घरबार बिग्रिएर बनबास भएको कसैले देख्दैन

प्रदेशी दिनदिनै लाश भएको कसैले देख्दैन
रहरहरु मारेर दास भएको कसैले देख्दैन
देख्छन त केवल बैदेशिक रोजगरी र रेमिट्यान्स
घरबार बिग्रिएर बनबास भएको कसैले देख्दैन !
***
पानी परेपछी मात्र छाता खोज्छन प्राय: मान्छेहरु
समय बितेपछी मात्र राम्रो सोच्छन प्राय: मान्छेहरु
अवश्य मस्तिष्क र मुटुले सबैको काम गर्छ होला
किन नमिठो वचनको छुराले घोच्छन प्राय: मान्छेहरु !
***
मलाई छोडी अर्कै रोज्ने चाहाना थियो होला
बध्यतामा परे भन्ने केवल बाहाना थियो होला,
म त गरीब मान्छे केनै दिन सक्थेर तिमीलाई
उस्ले ल्याएको तिम्रो लागि गहना थियो होला !
***
खेतिबाली सबै खायो भन्छ्यौ आमा असिनाले
यहाँ मेरो शरिर भिज्यो आमा काम गर्दा पसिनाले
न सुखले पाल्न सके नत्र चुहिने छानो टाल्न सके
खेत बारी बाझै भयो घरमा बिदेश तिर फसिनाले !
***
रङ्गमञ्चको भित्ताहरुमा पोस्टर जस्तै टासिएको छु
जिन्दगीको उतार चडावले भित्रभित्रै भासिएको छु
यता टाल्यो त्यता फाट्छ त्यता टाल्यो उता फाट्छ
जसोतसो फाटेका टुक्रा मुटु सिलाएर गासिएको छु !

झलक काउचा,
हाल: दक्षिण कोरिया,
बागलुङ ।
२०७४ भदौ २ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *