बीपी स्मृति दिवस : बीपीले देखाएको बाटोमा नेपाली काँग्रेस हिँड्न सकेन : कँडेल

बागलुङ २०७४ साउन ६ । नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोईरालाको ३५ औं बि.पि. स्मृति दिवस बागलुङमा पनि मनाईएको छ । बि.पि.को सम्झानामा बागलुङ नगरपालिका १ मालढुंगा खुदुर्केमा रहेको बि.पि.बनबाटिकामा काँग्रेसका नेता कार्यकर्ताले बृक्षरोपण गरेका छन ।

विगतका वर्षमा पनि सोही बाटिकामा रोपिएका विरुवामा गोडमेल गरीएको र नयाँ विरुवा रोपिएको नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले बताए । नेपाली काँग्रेस बागलुङका पुर्व पार्टी सभापति गोविन्द्र प्रसाद कंडेलले लप्सीको बिरुवा रोप्दै अहिलेको अवस्थामा वि.पि.ले देखाएको बाटोमा काँग्रेस हिडन नसकेको टिप्पणी गरे । उनले मुलुकमा लोकतन्त्र र गणतन्त्र संस्थागत गर्नका लागि नेपाली काँग्रेस बि.पि.ले देखाएको बाटो हिडनुपर्ने बताए ।

बि.पि.को सम्झानामा उक्त स्थानमा पार्क समेत निर्माण गरिएको काँग्रेस बागलुङका सचिव नवराज पौडेलले जानकारी दिए ।

वि सं १९७१ भदौ २४ गते जन्मिएका बीपीको घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो ।

क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका बिपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन्।

जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वा्चित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व गरेका थिए ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छवटा उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छ ।

त्यस्तै, वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ।

आफू प्रधानमन्त्री भएको बेला उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए ।कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागु गरेपछि थुप्रै वर्ष उनले जेल जीवन विताए ।प्रजातान्त्रिक समाजवादका पक्षधर वीपी सधै ग्रामीण अर्थतन्त्रमुखी विकासका चिन्तक थिए ।

यसैवीच नेपाल तरुण दल जिल्ला कार्यसमिति बागलुङले आफ्नो कार्यसमिति विस्तार गरेको छ ।
नेपाली काँग्रेसका संस्थापक नेता वि.पि. कोईरालाको ३५ औ स्मृति दिवस पारेर नयाँ ८ जनालाई सदस्यमा मनोनित गरेको तरुण दल बागलुङका अध्यक्ष उमकान्त शर्मा बाबुले बताए । मनोनित सदस्यमा धुव्र खडका, बिमलेश आचार्य, महेन्द्र खड्का, मिन बहादुर श्रीष, थम बहादुर सुवेदी(राजु) कृष्ण भण्डारी, कल्याण कायत र दिपक आचार्य रहेका छन । नेपाल तरुणदको बिधान २०१० संसोधित २०६९को धारा १६ को उपधारा ३ बमोजिम अध्यक्षबाट मनोनित गर्ने व्यवस्था बमोजिम उनिहरुलाई मनोनित गरिएको तरुणदल बागलुङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *