साताको तस्वीर: गन्तव्य ढोरपाटन !

अहिले ढोरपाटन सवको नजरमा छ । युवा देखी बुढापाका सम्म, विद्यार्थी देखी शिक्षक प्राध्यापक सम्म, ठिटा ठिटी देखी तन्नेरी तरुनी सम्म, नेता देखी कार्यकर्ता सम्म, व्यापारी देखी शिकारी सम्म, कर्मचारी देखी श्रद्धालु भक्त सम्म, आन्तरिक देखी बाह्य पर्यटक सम्म सबको नजरमा ढोरपाटन छ । मानौँ सबको गन्तव्य बनेको छ ढोरपाटन ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटन रमणीय त छँदैछ, धार्मिक, साँस्कृतिक, आर्थिक एवं पर्यटकीय दृष्टिकोणले उत्तिकै महत्वपूर्णपनि । प्रशिद्ध ढोरबराह मन्दिरमा लाग्ने जनै पूर्णिमा र चण्डी पूर्णिमा मेला होस या मेलामा देखिने साँस्कृतिक महत्वका गतिविधी, चारैतिर उच्च पहाडी श्रृंखलाहरुको छहारीमा अवस्थित ढोरपाटन उपत्यकामा वसोवास गर्ने जनजातिहरुको आफनै रहन सहन, भेषभुषा सहितको जीवनशैलीले पनि यसको गरिमालाई बढाएको छ । यस क्षेत्रमा पाईने विश्वमा दुर्लभ वन्यजन्तु, विभिन्न प्रकारका अथाह वनस्पति (जैविक विविधता)ले ढोरपाटनको आकर्षण बढाएको छ । यहाँ उत्पादन हुने आलु, जौँ गौँ फापर लगायत अन्नबालीमा पाईने मिठास (स्वाद) यसको पहिचान बनेको छ । हामी भन्ने गछौँ नि, ‘ढोरपाटनको आलु भनेपछी कसको मुख नरसाउला !’

भ्रमण दलका सदस्यहरु: छात्रहरु श्याम गैरे, बलराम रिजाल, विशाल ढकाल, अर्जून रेग्मी, नवीन रोका र दिनुप खत्री । ,छात्राहरु, शीला पन्त, एलिसा श्रेष्ठ, एलिसा केसी, पूजा वर्देवा, सुनामी थापा, सीमा श्रीष, ज्ञानू थापा, अमृता रेग्मी, कुुुसुम कार्की, मिस्मा थापा, कृपा अधिकारी, हिरा कँडेल र सुमित्रा थापा ।
शिक्षकहरु, यमबहादुर पोखरेल, रोशन क्षेत्री र शिवराज पन्त ।


नेपाली सेनाको हनुमानध्वज गुल्म ढोरपाटनका गुल्मपति मेजर मनोज सिँह थापा तथा ढोरपाटन शिकार आरक्षका सिनियर गेमस्काउट ऋतुराज पौडेल संग सामुहिक तस्वीर खिचाउदै शैक्षिक भ्रमणमा रहेका विद्यार्थीहरु ।

संक्षेपमा भन्नु पर्दा केहि दशक पहिले सम्म भुजेल ढोरको नामले चिनिने शान्त सुन्दर ढोरपाटन २०१८ सालमा काठमाडौबाट भारतका लागी नेपालका राजदूत नरप्रताप थापा सहितलाई लिएर नयाँ दिल्ली उडेको विमान हराएपछी त्यस विमानको रेस्क्यू (खोजी)मा आएको अर्को विमानपनि यसै क्षेत्रमा दुर्घटना ग्रस्त भएपछी एकाएक ढोरपाटनको नाम चर्चामा आएको हो भने तिव्वती शरणार्थीहरुलाई यहाँ व्यवस्थापन गरिएपछी ढोरपाटन प्रति विश्वको ध्यानाकर्षण हुन गएको हो ।

अर्कोतिर २०३९ सालमा सरकारले ढोरपाटनमा मुलुककै एकमात्र ढोरपाटन शिकार आरक्ष कार्यालय स्थापना गर्ने निर्णय गरेपछी ढोरपाटनले विश्वको ध्यानाकर्षण गराउन सफल भयो ।

विश्व चर्चित ढोरपाटनलाई सडक सन्जालले छोएपछी ढोरपाटन अवलोकन गर्न आउनेहरुको संख्या ह्वात्तै बढ्यो । गत वर्ष देखी नेपाली सेनाको हनुमानध्यव गुल्म यहाँ बसेपछी थप सुरक्षाको प्रत्याभूति भएको छ ।

पछिल्लो समय प्राकृतिक दृश्यावलोकनका साथै दुर्लभ जीवजन्तु, जातजातका वनस्पतीको अध्ययनार्थ आउने जिज्ञासुहरु (शोधार्थी)को संख्या बढ्न थालेको छ । शिक्षक विद्यार्थीहरुको शैक्षिक भ्रमणको रोजाईमा परेको छ ढोरपाटन ।

जो आउछ ढोरपाटन, यहाँको सौन्दर्यलाई निहारेर रमाउछ, उ यस्लाई तस्वीरमा मात्र नभएर मन मस्तिष्कमा सजाएर फर्कन्छ । यहाँको सौन्दर्यबाट प्रभावित भएर उनिहरु भन्ने गर्छन, पृथ्वीमा स्वर्ग हो ढोरपाटन ।

धौलागिरी बहुमुखी क्याम्पसमा बीएस्सी प्रथम वर्षमा अध्ययनरत छात्रा शीला पन्तको बुझाईपनि यस्तै छ । तीन दिनको ढोरपाटन बसाईमा ढोरबाट डोल्पा जाने पैदलमार्गमा पर्ने फागुने धुरी र सुर्तिवाङको धुरीको अवलोकन अध्ययन पछी बागलुङ बजार फर्किएकी पन्त भन्छिन् ढोर देउरालीबाट ढोरपाटन उपत्यकाको समथर भूभाग निहार्दा त्यहाँको हरियो मैदान भरी फुलेका विभिन्न जातिका रंगिन फुलहरु र वरिपरिका हरिया डाँडाकाँडा देखेपछी साँच्चै स्वर्ग भनेको यहि हो भन्ने अनुभूति भयो । उनले थपिन् भूस्वर्ग हो ढोरपाटन ।

उनि आफना डेढ दर्जन सहपाठीका साथ तीन जना सरहरुसंग ढोरपाटनको जैविक विविधताको अध्ययनकाका लागि झण्डै एक हप्ता खर्चेर ढोरपाटन पुगेर फर्किएकी थिईन् ।

‘हामी विज्ञानका विद्यार्थीहरुका लागि त ढोरपाटन सम्पूर्णरुपमा प्रयोगशाला नै हो’ शीलाले भनिन् । उनले ढोरपाटन शिकार आरक्ष कार्यालयका सिनियर गेम स्काउट रितुराज पौडेलले दिएको बन्यजन्तु सम्वन्धी जानकारी उपयोगी भएको बताईन् । र हनुमानध्वज गुल्मका गुल्मपति मनोज सिँह थापासंग यहाँ आउने पर्यटक र पर्यटकीय क्षेत्र, पर्यटकीय सिजन, शिकार क्षेत्र र वरपरका भौलिकताका बारेमा भएको कुराकानी निकै फलदायी रहेको उल्लेख गरिन् ।

ढोरपाटन उपत्यकाको रमणीयता वर्णन गरि साध्य नभएको भन्दै शोधार्थी पन्तले फागुने र सुर्तिवाङ धुरीमा देखिएका वनस्पती, चराचुरुंगी, बन्यजन्तुका पदचापहरुले अध्ययनमा सहयोगी सावित भएको स्पष्ट पारिन् ।

उनिसंगै गएका अर्का शोधार्थी छात्र श्याम गैरे ढोरपाटनको अध्ययन भ्रमणबाट निकै उत्साहित थिए । जीव र वनस्पती सम्वन्धी अध्ययन अनुसन्धानका लागि ढोरपाटन उपयुक्त स्थान भएको उनको ठहर छ ।

समुद्री सतह देखी २८ सय मिटर उचाईमा रहेको ढोरपाटन उपत्यकामा पुगेपछी वनस्पतीहरुमा पाइनस वालिचिएना जुन पाँचवटा चुच्चो हुने सल्लो हो त्यहाँ पाईन्छ । गैरेले यहाँ धेरै संख्यामा पाईने वनस्पतिमा इफुर्विक हो जुन अतिनै विषालु हुने बताए । उनले भने यहाँ पाईने वनस्पतिमा इफेड्रा हो जुन अत्यन्तै महत्वपूण प्रजातिको फुल मोओनिया नेपोलेन्सिस हो र यो नेपालमा मात्र पाईन्छ । वन्यजन्तुहरुमा हिमालयन रेन्जमा पाईने हिमालयन पाइक पुच्छर नभएको मुसा) देख्न सुरु भयो ।

शोधार्थी गैरेका अनुसार फागुने र सुर्तिवाङको धुरीमा हिमाली परेवा मलेवा र जंगली ढिकुर पनि देखियो । उनले सुर्तिवाङको धुरीमा चढ्दै गर्दा ३३४० मिटरको उचाईमा इलामको चियावगान जस्तो अतिनै रमणीय खर्क (फाँट) देखिएको बताए । त्यहाँ भेँडीगोठहरु पनि देखिएको उनले बताए । ३८८० मिटरमा पुग्दा त्यहाँ ठुला ठुला चट्टानहरु देखिए र ती चट्टान पारगर्न निकै कठीन भएको उनको अनुभव थियो । उनले विसाई मेट्दै बल्लबल्ल ४ हजार मिटर उचाईमा रहेको सुर्तिवाङको धुरी (?) मा पुग्न सफल भएको यात्रानुभव सुनाए ।

धुरी आरोहण गर्दै गर्दा त्यहाँ देखिएका विभिन्न प्रजातिको सयौँ प्रजातिका वनस्पति फुलहरु निकै राम्रा र चित्ताकर्षक रहेको गैरेले सुनाए । यो साहसिक यात्रा अविष्मरणीय रहेको उनको भनाई थियो ।

झण्डै दुई दर्जन साथीहरुको समूहमा गरिएको यो शोध यात्रामा सुर्तिवाङको धुरीमा भने पाँच जना मात्र पुग्न सकेको गैरको भनाई थियो । अन्य सहपाठीहरु विभिन्न कारणवस अन्तिम धुरीको केहि तलसम्म मात्र पुगेको उनले बताए ।

यस्तै धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक यमबहादुर पोखरेल ढोरपाटनको यो अध्ययन भ्रमण अत्यन्तै सफल भएको बताउछन् । फागुने ब्लकको उचाई सम्म पुग्न मौसमले साथ नदिएपनि सुर्तिवाङको शिखरमा पुग्न सकेकोमा उनी हदैसम्मको प्रशन्नता व्यक्त गर्छन् ।

सुर्तिवाङको धुरी चढ्दै गर्दाको अनुभव बताउदै पोखरेल केहि टाढा झारलको बथान देखियो, निगालोको पातहरु खाएको दृश्यले त्यहाँ प्रशस्तमात्रामा रेडप्याण्डा रहेको पुष्टी भएपनि त्यसावसरमा देख्न नसकिएको बताए ।

सुर्तिवाङको धुरीको वीचमा रहेका दुई खर्कहरु मध्य तल्लो झमबोट खर्कलाई ईलामको चिया वगानसंग तुलना गर्दै त्यस खर्कमा चिया खेती उपयुक्त भएको पोखरेलले बताए ।

भ्रमण टोलीका सदस्यहरुले भने, अलि समय घर्की सकेको रहेछ ढोरपाटन घुम्न त एक महिना जति पहिले आउनु पर्दो रहेछ । यहाँका कुनैपनि धुरी पहिलो चोटी चढ्दा एक जना पथ प्रदर्शक हुनु जरुरी रहेको भ्रमणको अनुभवले देखायो ।

सुर्तिवाङको धुरी ।

अध्ययन भ्रमण टोलीका सदस्यहरु अधिकाँशको बुझाईमा ढोरपाटन बसाई त्यति महंगो होईन । अतिथीहरुको स्वागत सत्कारमा स्थानीयहरु निकै उत्साहित देखिएको उनिहरुले बताए । स्थानीय बालबालिकाहरु नवागन्तुकहरु संग घुलमिल गर्न लालायित भएर साथमा टाँसिएर अपनत्व देखाउने स्वभावका रहेछन् ।

* यहाँ प्रस्तुत गरिएका तस्वीरहरु र भिडियो अध्ययन भ्रमण दलका सदस्यहरुबाट खिचिएका हुन् ।
** द्रष्टव्य : माथीको ठुलो तस्वीर ढोरपाटन उपत्यकामा पाईने विभिन्न प्रजातिका फुलहरुको गुच्छा हो ।

बागलुङ
२०७४ असार १६ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *