कर्मचारी र भवनाभावले अधिकारीचौरको सुरक्षित प्रसुति केन्द्रको सेवा प्रभावित

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ असार १७ । ढोरपाटन नगरपालिका—५, सहिखोला स्थित स्वास्थ्य चौकीबाट प्रदान हुने सुरक्षित प्रसुतीे सेवा प्रवाहमा समस्या परेको छ । दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन हुन नसक्दा र भवनमा संरचनाको अभाव हुँदा सेवा प्रवाहमा समस्या परेको स्वास्थ्य चौकीका सिनियर अहेव ललितकुमार यादवले बताए ।

६ जना कर्मचारीको दरबन्दी रहेपनि हाल स्वास्थ्य चौकीमा कार्यलय सहयोगी सहित ४ जना मात्र कर्मचारीहरु रहेका छन् । लामो समयदेखि रिक्त रहेको एचए पद केही साता अघिमात्र पुरा भएको थियो । अहिले उक्त स्वास्थ्य चौकीमा २ जना अहेव मध्ये करारको १ जना अहेबको पद खाली रहेको छ । त्यस्तै सुरक्षित प्रसुति सेवा सम्बन्धिको तालिम प्राप्त १ जना अनमीको समेत अभाव रहेको छ । तर अहिले १ जना मात्र अनमी रहेका छन् । प्रसुति केन्द्रमा १ जना एस्विए तालिमप्राप्त अनमी हुनैपर्ने प्रावधान भएपनि उक्त पदको कर्मचारी व्यवस्थापन नभएको भर्खरै मात्र आएकी हेल्थ असिस्टेन्ट कल्पना घर्तिमगरले बताईन ।

त्यसैगरी भवनको संरचनाले गर्दा पनि सेवा प्रवाहमा समस्या परेको छ । अहिले स्वास्थ्य चौकीको भवनमा ३ वटा मात्र कोठा रहेको कारण समस्या परेको हो । नयाँ मापदण्ड अनुसारको भवन निर्माणको लागि ४ रोपनी २ आना जग्गाको व्यवस्थापन भैसकेकोले भवन निर्माणको लागि जति सक्दो छिटो पहल गर्ने ढोरपाटन नगरपालिका वडा नं. ५ का अध्यक्ष लक्ष्मण पुनमगरले बताए ।

वि.स. २०७२ सालबाट सुरक्षित प्रसुति केन्द्र सञ्चालनमा भएयता अहिलेसम्म ३४ जनाले मात्र प्रसुति केन्द्रमा आएर बच्चा जन्माएको सिनियर अहेव यादवले बताए । जसमध्ये ५ जना जटिल अवस्था भएका गर्भवती महिलाहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा रिफर गरिएको उनको भनाई छ ।

यस प्रसुति केनद्रबाट साविक अधिकारीचौरका गाविस र बोबाङका गाविसका केही वडाहरुका स्थानीयहरुले सेवा लिइरहेका छन् । तथापी महिलाहरुमा चेतनाको अभावको कारणले गर्दा अझै पनि प्रसुति केन्द्रमा आएर सुत्केरी हुने महिलाको संख्या कम रहेको प्रमुख कल्पना घर्तिमगरले बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *