रानीपानीमा पर्वत जिल्लाकै उत्कृष्ट खानेपानी आयोजना निर्माण

विशन क्षेत्री, पर्वत, २०७४ असार १९ । शुद्ध खानेपानी प्रभावित रानीपानीमा जिल्लाकै उत्कृष्ट खानेपानी आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामीण खानेपानी कार्यक्रम अन्तर्गत वास परियोजनाले विहादी गाउँपालिका ३ रानीपानीमा उक्त आयोजनाको निर्माण गरेको हो । एक घर एक धारा अभियान अन्तर्गत निर्मित गैह्रीखोल्सा लिफ्ट खानेपानी आयोजनाको निर्माणको लागि तोकिएको सबै मापदण्ड पुरा भएको, गुणस्तरीयता र तोकिएकै समयमा उक्त आयोजना सम्पन्न भएको वासका फिल्ड संयोजक देवराज पुरीले बताए । खानेपानीको सानो स्रोतलाई पनि उपभोक्ताको कडा परिश्रमका कारण छोटो समयमा नै सफल बनाउन सकिएको र जिल्लाकै नमुना खानेपानी आयोजना निर्माण भएको उनले जानकारी दिए ।

यस आयोजनाको लागि कुल ४३ लाख ४२ हजार ७४६ बजेट विनियोजन भएको थियो । कुल ३१ घरधुरी रहेको यस आयोजनाबाट ३० वटा धारा निर्माण भएका छन् । त्यस्तै सबै धारामा पानी पु¥याउनका लागि मुहान रहेको ठाउँमा १२ घनमिटर क्षमताको रिजर्भेसन ट्यांक राखिएको छ भने ९० मिटर माथि १२ घनमिटर क्षमताकै अर्को रिजर्भेसन ट्यांकमा मोटरले पानी तानेर भण्डारण गरि वितरणको व्यवस्था गरिएको छ । प्रत्येक धारामा मिटर जडान गरिएको हुँदा उपभोक्ताले आवश्यकता अनुसार पानीको प्रयोग गर्न सक्ने गैह्रीखोल्सा लिफ्ट खानेपानी तथा सरसफाई संस्था निर्माण समितिका अध्यक्ष तुलबहादुर क्षेत्रीले बताए ।

उपभोक्ताहरुको सामुहिक श्रमदान र एकताका कारण आयोजना निर्माणमा कठिनाई नभएको र सहज रुपमा आयोजना सम्पन्न गरि खानेपानीको समस्या समाधान गर्नमा सफल भएको उनले बताए ।
यससँगै रानीपानीमा चालु आवमा ४ ओटा नयाँ खानेपानीका आयोजना सम्पन्न भएका छन् । वास परियोजनाले नै रानीपानीको दलित बस्तीक्षेत्र पसियारमा ९ लाख ७४ हजारको लागतमा पसियार खानेपानी आयोजना सम्पन्न गरेको फिल्ड संयोजक देवराज पुरीले बताए । विहादी स्वास्थ्य चौकी तथा नेपालतारा माध्यमिक विद्यालयमा लागि १४ लाखमा नयाँ आयोजना, ३८ लाखको लागतमा ढावागैरा लिफ्ट खानेपानी आयोजना र १४ लाखमा रानीपानी आधारभूत विद्यालय र कुमालबस्तीको लागि खानेपानी आयोजना निर्माण सम्पन्न गरिएको उनले बताए ।
त्यस्तै खानेपानीको चरम अभाव रहेको ईमिचौरको खानेपानी आयोजनालाई ८ लाख विनियोजन गरि मर्मत गरिएको तथा असुराबोट खानेपानी आयोजना र चकौँदे खानेपानी आयोजनालाई क्रमक ६ लाख र ७ लाख ४२ हजार विनियोजन गरि मर्मतपश्चात सञ्चालनमा ल्याईएको उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *