निसीखोला र बडीगाड गाउपालिकाको १ हजार रोपनी जग्गामा लगाएको गाँजा प्रहरीव्दारा नष्ट !

राम सुवेदी, बुर्तिवाङ २०७४ साउन १९ । जिल्ला प्रहरी कार्यालय बागलुङ मातहतका पश्चिम क्षेत्रका इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरुले लागु औषध सचेतना कार्यक्रम अन्तर्गत लागु औषध नियन्त्रण तथा न्युनिकरणमा सक्रियता बढाएको छ । जिल्लाको पश्चिम बुर्तिबाङ स्थित इलाका प्रहरी कार्यालय बुर्तिबाङको कमाण्डमा पश्चिम क्षेत्रका विभिन्न स्थानमा गरि करिव १ हजार रोपनी जग्गामा लगाइएको गाँजा (भाँगो) खेती नष्ट गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

गत साउन ९ देखी १३ गतेसम्म जिल्लाको पश्चिम क्षेत्र निसिखोला गाउँपालिकाको भल्कोत तथा बडिगाड गाउँपालिकाको रणसिंहकिटेनीमा प्रहरीले गाँजा (भाँगो)का बोटहरु फडानी गरेर नष्ट गरेको जनाएको हो ।

ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाको नेतृत्वमा गएको टोलीले निसीखोला गाउँपलिकाको भल्कोट तथा त्यस आसपासका क्षेत्र तथा प्रहरी नायव निरीक्षक नारायण शर्माको कमाण्डमा खटिएको टोलीले बडीगाड गाउँपालिका रणसिंहकिटेनी लगायतका क्षेत्रमा लगाइएका गाँजा (भाँगो)का बोटहरु नष्ट गरेको छ ।

प्रहरी निरीक्षक कृष्ण राना सहितको ५० जनाको एक टोलीले, निसीखोला गाउँपालिका वडा नम्बर ८ क्षेत्रका भल्कोट, चेल्माहर, सर्पडाँडा, केसीखोला, धनासिंहडाँडा तथा रिवाङमा ३ सय ७० रोपनी तथा सीपमा ३०० रोपनी सार्वजनिक तथा नीजि जग्गामा लगाइएको गाँजा (भाँगो)फडानी गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

यस्तैे बडीगाड गाउँपालिका वडा नं.—८ रणसिंहकिटेनी तथा म्याग्दी जिल्लाको सीमानामा पर्ने खोलाखर्क, रानाबगर, तीनधारे र सापटमा १२० रोपनी , भेँडीखोरमा १ सय ३० रोपनी तथा बडगाड गाउँपालिकाकै—८ फोर्सा भन्ने ठाउँमा ६० रोपनी क्षेत्रफलको गाँजा फडानी गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरीक्षक नारायण शर्माले जानाकारी दिए ।

दुवै स्थानमा करिव ५०/५० जना प्रहरी टोली खटिएर लागु पदार्थ चरेस बनाउन प्रयोग हुने कच्चा पदार्थका रुपमा खेती गरिएको भाँगो अर्थात गाँजा खेती नष्ट गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

निसीखोला तर्फ खटिएको टोलीमा इलाका प्रहरी कार्यालय बुर्तिबाङको मुख्य कमाण्ड तथा इलाका प्रहरी कार्यालय झिवाखोला, प्रहरी चौकी निसी तथा जिल्ला प्रहरी कार्यालय बागलुङको टोली समावेश थियो भने, इलाका प्रहरी कार्यालय बुर्तिबाङकै अर्को कमाण्डमा खटिएको बडिगाड गाउँपालिका तर्फको टोलीमा इलाका प्रहरी कार्यालय भिमगीठे तथा प्रहरी चौकि ग्वालीचौर र जिल्ला प्रहरी कार्यालय बागलुङको टोली समावेश भएको बताइएको छ ।

निसीखोला गाउँपालिकाको निसीमा यस अघिल्लो वर्षमा पनि इलाका प्रहरी कार्यालय बुर्तिबाङकै कमाण्डमा करिव ८० रोपनी जग्गामा लगाइएको गाँजा (भाँगो)खेति नष्ट गरिएको थियो । उक्त स्थानमा अहिले गाँजा (भाँगो) खेति नगरिएको प्रहरीको भनाई छ ।

त्यस्तै पहिलोपटक बडीगाड गाउँपालिकाको रणसिंह, भेडिखोर, फोर्सा तथा सापटमा प्रहरी पुगेर गाँजा (भाँगो) खेति नष्ट गरेको छ । त्यस स्थानमा हरेक घरधुरी तथा सार्वजनिक स्थलमा अत्यधिक मात्रमा गाँजा खेती लगाइएको प्रहरीको भनाई छ । स्थानीयले अहिलेसम्म प्रहरी पनि नआएको र कसैले पनि लगाउन हुँदैन भनेर नभनेका कारण यो खेतिको निरन्तरता रहेको प्रहरी समक्ष बताएका छन् ।

पश्चिम क्षेत्रको माथिल्लो भु—भागमा रहेको भिरालो बारी तथा खोला नदी आसपासका सार्वजनिक क्षेत्रहरुमा अझै पनि त्यहाँका स्थानीयहरुले लुकीछिपी गाँजा लगाउदै आएको प्रहरीले जनाएको छ । गाँजा लगाएको प्रकृति हेर्दा व्यवसायीक ढंगले गरिरहेको पाईएको प्रहरीको भनाई छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङ लगायत पश्चिम क्षेत्रका प्रहरी टोलीले अवैध लागु औषध नियन्त्रण अभियानलाई सफल पार्न यसखालको अभियान निरन्तर सञ्चालन गर्ने जनाएका छन् ।

तस्वीर सौजन्य: ईलाका प्रहरी कार्यालय, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *