प्रचार-प्रसारको पर्खाईमा गल्कोटको ‘काली लेक’

घनश्याम गौतम,

गल्कोट उपत्यकामा यस्ता धेरै पर्यटकीय स्थलहरु छन् जुन प्रचार प्रसारको पर्खाईमा छन् । त्यस मध्यको एक हो, गल्कोट नगरपालिकाको वडा नं ६ र २ र ताराखोला गाउपालिकाको वडा नम्वर १ अमरभुमिको माझमा रहेको काली लेक ।

पर्यटकीय महत्वको यो काली लेक प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । गल्कोटका पर्यटकीय स्थलहरु घुम्टे लेक, ताराखोलाको डुँडे लेक,गाजाको धुरी, निलुवा, ऐतहासिक राजाको दरबार, कोट मैदान, लगायतका धेरै ठाउहरु जस्तै काली लेक पनि एक प्राकृतिक सम्पदाले भरीपूर्ण रमणीय स्थल हो ।

पर्यटकीय गन्तब्य हुँदा हुँदै पनि कालीलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानिय चन्द्र बहादुर बुढाथोकीको गुनासो छ । उनले बर्षमा केही बिद्यालयले बिद्यार्थीलाई लघु भ्रमणको लागी लैजाने गरेको भएपनि अन्य पर्यटकलाई काली लेकको बारेमा जानकारी नै नभएको बताए । काली लेकमा स्थानीय दर्जनौं प्रजातिका जडीवुटी डाँफे मुनाल, मयुर, खरायो, भ्याकुर, कालिज, मृग, घोरल, चितुवा, भालु लगायतका विभिन्न जनावर पाईन्छन् ।

कालीलेकमा यस आसपासका स्थानियले एक दशक अगाडि कृषि गर्ने र लेकमा जाने गरेपनि अहिले भने छोडेको स्थानिय हिरा बहादुर बस्नेतले बताए । गल्कोटको पर्यटन पर्वद्धनमा पछिल्लो समय बिभिन्न सम्पदाको चर्चा संगै ब्यबस्थित बनाउने काम भएको भएपनि यो लेकको बारेमा कसैको ध्यान पुग्न नसकेको स्थानिय क्षेत्र बहादुर बुढाथोकीको भनाई छ ।

विशेष गरि काली लेकमा जेठ असार महिनामा निउरो गुहेली र नेपाली प्रसिद्ध खाना गुन्द्रुक बनाउनको लागि प्रयोग गरिने बाको टिप्न जाने गरिन्छ । गुन्द्रुक ढकाँ लगायत अन्य साग संगै बाकोको गून्दूक को स्वाद छुटै हुने र यसको अचार तथा तरकारीको रस बनाएर खाना गरिन्छ । बाकोको गुन्दु्रक देश तथा बिदेशमा समेत प्रशिद्ध रहेको छ । काली लेकबाट गल्कोट क्षेत्रको सम्पुर्ण दृश्यावलोकन साथै विभिन्न हिमश्रृङखलाहरुको अवलोकन गर्न सकिन्छ ।

यो लेकमा पुगिसकेपछि त्यहाँबाट देखिने विभिन्न हिमश्रृङखला र गलकोटको मजुबा कोट मैदान घुम्टे लेक, गाजाको दह ,लगाएतका दृश्यले मनै लोभ्याउने गर्दछ । कालीलेक गल्कोटको घुम्टेपछिको दोश्रो अग्लो पहाड हो । आज भन्दा करिब १५ बर्ष पहिले २० देखि २५ ओटा गोठ रहेको र बर्खा लागे सँगै गार्ई बस्तु र खर्च पर्च बोकेर लेकमा गएर खेती गर्र्ने गरेको स्मरण गर्दै स्थानिय प्रेम प्रसाद पाण्डेले भने ः हाम्रो पालामा कालीलेकमा दर्जनौ गाई बस्तु पालिन्थ्यो के गर्ने अहिले सबै बिदेश गए हामी पनि मजुबा तिर झरियो । कालीलेकमा काली पोखरी र सेती पोखरी गरि दुई ओटा पोखरी रहेका छन । बारैमास पानी भरिई रहने काली पोखरीको पानी पर्यटकीय गन्तब्य गाईघाटको झरनाबाट झर्ने गरेको स्थानियको भनाई रहेको छ ।

मजुबा फाँटबाट करिब ३ घण्टाको पैदल यात्रा पछि पुगिने कली लेकमा हाल केहि गोठका भग्नावशेष मात्र बाँकि रहेका छन् । गल्कोट र तारखोलाबाट पहिले स्थानिय यात्रुहरु पैदल यात्रा गरेर कलीलेक हुदै रिजालचोक ,बागलुङ सम्म पुग्ने गरेकोे स्थानिय बल बहादुर बस्नेतले बताए । उनले काली लेकमा पाईने सतुवा कालोकाफल ,पखन्बेद ,अजुरो तेजपत्ता जस्ता बहुमुल्य जडीबुटी पाईने बताउदै सो जडीबुटीको बिदेशमा समेत माग हुदै आएको जनाकारी दिए । प्राकृतिक सम्पदाको धरोहर काली लेकलाई पर्यटकीय गन्तब्य बनाउन सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।

घनश्याम गौतम,
गल्कोट २०७४ असार १७ ।
लेखक- पत्रकार हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *