प्रहरीले घुस मागेर हैरान पारे- व्यवसायी : घुस मागेको प्रमाण दिए पद त्याग्ने- प्रहरी

विजय राना, बागलुङ २०७४ भदौ ३ । धवलागिरी अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिको १९ औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशनको उद्घाटन समारोहमा यातायात व्यवसायी र प्रहरी बिच घुसलाई लिएर दोहोरी चल्यो । व्यवसायीहरुले सानो सानो कुरामा पनि प्रहरीले घुस मागेर हैरान पारेको आरोप लगाए भने प्रहरीले घुस लिएको प्रमाण देखाए पद त्याग्ने भन्दै आरोपको प्रतिकार ग-यो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका यम कुमार शाहीले आफुहरुले बुझाएको रकम दुरुपयोग गरिरहेको आरोप लगाए । आफुहरुले नियमित कर तिरेको भए पनि व्यवसायीको लगानी सुरक्षित गर्न तर्फ लाग्नुको सट्टा उल्टै घुस मागरे यातायात व्यवसायलाई धरासायी बनाउन राज्य लागि परेको दुखेसो थियो ।

जिल्ला समन्वय समिति, बागलुङका संयोजक राजेन्द्र ढुंगाना ।
शाहीले भने– प्रहरीले सुरुमा २ हजार माग्छन् त्यस पछि १५ सय त्यो पनि छैन भने पछि १ हजार भए पनि हुन्छ, उनीहरुको यस्तो क्रियाकलापले यातायात व्यवसायीलाई अत्यन्त हतोत्साही बनाउने काम गरेको छ ।

कार्यक्रममा व्यवसायीहरु नेपाल यातायात व्यवसायी महासंघका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, केन्द्रिय सदस्य केशव अधिकारी, धवलागिरी अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिका संस्थापक सदस्य कुलराज गुरुङ, सल्लाहकार शिव प्रसाद सुवेदी लगायतले शुभकामना मंतव्य व्यक्त दिँदै प्रहरीले यातायात व्यवसायीबाट अनाधिकृत रुपमा पैसा माग्ने गरेको आरोप लगाउदै सानो–सानो कुरामा प्रहरीले घुस मागेर हैरान पारेको बताए ।

विशिष्ट अतिथिको आसनबाट बोल्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङ्गले यातायात व्यवसायीहरुले लगाएको प्रहरीले घुस माग्छन भन्ने आरोपको कडारुपमा प्रतिकार गर्दै आफुले घुस नमागेको, मागेको कुनै प्रमाण दिए आफुले पद त्याग गर्ने बताए ।

आक्रोशित मुद्रामा रहेका प्रहरी उपरीक्षक खापुङ्गले प्रहरीले घुस मागेको नभई यातायात व्यवसायीले घुस दिने गरेकोे बताए । कुनै घट्ना/दुर्घटना हुँदा व्यवसायीहरुले आफुलाई फाइदा हुने गरि कलम घुमाउनको लागि प्रहरीलाई घुस दिने गरेको उनको भनाइ थियो । त्यसरी घुस खाएर काम गर्ने प्रहरीलाई आफुले कार्वाही गरिसकेको पनि उनले खुलासा गरे । तर कुन प्रहरीलाई कार्बाही गरेको हो उनको नाम भने बताएनन् ।

राज्यले अख्तियार गरेको निति कार्यन्वयन गर्ने दायित्व सबैको भएको बताउँदै प्रहरी उपरीक्षक खापुङ्गले यातायात व्यवसायीले गलत गर्दा उनीहरु पनि कानुन भन्दा माथि नहुने भन्दै गल्तिको भागिदार सबै बन्नु पर्ने बताए ।

प्रमुख अतिथिका रुपमा सहभागी जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले यातायात क्षेत्रमा भएको समस्या समाधान गर्नको लागि आफुहरुले सक्दो पहल गर्ने बताउदै यातायात क्षेत्रमा भएको समस्या समाधानको लागि जनप्रतिनिधि, यातायात व्यवसायी र सुरक्षाकर्मीहरु बिच समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारी, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले शुभकामना मंतव्य व्यक्त गरेका थिए ।

धवलागिरी अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव उमेश केसीले गरेका थिए ।

अधिवेशन आइतबार सम्म चल्ने बताइएको छ । अहिले सम्म अध्यक्ष पदको लागि महासचिव उमेश केसी र पुर्व अध्यक्ष रामबहादुर खड्का आकाक्षीको रुपमा देखिएका छन् ।

यसैवीच कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कार्यालय प्रमुख महेन्द्र प्रसाद कंडेल, शाखा प्रमुख उमाकान्त शर्मा, प्रेम कुमार गुरुङ, कृष्णप्रसाद सुवेदी, सूर्यप्रसाद लामिछाने, सुरज बोसेल, अम्बिका शर्मा, रुपेन्द्र अधिकारी, कृष्णप्रसाद शर्मा रहेका छन । उहाँहरुलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा धवलागिरी अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणको लागि १० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना र बस व्यवसायी सञ्चालक समितिका अध्यक्ष कुमार खड्काले नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय रानालाई नगद हस्तान्तरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *