जनताको मागलाई कुल्चिएर अघि बढ्ने दुष्प्रयास गरिए परिणाम राम्रो हुन्न: सात राजनीतिक दल

कर समायोजन नगरे आन्दोलनमा उत्रने सात दलको चेतावनी सहित नगर प्रमुखलाई ज्ञापन पत्र

लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७४ साउन १० । ढोरपाटन नगरपालिकाले चर्काे रुपमा कर निर्धारण गरेको विरोधमा स्थानीय ७ राजनीतिक दलहरुले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नगर प्रमुख देव कुमार नेपालीलाई ज्ञापन पत्र बुझाएका छन् ।
विज्ञप्तीमा स्थानीय तहबाट निर्वाचित नगरसभाले मिति २०७४ असार ३० मा पारित आर्थिक वर्ष २०७४।७५ मा लागु हुने गरि निर्धारण गरिएको करले न्यून जीवन स्तर भएका स्थानीय जनताको ढाड सेक्ने काम भएको र बजेट विनियोजन समेत न्यायोचित र जनपक्षीय नभएकाले तुरुन्त समायोजन गरिनु पर्ने उल्लेख गरिएको छ । विज्ञप्तीमा थप भनिएको छ— नगर परिषद्बाट पारित आर्थिक वर्ष २०७४।७५ को कर निर्धारण तथा बजेट विनियोजन अनियमित, अवैज्ञानिक, अव्यवहारिक र विभेदकारी भएकाले स्थानीय राजनीतिक दलहरुको तर्फबाट विरोध र आपत्ती प्रकट गर्दछौं, विज्ञप्तीमा उल्लेख छ ।

ढोरपाटन नगरपालिकाबासी जनसमुदायले उक्त पारित कर कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने भन्दै जनताको मागलाई कुल्चिएर अघि बढ्ने दुष्प्रयास गरिएमा त्यसको परिणाम नराम्रो हुने भन्दै ७ राजनीतिक दलहरुले चेतावनी समेत दिएका छन् । नगरपालिकाको ९ ओटै वडाहरुमा बजेट विनियोजन प्रभावकारी नरहेको उल्लेख गर्दै स्थानीय जनताको आवश्यकता र विकासलाई प्रतिफल दिन नसक्ने विज्ञप्तीमा उल्लेख छ । उक्त प्रेस विज्ञप्तीमा नेपाली काँग्रेशको तर्फबाट शालिकराम शर्मा, नेकपा माओवादी केन्द्रका फारम बहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका गौरिश्वर पाण्डे, नेकपा क्रान्तिकारी माओवादीका निल बहादुर पुन, नेपाल कम्युनिष्ट पार्टी(विप्लब) को तर्फबाट हरिबहादुर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीका निम बहादुर भण्डारी र नयाँ शक्ति पार्टीको तर्फबाट टेक बहादुर कुँवरको हस्ताक्षर रहेको छ ।

विज्ञप्ती जारी गरेपछि आजै उक्त ७ राजनीतिक दलहरुको प्रतिनिधि टोलीले नगर प्रमुख देव कुमार नेपालीलाई कार्यकक्षमा भेटी ज्ञापन पत्र समेत बुझाएका छन् । यसबारे नगर प्रमुख नेपालीलाई प्रतिक्रिया लिंदा यस विषयलाई प्रक्रियागत रुपमा वडा अध्यक्षहरु सहितको नगर कार्यपालिकाको बैठक बसेर छलफल गरिने बताउनु भएको छ ।

हिजो सोमबार बुर्तिबाङ राईजिङ युवा क्लबको आयोजनामा यसै विषयलाई लिएर सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया तथा छलफल कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले नगरपालिकाले चर्काे रुपमा कर निर्धारण गरेको र बजेट समेत प्रभावकारी रुपमा विनियोजन नगरेको धारणा व्यक्त गरेका थिए । त्यसभन्दा पहिले गत शनिवार बुर्तिबाङ स्थित होटेल व्यावसायीहरुको बैठक बसी कर बढी भएको भन्दै आन्दोलित बनेका व्यावसायीहरु नगर प्रमुखलाई कर कम गर्न आग्रह गर्दै लिखित निवेदन दिएका थिए ।

ढोरपाटन नगरपालिकाले यस आर्थिक वर्षकालागि व्यवसायीक कर तर्फ वार्षिक न्यूनतम १२ सय देखि अधिकतम ८ हजारसम्म करको दायरा तोकिएको छ । घरधुरी कर तर्फ वार्षिक न्यूनतम ३ सय देखि ३ हजारसम्म निर्धारण गरिएको छ । यस्तै ५ प्रतिशतका दरले घरबहाल कर, एकीकृत सम्पत्ति कर, भूमीकर जडिबुटी, कवाडि तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन कर, बहाल बिरौटी शुल्क, पार्किङ शुल्क, सेवा शुल्क दस्तर, पर्यटन शुल्क लगायतका १५ प्रकारका करका दायरा निर्धारण गरेको छ । त्यससँगै फोहोर व्यवस्थापन शुल्क समेत न्यूनतम २ सय देखि १ हजारसम्म प्रतिमहिना प्रति घरधुरी तोकिएकोले उक्त कर शुल्क समेत बढी भएको भन्दै तत्काल व्यवहारिक ढंगले समायोजन गरिनु पर्नेमा स्थानीयबासी र उद्यमी व्यावसायीहरुको समेत माग रहदै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *