बागलुङका स्थानीय तहहरुमा बजेट पेस असार ३० मा मात्र हुने

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ असार २५ । प्रत्येक स्थानीय तहले आज गाउँ तथा नगरसभामा स्थानीय बजेट पेस गर्नुपर्ने निर्देशन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको भएपनि १० स्थानीय तह रहेको बागलुङका कुनै पनि स्थानीय तहमा आज बजेट पेस गरिएको छैन । कानुन नबनिसकेको र निर्देशिका अनुसार काम गर्दा झन्झटिलो भएको र भूगोल ठूलो हुँदा पनि सवै वडाबाट वडा स्तरका योजनाहरु आउन ढिला भएको कारण तोकिएको समयमै बजेट पेस हुन नसकिएको स्थानीय जनप्रतिनीधिहरुले बताएका छन् ।

पश्चिम बागलुङमा ३ गाउँपालिका र १ नगरपालिका गरी ४ स्थानीय तहहरु रहेका छन् । आज गाउँ तथा नगरसभामा स्थानीय बजेट पेश गर्ने मन्त्रालयको निर्देशन भएपनि कुनै पनि स्थानीय निकायले बजेट पेश गरेका छैनन् तर उनीहरुले असार ३० गतेसम्म बजेट पेस गर्ने गरी आन्तरिक तयारीमा जुटिरहेको बताए ।

ढोरपाटन नगरपालिकामा राजश्व परामर्श समितिले करको दायरा र करको दरको निर्धारण गरी सिफारिस गरीसकेको बताइएको छ । त्यस्तै स्रोत अनुमान तथा बजेट निर्धारण समितिले आफ्नो काम सकिसकेकोले भोलीबाट वडास्तरका योजनामाथि छलफल गर्ने तयारी गरिएको नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्यले बताए ।

ढोरपाटन नगरपालिकाको भूगोल ठूलो भएको र सवै वडाहरुमा सडक सञ्जाल नपुगेकोले वडाअध्यक्षहरुलाई वडास्तरकै योजना तर्जुमा गर्न ढिलाइ भएको नगरपालिकाले जनाएको छ । हरेक वडास्तरका योजनाहरुलाई पारदर्शि बनाउँदा ढिला भइ नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कामलाई अगाडि बढाउन नसकिएको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । शिक्षा, स्वास्थ्य तथा खानेपानी तथा सडक सञ्जालको कार्यक्रममा उच्च प्राथमिकतामा राखिने नगरप्रमुख नेपालीले बताए ।

उता तमानखोला गाउँपालिका र बडिगाडखोला गाउँपालिकामा वडास्तरबाट आएका योजनाहरुलाई प्राथमिकिकरण गरी ६ वटा विषयगत समितिमा छलफल चलिरहेको बताइएको छ । २८ र २९ गते बजेट तथा कार्यक्रम तर्जुमा समितिले कार्यपालिकामा बजेट तर्जुमा पेस गरी ३० गते गाउँसभाबाट पारित गरिने बडिगाडखोला गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो । त्यस्तै, तमानखोला गाउँपालिकामा २९ गते बजेट तर्जुमा, गाउँकार्यपालिकाबाट पारित गरी ३० गते नै गाउँसभामा पेस गर्ने कार्यक्रम रहेको कार्यकारी अधिकृत खिमबहादुर विकले जानाकारी दिए ।

त्यस्तै निसीखोला गाउँपालिकामा निर्देशिकाबाट काम गर्दा कानुनी प्रकृयामा अस्पष्टता भएकोले ढिला भएको र भोलीबाट विषयगत समितिमा छलफल चलाइने गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । पश्चिम बागलुङ ४ स्थानीय तहमा मात्र नभइ बागलुङका अन्य ३ नगरपालिका र ३ गाउँपालिकामा पनि असार ३० सम्म मात्र स्थानीय बजेट पेश गर्ने तयारी गरिरहेको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *