सहकारी दिवस: सहकारीलाई रुपान्तरणको औजारका रुपमा प्रयोग गर्न आग्रह

बागलुङ, २०७४ असार १७ । सामाजिक न्याय र उत्पादनमा वृद्धि गर्दै समाजको आमूल परिवर्तनका लागि सहकारी क्षेत्रलाई औजारका रुपमा अगाडि बढाउन स्थानीय निकायलाई बागलुङका सहकारीकर्मीहरुले आग्रह गरेका छन् । ९५ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले शनिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी सहकारीकर्मीहरुले यस्तो बताएका हुन् ।

समाजमा विद्यमान सिमित स्रोत र साधनलाई उपयोग गरी जनताका असिमित आवश्यकता पुरा गर्नका लागि विश्वमै सहकारी उपयुक्त र अन्तिम विकल्प भएकाले समाज विकासका लागि सहकारीलाई प्राथमिकतामा राखेर अगाडि बढ्न सहकारीकर्मीहरुले जनप्रतिनिधिहरुलाई आग्रह गरेका हुन् ।

अन्तर्राष्ट्रिय सहकारी दिवस र यसले लिएको ध्येय सहकारीले सुनिश्चितता गर्छ ः कोही पछाडि पर्ने छैनन् भन्ने विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले प्रस्तुत गरेको अवधारणा पत्रमाथि छलफल गर्दै सहभागीहरुले यस्तो बताएका हुन् ।

अन्तर्राष्ट्रिय सहकारी महासंघले यस वर्ष अगाडि सारेको नारा अनुसार सहकारीले सबैलाई सहभागी, सम्मान र व्यवसायिक बनाउने भएकाले यसलाई आत्मसाथ गर्दै अगाडि बढ्न सहभागीहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डिभिजन सहकारी कार्यालयका अधिकृत विष्णुप्रसाद शर्माले जनतालाई मालिक बनाउने व्यवसायका रुपमा विश्वमा स्थापित सहकारी व्यवसाय सदस्यलाई मालिक बनाउदै उनीहरुको आर्थिक सामाजिक रुपान्तरण गर्ने भएकाले यसलाई सही ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक चण्डीप्रसाद शर्मा, नेपाल सूचना तथा सञ्चार सहकारी संघका केन्द्रीय लेखा समिति सदस्य खीमबहादुर कार्की, बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष अञ्जु जिसीले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीका मूल्य, मान्यता र सिद्धान्त तथा यसको अवधारणा अनुसार अगाडि बढ्न सकेमा सहकारी अभियान मार्फत मुलुक परिवर्तन गर्न सहज हुने धारणा राखेका थिए ।

कार्यक्रममा जिल्ला वचत संघका लेखा संयोजक महेन्द्रसिंह रायमाझी, जिल्ला कृषि सहकारी संघका सचिव प्रेम लामिछाने, बहुउेद्दश्यीय सहकारी संघका सचिव रुद्रबहादुर केसी, शंखधर बहुमुखी सहकारी संस्थाका अध्यक्ष रतनकुमार मलेपती, सिम्रिक कृषि सहकारी संस्थाका अध्यक्ष मणिभद्र शर्मा, अभियान बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष देवी शर्मा, धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्थाका लेखा सदस्य डिल्लीराज उपाध्याय, शंखधर बहुमुखी सहकारी संस्थाका निरज शाक्य लगायतले सहकारीलाई समृद्धिको साझेदार संस्थाको रुपमा लिन आग्रह गरेका थिए ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागत र कोषाध्यक्ष भुपाल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *