जन्माष्टमी महोत्सव सम्पन्न : भगवान श्रीकृष्णको भक्ति मानव समाजको पहिलो प्राथमिकता (सचित्र)

बागलुङ २०७४ साउन ३२ । नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन), बागलुङ शाखाव्दारा बागलुङ सदरमुकाममा आयोजित त्रीदिवसीय श्रीकृष्ण जन्माष्टमी महोत्सव आज सम्पन्न भएको छ । संघले जन्माष्टमीको पहिलो दिन बालमन्दिर भवन, दोश्रो र तेश्रो दिन संघको शिवधाराचोक स्थित सत्संग हलमा कार्यक्रमहरु गरेको थियो । कार्यक्रममा १० हजार भन्दा बढी श्रद्धालु भक्तजनको प्रत्यक्ष सहभागिता रहेको थियो । कार्यक्रमहरुमा भजन, कीर्तन , प्रवचन, सांस्कृतीक प्रस्तुती , महाभिषेक, दीपदान तथा अन्तर विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिताहरु आयोजना गरिएको थियो ।

संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी बागलुङ जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासे, विशिष्ठ अतिथीहरुमा नेपाली सेनाका वाहिनीपति, गणपति, बानपाका मेयर लगायत रहेको जनाएको छ ।

इस्कोनले जन्माष्टमी कार्यक्रम समग्र राष्ट्र तथा विश्वको हितको लागि गरिएको भन्दै भगवान श्रीकृष्णको भक्ति मानव समाजको पहिलो प्राथमिकता हुनुपर्ने बताएको छ । श्रीकृष्ण भक्ति वृक्षको जरामा पानी हाल्ने प्रकृया जस्तै भएकाले भक्तिभावयुक्त भक्तहरुले समग्र समाजसेवा पनि स्वतः गरेका हुन्छन् भन्दै इस्कोनले भविष्यमा बागलुङमा मन्दिर, हस्पिटल, विद्यालय , कृषी समुदाय लगायत दर्जनौँ सामाजिक कार्य गर्ने उद्धेश्य लिएको आयोजकले जनाएको छ ।

जन्माष्टमी अन्तराष्ट्रिय अभियान भएपनि अन्यत्रबाट आर्थिक सहयोग नहुने नीति रहेको र बागलुङ शाखाले आर्थिक लगायतका व्यवस्थापन स्थानिय तहबाटै गरिरहेको इस्कोनले बताएको छ ।

संघले जन्माष्टमी आफैमा समाज सेवाका लागि अर्थात भगवानको दिव्य आनन्दका लागि गरिएको कार्यक्रम भएको जनाएको छ । जन्माष्टमी महोत्सवका अवसरमा तराइका बाढी पीडितका लागि राहत पनि संकलन गरिएको बताउदै संस्थाले दान पेटिकामा रु।६,४४८ उठेको र त्यो पैसामा संस्थाबाट पनि केहि थप गरि राहत वितरण कार्यक्रम गर्ने तयारी भैरहेको जानकारी दिएको छ ।

संघले सम्पन्न गरेको प्रतियोगितात्मक कार्यक्रमहरु मध्य अन्तर विद्यालयस्तरीय हाँजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ सदन प्रथम, रुद्रेपिपल मावि व्दीतिय, फयूचर ब्राईटर तृतीय भएका थिए ।

कार्यक्रमका केहि तस्वीरहरु

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *