गल्कोट हरिचौरमा प्रदर्शन गरिएको वर्षे जात्रा सकिदै …

दिनेश खत्री गल्कोट २०७४ साउन ३० । गल्कोट हरिचौर बजारमा देखाईएको वर्षे जात्रा सकिदै छ । जिल्लाका विभिन्न स्थानमा प्राचीन कालदेखी प्रदर्शन गरिदै आएका स्थानीय नाँचहरु लोपहुँदै गैरहेको अवस्थामा गल्कोट हरिचौरमा लोकसंस्कृतिको संरक्षण गर्दै आएको हरिचौर बजार व्यवस्थापन समितिले वर्खे जात्राको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि विविध जात्रा देखाएको छ ।

आजभोलि लोक कलाकार र लोक गायकहरुलाई निम्त्याएर साउण्ड ट्राक बजाएर रिकर्डेट गीत गाउने चलन बढेपछी लोप हुँदै गएका हाम्रा साँस्कृतिक धरोहरहरुलाई हरिचौरवासीले जुन परिश्रम र आस्थाले वखेँ नाचलाई अद्यपिसम्म चालु राखेका छन त्यस्लाई संस्कृति प्रेमीहरुले सराहना गरेका छन् । वर्षे जात्रामा स्थानीय युवा युवतीलगायत सबले व्यापक सहभागिता देखाउदै आएका छन् । त्यसैकारण वर्षे जात्राले निरन्तरता पाएको स्थानीइको विश्वास छ ।

गत साउन २४ गते देखी हरिचौर बजारमा देखाउन सुरु गरिएको वर्षे जात्रामा साउन २४ गते लाखे नाँच, २५ गते गाईजात्रा, २६ गते जोगीनाँच २७ गते घोँडेजात्रा, २८ गते रोपाई जात्रा र हिँजो २९ गते बाघ जात्राको प्रदर्शन गरिएको थियो ।

जात्रामा उत्साहजनक सहभागिताले चारैतिर प्रशंसा पाएको छ । रोपाईँ जात्रमा स्थानीय युवतीहरुको सहभागित निकै आकर्षक थियो । हरिचौरको सुख्खा सडकमा युवतीहरुले बाजा र गीतको तालमा धान रोपाईँ गरेको दृश्यले सबैको हाईहाई पाएको थियो । रोपाईँ जात्रा सुरु हुनु अगाडी खेताल्नीहरुलाई बोलाउन कटुवाल जात्रा पनि निकै आकर्षक थियो ।

रोपाइँ जात्राका साथै घोँडा जात्रापनि कम आकर्षक नभएको चर्चा गल्कोट क्षेत्रमा चलेको छ । हिँजो अन्तिम दिन मन्चन गरिएको बाघ जात्राले पनि दर्शकहरुको ध्यानाकर्षण गर्न सफल रह्यो । समष्टिमा हेर्दा वर्षे जात्राले प्राचीन साँस्कृतिक पराम्पराको जगेर्ना गर्दै स्थानीयवासीलाई मनोरन्जन प्रदान गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *