको गुनासो पुरानै हो । मन्दिर व्यवस्थापन समितिले श्रद्धालुहरमा प्रतिकूल प्रभाव नपर्ने गरी भावी कदम उठाउनु पर्ने देखिन्छ । मन्दिर र केहिमाथी रहेको कोतको अन्योन्यास्रित सम्वन्ध रहेकोले दुबैको एकै चोटी गुरुयोजना बनाएर विकास र सुधारका कार्यहरुको थालनी गर्नु अहिलको आवश्यकता रहेको छ ।

पाल्पाली राजा मनिमुकुन्द सेनका राज्यकालमा उनका भाईहरुवीच आपसी कलह बढेपछी एक भाईले पाल्पाबाट भैरवलाई ल्याएर यहाँ स्थापना गरी बसेको किंवदन्ती रहेको छ, तर यसलाई पुष्टी गर्ने कागजपत्रहरुको खोजी गर्न बाँकी नै छ । भैरव मन्दिरको केहि माथी कोत मन्दिर रहेको छ भने बडा दशैँको नवमीको दिन पूजा गरिन्छ । कोत मन्दिरमा बलि चढाईनुका साथै सराय नाँच खेलिन्छ ।

यसै कोतमा बलेवा भेगका नारायणस्थान, अमलाचौर, पैयुँपाटा, कुस्मी सेरा, रायँडाडा लगायतका ज्योतिष, भद्र भलाद्मीहरु बसेर दशैँको टीकाको साईत निकाल्ने गरिन्थ्यो र सोहि साइतमा दशैँको टीका लगाउने प्रचलन रहेको थियो ।

कोतमा वडा नवमीका दिन प्रदर्शन गरिने लोपोन्मुख ऐतिहासिक एवं धार्मिक महत्वको सराय (तरवार)नाँच को संरक्षण अति जरुरी छ । मन्दिर र कोत परिसरको समुचित विकास गरी भैरवस्थानको प्रशिद्धीलाई अझ बढी प्रकाशमा लाउने काम व्यवस्थापन समितिले गर्नु पर्छ । सबैको मुखारविन्दुमा रहेको बलेवा भैरवस्थान लाई काल भैरव नाम दिएर साईनबोर्ड झुण्डाएर मात्र पुग्दैन कि ? सरोकारवाला सबैले सोच्नु समयको आवश्यकता हो ।


फोटो संपादक किरण आचार्य
ebaglung.com

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

  1. shankarjee malla

    स्थान विशेषको परिचय दिंदा पुग्न सजिलो हुने मार्ग र तिनका अवस्था, उपलव्ध सार्वजनिक यातायात साधनहरुको बारेमा र बजार सुविधाको बारेमा पनि लेखि दिनु भए टाढाबाट जाने धर्मभिरु वा पर्यटकहरुलाई सजिलो हुने थियो /

Leave a Reply

Your email address will not be published. Required fields are marked *