पाँच वर्षे संझौता रद्द गरी फोहोर व्यवस्थापनको जिम्मा ‘कार्यकर्ता’लाई दिन बानपा भित्र चलखेल !

बागलुङ २०७४ भदौ २ । बागलुङ नगरपालिका, सदरमुकाम बागलुङ बजार भित्रकोे फोहोर व्यवस्थापन गर्न सहकार्य गर्दै आएको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था संगको संझौता तोडने चलखेलमा लागेको छ ।

नगरपालिका र सहकारी संस्था वीच दुई वर्ष पहिले सदरमुकामको फोहोर व्यवस्थान गर्न पाँच वर्षे संझौता भएर फोहोर व्यवस्थापन भैरहेको छ । संझौतामा प्रत्यक वर्ष नवीकरण गर्नु पर्ने प्रावधान अनुसार संस्थाले प्रत्यक साउनको १५ गते सम्ममा नवीकरणका लागि बार्षिक आयव्यय समेतको विवरण खोली नगरपालिकामा पेस गर्नु पर्ने हुन्छ । नवीकरणका लागि साउन १२ गते नै आवश्यक सबै डकुमेन्ट सहित नगरपालिकामा निवेदन दिई सकेको छ ।

हाल सहकार्य गरिरहेको संस्था संग संझौता तोडेर अरुलाई फोहोर व्यवस्थापनको जिम्मा दिने (अर्को संस्था खोज्ने) नगरपालिकाको मनसुवासंगै फोहोर व्यवस्थापन गर्दै आएको संस्थाले फोहोर नउठाउने चर्चा बाहिर आएपछी उपभोक्ताहरुले यस सम्वन्धमा चासो लिएका हुन् ।

संझौताको नवीकरणका विषयमा संस्थाका एक सदस्यसगं जानकारी लिन खोज्दा, ‘साउन महिना वितेर भदौ महिना सुरु भैसक्दा सम्मपनि संझौता नवीकरण नभएपछी नगरपालिकाको नियत प्रति आशंका पैदा भएको हुनसक्छ,’ भन्ने उनले जवाफ दिए ।

उनले भने, ‘हामीले मेयर साहेवलाई भेटेर कुरा गरेकाछौँ, भन्न त उहाँले तपाईहरुले फोहोर व्यवस्थापन कार्य राम्रो गर्नु भएको छ भन्नु हुन्छ, तर नवीकरणको सवालमा बुझदै छौँ, सल्लाहा हुँदैछ भनेर आलटाल गरिरहनु भएको छ । अनि उता भित्रभित्रै कसरी संझौता तोड्न सकिन्छ भनेर मेयर साहेबले कानूनी सल्लाहा लिईरहनु भएको छ ।’

‘नगरपालिकासंगको संझौता तोडियो भने तपाईहरुको आगामी कदम के हुन्छ ?’ भन्ने प्रश्नमा ती सदस्यको जवाफ थियो, ‘हामीले नै गरिरहनु पर्छ भन्ने छैन, नियमअनुसार मेयर साहेबहरुले जस्लाई दिएपनि हुन्छ ।’

‘संझौता नवीकरण गर्न षडयन्त्र भैरहे फोहोर व्यवस्थापन कार्य ठप्प पार्ने ( हड्ताल गर्ने) भन्ने चर्चा बाहिर आएको छ नि ?’ भन्ने प्रश्नमा उनले भने, ‘त्यो हल्ला मात्र हो, हाम्रो संस्थाले फोहोर व्यवस्थापन गर्ने जस्तो मानवीय स्वास्थ्यसंग सम्वन्धित कार्यमा यस्तो गलत प्रकृया अपनाउदैन ।’

‘संस्थाले फोहोर व्यवस्थापनको जिम्मा लिनु अघि सम्म फोहोर व्यवस्थापनमा नगरपालिकाले वार्षिक रु ६९ लाख विनियोजन गर्दै आएको थियो, हामी त भन्छौँ, यदि नगरपालिकाले फोहोर व्यवस्थापन गर्न विनियोजन गर्ने गरेको रु ६९ लाख वार्षिक बजेट संस्थालाई दिन्छ भने, संस्थाले नि:शुल्क फोहोर व्यवस्थापन गर्छ’- उनको स्पटोक्ति थियो ।

संस्थासंगको सहकार्य पछी नगरपालिकाले संस्थालाई दुई पुराना गाडी र ६ जना कर्मचारी सहयोग दिएको छ । त्यस्मा नगरपालिकाको वार्षिक रु २२ लाख र सवारी साधनको मर्मतका लागि ४ देखी ५ लाख सम्म खर्च गर्दै आएको छ, यस बाहेक फोहोर व्यवस्थापनमा अरु आर्थिक व्ययभार नगरपालिकाको छैन । नगरपालिकाले दिएको गाडीमा लाग्ने इन्धन खर्च संस्थाले नै व्यहोर्दै आएको छ ।

स्थानीय तहको निर्वाचन पछी निर्वाचित पदाधिकारीहरुले नवीकरण गर्ने समयमा हालको संस्थालाई हटाउने सोँच बनाएर नवीकरण गर्ने कार्यमा अडचन निकाली रहेको श्रोतको दाबी छ । श्रोतले भन्यो, स्थानीय तहको निर्वाचन आफुहरुलाई जिताउन सहयोग गरेका आफना कार्यकर्ताहरुलाई फोहोर व्यवस्थापनको जिम्मा दिएर भरणपोषण गर्न, तत्कालीन अवस्थामा कार्यकारी अधिकृतले गरेको संझौतलाई निर्वाचित जनप्रतिनिधीले तोड्न सकिन्छ भन्ने मानसिकताबाट यो भित्री चलखेल भैरहेको छ ।

स्मरणीय छ, नगरपालिकाले फोहोर व्यवस्थापनका लागि टेण्डर आव्हान गरेकोमा टेण्डर हालेका चार प्रतिष्पर्धीहरुमध्य धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थालाई दिने २०७२ साल फागुन १२ गते सर्वदलीय सहमतिमा निर्णय भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *