भर्चुअल क्लासमा पढ्न पाउँदा बाजुङको सरस्वती मावि कक्षा दशका विद्यार्थी दंग !

महेन्द्र केसी, पर्वत २०७४ भदौ ३ । मोदी गाउँपालिका–५ बाजुङमा रहेको सरस्वती माध्यमिक विद्यालयमा विज्ञान प्रविधि अनुसारकै कक्षा संचालन गरिएको छ । कक्षा दशलाई केन्द्र विन्दुमा राखी संचालन भएको भर्चुअल क्लासमा पढ्न पाउँदा यतिबेला कक्षा दशका विद्यार्थीहरु दंग छन् ।

काठमाडौमा शिक्षकले पढाएको पाठ, आफ्नै विद्यालयको टिभी र पर्दामा हेर्न, सुन्न र सिक्न पाउँदा विद्यार्थीहरु निकै हर्षित छन् । ६ विषय सोही माध्यमबाट पढ्दै आएका विद्यार्थीहरु यतिबेला निकै रमाइलोमानी पढिरहेका छन् ।

सरस्वती माध्यमिक विद्यालयमा भर्चुअल क्लास यहि शैक्षिक शत्र देखि शुरु भएको हो । टेलिभिजन सेट र आवश्यक उपकरण जडान गरीएको कक्षा कोठामा जब ११ बज्छ विद्यार्थीहरु सम्बन्धित विषयको पुस्तक, कपी र कलम लिएर पस्छन् ।

सानोठिमीको स्टुडियोबाट ११ बजे विषय शिक्षकले पढाउन सुरु गर्छन् । कक्षा सुरु हुनुअघि नै विद्यार्थीहरू भर्चुअल कक्षामा बस्छन् । जुन विषय हो, त्यो विषय शिक्षक पनि सँगै बस्छन् । काठमाडौंमा बसेर पढाउने शिक्षकसँग दोहोरो कुरा गर्न नमिल्ने भए पनि विद्यार्थीले आफूले नबुझेको कुरा आफ्नै विद्यालयका विषय शिक्षकलाई सोध्न सक्छन् ।

‘यसरी पूरक ज्ञान तथा सिकाइमा विविधता प्रदान गर्ने प्रयास गरिएको छ । जसको माध्यमबाट विद्यार्थीहरुलाई शिक्षक सँग दोहोरो अन्तरक्रिया गर्नको लागि टेवा पुगेको विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेलले बताए । उनले ‘शिक्षकहरूले पनि यसलाई तालिमका रूपमा उपयोग गरी आगामी दिनमा नियमित शिक्षण सिकाइ कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चैतमा सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर भर्चुअल कक्षा सुरु गरेको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ ।

सरस्वती माविका नेपाली र सामाजिक विषयका शिक्षक विमल शर्माले कक्षामा पढिसकेको पाठ फेरि भर्चुअल कक्षाबाट हेर्न पाएपछि विद्यार्थीहरूले नयाँ ढंगबाट सिक्ने अवसर पाएको बताए ।

विद्यालयका शिक्षक कृष्णप्रसाद अधिकारी भन्छन् भर्चुअल क्लासको माध्यमबाट विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि हुनेमा विश्वस्त छौ । प्रत्यक्ष देख्न, सुन्न र पढ्न पाउँने भएका कारण पनि यो प्रभावकारी हुनेमा आफूहरु विस्वस्त भएको उनी बताउँछन् । यसबाट विद्यार्थीहरुले थप ज्ञान र शिक्षकको लागि समेत फाइदा पुगेको छ ।

जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक कृष्णप्रसाद अचार्यका अनुसार शिक्षक बिदामा बसेका बेला पनि विद्यार्थीहरू त्यत्तिकै बस्नु पर्दैन । शिक्षक अनुपस्थित भएपनि भर्चुअल कक्षाबाट विद्यार्थीहरुले फाइदा लिन सक्छन् । यसले विद्यार्थीलाई थप सहयोग भएको छ, ।

मावि दरबन्दी नभएका जिल्लाका सरस्वती माध्यमिक विद्यालय बाजुङ, नवज्योति थम मावि भुकताङ्ले र जनसहयोगी मावि शंकरपोखरीमा भर्चुअल प्रविधिको माध्यमबाट क्लास संचालन भएको जानकारी दिँदै आचार्यले भने भर्चुअल क्लास संचालन भएका विद्यालयका विषय शिक्षकहरुबाट राम्रै प्रतिक्रिया आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *