अन्याय सहनुहुन्न भन्ने महिलामा चेतना बढेकै कारण सम्बन्ध बिच्छेदका घट्नामा वृद्धि : जिन्या बेलबासे

विजय राना, बागलुङ २०७४ भदौ २ । जिल्ला अदालत बागलुङका न्यायाधीश हिमलाल बेलबासेले महिला सक्षमता बढेका कारण सम्बन्ध बिच्छेदका घट्नामा वृद्धि भएको बताएका छन् । अन्याय सहनुहुन्न भन्ने महिलामा चेतना बढेकै कारण सम्बन्ध बिच्छेदका घट्नाहरु उल्लेखीय मात्रामा बढेकोे न्यायाधीश बेलबासेको भनाई थियो । शुक्रबार जिल्ला अदालतमा आयोजना गरिएको सञ्चारकर्मीहरु संगको अन्तरक्रियामा न्यायाधीश बेलबासेले यस्तो बताएका हुन् ।

रोजगारीमा आएको विविधता र वैदेशिक रोजगारीले समेत सम्बन्ध विच्छेदको घट्नामा प्रभाव पारेको बताउदै उनले भने, ‘वैदेशिक रोजगारको शिलशिलामा फेक सम्बन्ध बिच्छेद गराउनेहरु समेत बढ्दै गएको छ ।’

न्यायाधीश बेलबासेले मुद्दाका वादी/प्रतिवादीले अदालतमा बयान फेर्ने गर्दा न्याय सम्पादनमा समस्या हुने गरेको उल्लेख गर्दै पैसा लेनदेनका कारण वादी/प्रतिवादीहरुले अदालतमा आएर बयान फेर्दा न्याय सम्पादनमा जटिलता थपिएको बताए । बयान फेर्दा दोषी र निर्दोषी पत्ता लगाउन गाह्रो हुने र त्यसबाट उल्टो फैसला पनि हुन सक्ने बताउँदै उनले थाहा पाए सम्म बयान फेर्ने र झुटो बयान दिनेलाई कार्वाही गर्ने पनि बताए ।

जिल्ला अदालत बागलुङका अनुसार पछिल्लो ४ वर्षको तथ्याङ्क अनुसार बागलुङमा सबै भन्दा धेरैै सम्बन्ध विच्छेदका घट्ना दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७३/०७४ मा ४ सय ८१ मुद्दा मध्ये सबै भन्दा धेरै सम्बन्ध बिच्छेदका १ सय ३८ घट्ना दर्ता भएका छन् । त्यो दर्ता भएका जम्मा मुद्दाको २८ दशमलव ६९ प्रतिशत हो ।

सम्बन्ध बिच्छेदका १ सय ३८ मध्ये १ सय २५ मुद्दा फछ्र्यौट भएको छ भने १३ वटा मुद्दा फछर्यौट हुन बाँकी रहेका छन् ।
आर्थिक वर्ष २०७०/०७१ मा जम्मा मुद्दाको २२ दशमलव ४३ प्रतिशत सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७१/०७२ मा जम्मा दर्ता भएका ४ सय ४८ मुद्दा मध्ये सम्बन्ध बिच्छेदका १ सय ५ थिए भने आर्थिक वर्ष २०७२/७३ मा दर्ता भएका ६ सय ९४ मध्ये १ सय ३५ मुद्दा सम्बन्ध बिच्छेदका थिए तर त्यस वर्ष सबै भन्दा धेरै सार्वजनिक अपराधका १ सय ९३ वटा मुद्दा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७३/७४ मा अंश सम्बन्धी ६९, लेनदेन सम्बन्धी ६४, जालसाजी सम्बन्धी ३४, नाता कायम सम्बन्धी २५, जबरजस्ती करणी २४, कर्तव्य ज्यान १४ र सार्वजनिक अपराधका ५ गरि जम्मा ४ सय ८१ मुद्दा दर्ता भएका थिए ।
अदालतले यस वर्ष ३ सय ५० वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष लिएको छ । जम्मा पर्न सक्ने ३ सय ७३ मुद्दा मध्ये ३ सय ५० मुद्दा फछ्र्यौट गर्ने लक्ष लिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *