सुरुभयो प्रकृतिको अनुपम उपहार, निसेलढोरको साँस्कृतिक पर्व: ‘गाउँपूजा र कापाई नाँच !’

निसीभूजी नामले चिनिने बागलुङ जिल्लाको सुदूर पश्चिम क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण, पर्यटकीय दृष्टिकोणले रमणीय एवं भेष भूषा रहनसहन चाल चलन संस्कार संस्कृति तथा परम्पपरागत विविधताले धनी मानिन्छ । निसीभूजी क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिका आआफनै परम्परागत साँस्कृतिक चाडपर्वहरु छन् जसको आफनै महत्व र विशेषता छ ।

कापाई नाँच

प्रकृतिको अनुपम उपहार निसेलढोरमा प्रत्यक दुई-दुई वर्षमा मनाईदै आएको ‘गाउँपूजा (मेला) र कपाई नाँच’ यसक्षेत्रको साँस्कृतिक धरोहरको रुपमा लिइन्छ, जुन अहिले निसेलढोरमा सुरु भएको छ ।

यसैवीच निसीको जनसेवा युवा क्लवले आफनो पहिलो वार्षिकोत्सव गाउँ पूजाको अवसरमा विशेष प्रतियोगितात्मक खेलकूद एवं साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय लोकदोहोरी गायकहरुव्दारा सांगीतिक प्रस्तुतिको कार्यक्रम राखेकोले निसेलढोरको वातावरण नै खेलकूद एवं संगीतमय बनेको छ । कार्यक्रम भदौ १ गते उद्घाटन हुने आयोजकले बताएका छन् ।

क्लबले वार्षिकोत्सवको कार्यक्रमको शुभारम्भ गत साउन २८ गते निसी देखि निसेलढोर सम्मको म्याराथुन दौडको आयोजना गरेर गरिसकेको छ । दौडमा २५ जना युवा र १५ जना युवतीको सहभागिता रहेको थियो । यतिबेला निसेलढोर साँस्कृतिक रमझममा झुमेको छ । सुदूर पश्चिम निसेलढोरको यस साँस्कृतिक पर्वमा बागलुङको निसीभूजी क्षेत्रका मात्र नभएर रुकुम, रोल्पा, प्यूठान, गुल्मी, म्याग्दी जिल्लाहरुका मानिसहरुको जमघट देखिएकोछ ।

निसेलढोर

नबी खोला (सानो भेरी)को किनारमा रहेको यस रमणीय भूभाग निसेलहरुको ढोर उपत्यका निसेलढोर हो । यस उपत्यकामा साविक निसी गाविसका प्राय: सबै वडावासीहरुको धेरथोर जग्गा जमिन रहेको छ । जाडो याममा यहाँ निसेलहरु त्यति बसोवास गर्दैनन तर चैत बैशाख देखी असोज महिनासम्म यहाँ निसेलहरुको बाक्लो उपस्थिति रहन्छ । निसेलहरुको लेक बेसी गर्ने महत्वपूर्ण समथल भूभाग हो निसेलढोर । यति बेला निसेलहरु गाईबस्तु सहित निसेलढोर पुगेका छन् ।

प्रकृतिको अनुपम उपहार. निसेलढोर

निसेलहरु आफना गाईवस्तु, भेँडा, बाख्राको चरीचरणका लागि यहाँ आएर बस्छन् । निसेलढोर देखी माथिल्लो धुरी (बुकी) गाईबस्तु र भेँडा बाख्राकालागि पोसिलो चरण मानिन्छ । यहाँ निसेलहरु गोठ बनाएर आफना गाईबस्तु भेँडा बाख्रा चराउने गर्छन् र जाडो बढ्न थालेपछी क्रमश वेसी निसेलढोर वा गाउँ झर्छन् ।

यसरी गरिन्छ गाउँपूजा


झाँक्री

निसीका मगर जातिहरुले प्रत्यक दुई-दुई वर्षमा एक चोटी गाउँ पूजा गर्छन् । यस गाउँ पूजाको विशेष महत्व भनेको कापाई नाँच हो । साउन महिनाको अन्तिम मंगलबार राति झाँक्री बस्ने प्रचलन रहेको छ । निसेलढोरका चार दिशामा भेँडाको बली दिएर पूजा गरिन्छ र सोहि महिनाको अन्तिम दिन या मसान्त र भदौको १ गते सक्रान्ति दुई दिन मनाईने यस मेलामा कापाई नाँच गरिन्छ । बिजोड ९, ११, १३ …को संख्यामा खासगरी मगरजातिका स्थानीय युवाहरु सहभागी भएर गरिने नृत्य अत्यन्तै रामान्चकारी हुन्छ । समयको परिवर्तन संगै आजभोलि आएर अन्य जातिका युवाहरुपनि कापाई नाँचमा सहभागी हुन थालेका छन् ।

यस्तो छ, कापाईनाँच बारे श्रुतिस्मृति

मगरजातिको विशेष गाउँ पूजाका अवसरमा गरिने कापाई नाँचका बारेमा बुढापाकाहरुको भनाई या श्रुतिस्मृति यस्तो रहेको छ ।
परापूर्वकालमा गाईबस्तु भेँडाबाख्राको गोठ लिएर लेक बुकी गएका निसेलहरु बेसी झर्ने क्रममा बीचबाटोमा आईपुग्दा उनिहरुका बृद्ध जेवा जेवै स्थानीय भाषामा बाजे बज्यै हिँड्न नसके पछी त्यहिँको ओडारमा राखेर उनिहरुका लागि केहि दिनको खर्चपर्च छोडी अरु गाईबस्तु भेँडा बाख्रा लिएर बेसी झरे । केहि दिनपछी जेवा जेवैलाई खोज्न जाँदा ओडारमा नभेट्टाए पछी बाघ भालुले खायो वा मरे होलान भनी फर्किए ।

कापाई नाँचका सहभागी युवाहरु

केहि वर्षको अन्तराल पछी निसेलहरुका गाईबस्तु भेँडा बाख्राहरु बाघले खाईदिन थाल्यो । राक्षस आएर निसेलहरुलाई डराउन दिने दुखदिने गर्न थाल्यो । दिनहुँ जसो राक्षसले डराउन दिने र बाघले भेँडाबाख्रा गाईवस्तु खाई दिने गरेपछि उनिहरुले झाँक्री बसाले । झाँक्रीले ओडारमा छोडेर आएका जेवा जेवैको बेवास्ता गरेकाले उनिहरुको मृत्यु भएको र मृत्यु पछी बाघ र राक्षसको जुनी लिएर गाउँमा दु:ख दिन थालेको बताए ।

जेवा जेवैको मृतात्मालाइ शान्तपार्न निसेलढोरको चारै दिशामा भेँडाको भोगदिएर गाउँ पूजा गर्ने र भूतजस्तो बनेर प्रत्यकको घरघरमा पुगेर नाँच्ने उफ्रने लौरो बजार्ने, खरानीले फुक्ने गरेमा घरमा लुकेर बसेको भएपनि जेवा जेवैको आत्मा भाग्छ भनेर झाँक्रीले बताएपछी रोमान्चक कापाई नाँच (अर्धनग्न नाँच)को शुरुवात भएको हो ।

कपाई नाँचका सहभागी

कापाई नाँचको बारेमा स्थानीय बुढापाकाहरु भन्छन्- यो कापाई नाँचमा भाग लिने सबै मगर जातिका युवाहरु सर्वप्रथम जेवा जेवैलाई छोडेर आएको ओडारमा गएर पूजा गर्छन । तर यस पूजामा मगरजाति बाहेका अन्य जातिका मानिसहरु सहभागी हुन पाउदैनन् । ओडारबाट फर्केर आएपछी नाँचमा भागलिने सहभागीहरु प्रत्यकका घरघरमा पुग्छन् र घरका मानिसहरुले घरमा राक्षस या भूत छैन भन्दै उनिहरुलाई रक्सी मासु आदि सगुन दिएर पठाउछन् ।’

दोश्रो दिन कापाई नाँचका सहभागीहरुले नवी खोलामा हामफालेर शरीर पखाल्ने, नुहाउने गर्छन । त्यसपछी निसेलढोरका चारै दिशामा बाख्राको बली दिएर पूजा गरिन्छ । यसरी कापाई नाँच सम्पन्न हुन्छ ।
फाईल तस्वीर ।

प्रस्तुति: किरण आचार्य,
फोटो संपादक- ebaglung.com
बागलुङ २०७४ साउन ३१ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *